मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प जाँदा १४१ को मृत्यु

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प जाँदा १४१ को मृत्यु


तेहरान– इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १४१ जनाको मृत्यु भएको समाचार छ ।
 
उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।  
 
उक्त भूकम्पमा परी इराकमा पनि छ जनाको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् । 
 
भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ । 
 
सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार बिहानसम्ममा घाइते हुनेको संख्या एक हजारभन्दा बढी नै रहेको पनि समाचारमा उल्लेख गरिएको छ ।
 
भूकम्पको उद्धारका काममा खटिरहेको उद्धारकर्मी र अधिकारीहरुले सञ्चारमाध्यमलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ । 
 
भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् । 
 
इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयाँंै गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।
 
भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरुलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ । 
 
भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरुमा त्रास फैलिएको बताइएको छ । 
 
मानिस सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरु घरमा फर्किन सकेका छैनन् । उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा कुवेतीहरु पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ । तर, कुवेतबाट क्षतिको अवस्थाको बारेमा भने केही जानकारी हुन सकिरहेको छैन । (रासस/सिन्ह्वा)