हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका)– मञ्चमा गएर बोल्नुपर्दा अहिलेपनि धेरै वयष्कहरुका खुट्टा लुगलुग काम्ने गर्छ । भरसक बोल्नै नपरिदिए पनि हुन्थ्यो भन्नेमा धेरैजना देखिन्छन् ।
तर, आइतबार ड्यालसमा भरखरै ६-७ देखि १२-१३ वर्षको उमेरमा हिँडिरहेका बालबालिकाहरुले बोलेको देखेर धेरैले अचम्म पनि मानेका छन् । ६ वर्षका बालबालिकाहरुले समेत मञ्चमा गएर आफ्नो भविष्यको योजना के छ भनेर धक नमानी फरररर बोलेको देख्दा अभिभावकहरुनै अचम्ममा परे ।
बालबालिकाहरुको व्यक्तित्व विकास र उनीहरुको बोल्ने शैली सुधार गर्नका लागि ट्युटर क्लब युएसएले आयोजना गरेको तालिम समापनमा बालबालिकाहरुले सबैलाई चकित पार्दै आफु को हुँ र आफ्नो भविष्यको योजना के छ भनेर सम्म भन्न भ्याए ।
बालक अग्रीम अर्यालले आफु सन् २०२३ मा हाइस्कूल र २०२७ मा कलेजबाट ग्राजुएट भएपछि अन्तरिक्ष विज्ञानको क्षेत्रमा काम गर्ने लक्ष्य रहेको बताए । उनले सन् २०३० को मंगलग्रहमा पठाइने अन्तरिक्षयानमा आपूm पनि संलग्न हुने लक्ष्य रहेको बताउँदा सहभागीहरुको तालीले हल गुन्जिएको थियो ।
अर्का बालक उत्सब लामिछानेले मञ्चमा गएर निर्धक्क भाषण गरेको सुनेर उनका पिता एवं एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले अचम्म मान्दैथिए ।
अधिकांश बालबालिकाहरुले आफ्नो रुची कम्प्युटर साइन्स र सेरोफेरोकै विषयहरुमा रहेको बताएका थिए । युटुब भिडियो गेमिङदेखि लिएर डाक्टर हुने, शिक्षक हुने लक्ष्य रहेको उनीहरुले बताए ।
हरेक आइतबार दिनको दुई घण्टाको दरले पाँच सातासम्म तालिम सञ्चालन गरिएको थियो । तालिमको पहिलो ग्रुपमा सहभागी १८ जनालाई आइतबार समापन सहित प्रमाणपत्र वितरण गरिएको छ । दोस्रो ग्रुपको समापन दुई सातापछि हुँदैछ । दोस्रो ग्रुपमा १८ जना सहभागीहरु छन् ।
‘हामीले नाफामुलक ढंगले भन्दा पनि बालबालिकाको वृहत्तर व्यक्तित्व विकासका लागि भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ ट्युटर क्लबका एकाडेमिक रिलेसनसिप मेनेजर जीवन घिमिरेले भने । आगामी दिनमा गणितलाई सहज र सरल रुपमा कसरी बुझाउने भन्ने विषयमा पनि यस्ता तालिम कक्षाहरु सञ्चालन गर्दै जाने योजना रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया