हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – आउँदो सातादेखि नेपाली समाज टेक्ससको आयोजनामा बालबालिकाका लागि योग र आध्यात्मिक शिक्षा सहितको ‘समर क्याम्प’ सञ्चालन हुने भएको छ ।
डा. चिन्तामणि योगीबाट सञ्चालन हुने समर क्याम्पमा बालबालिकाहरुलाई पूर्बिय दर्शन, ज्ञान, नैतिक शिक्षा, योग लगायतका विषयमा जानकारी दिइने कार्यक्रम रहेको छ । ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा जुलाई १६ देखि २९ सम्म कार्यक्रम सञ्चालन हुनेछ ।
योगीले विगतमा पनि ड्यालसमा यस्तो शिविर सञ्चालन गरिसकेका छन् । ‘पाँच वर्षपछि उहाँ यहाँ आउँदैहुनुहुन्छ, यो अवसरमा हामीले हाम्रा बालबालिकालाई सहभागी गराएर हिन्दू धर्म, दर्शनका बारेमा शिक्षा दिने यो सुवर्ण अवसर हो,’ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पूर्ब अध्यक्ष डा. मुरली अधिकारीले भने ।
आइतबार नेपाली समाज टेक्ससले समर क्याम्प सञ्चालनका विषयमा आयोजना गरेको छलफलमा सहभागीहरुले कक्षालाई प्रभावकारी बनाउनका लागि गर्नुपर्ने कार्यहरुका बारेमा बिभिन्न सुझावहरु दिएका थिए । समाजका अध्यक्ष कृष्ण लामिछानेले दुई हप्ताको कक्षामा सहभागी बालबालिकाहरु उत्कृष्ठ भएर निस्कने बताए ।
समर कक्षाका लागि नेपाली समुदायका सबै सदस्यहरुलाई आफ्ना बालबालिकाहरु पठाएर सहयोग गर्न समेत लामिछानेले अपिल गरे ।
छलफल कार्यक्रममा डा. मुरली अधिकारी,धर्म अधिकारी, सुरेशचन्द्र पोखरेल, रमेश पोखरेल, बिएन पन्त, नेपाली समाजका महासचिव कमल सत्याल, भानु खरेल, दीपक घिमिरे लगायतले सुझाव दिएका थिए ।
बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने समर कक्षामा ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरु भर्ना हुनसक्नेछन् । दुई साताको लागि शुल्क एकसय डलर तोकिएको छ । यही शुल्कबाट बालबालिकालाई खाना र स्टेशनरी समेत प्रदान गरिने लामिछानेले बताए ।
वयष्कहरुका लागि समेत सोही अवसरमा हरेक दिन साँझ ६ देखि ८ बजेसम्म सत्संग कक्षा राखिएको छ । नेपाली समाजले सन् २००९ देखि २०१२ सम्म नियमित रूपमा समर क्याम्प सञ्चालन गरेको थियो ।
प्रतिक्रिया