मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीमूलका भुटानी अमेरिकीद्वारा आत्महत्या

नेपालीमूलका भुटानी अमेरिकीद्वारा आत्महत्या


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  नेपाली मूलका एक भुटानी अमेरिकी हरि अधिकारीले सोमबार बिहान टेक्ससको ड्यालस फोर्टफोर्थ  स्थित आफनै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।
 
अाइतबार राति आफ्ना साथीभाइसँग सदाझैँ सामान्य गफ गरेर सुत्न गएका अधिकारी बिहान साढे सात बजे आफनै घर कम्पाउन्डसँगैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।
 
बिहान सात बजे  काममा जानुपर्नेमा उनको मोटर बाहिरै देखिएपछि सोधीखोजी गर्दा पत्नीले कम्पाउन्डसँगै जोडिएको रुखमा झुण्डिएको अवस्थामा देखेर तत्काल प्रहरीलाई खबर गरेको पनि परिवारका सदस्यले बताएका छन्।
 
मृतक अधिकारीले लेखेका तीन वटा छुटटा छुटटै सुसाइड नोटहरु फेला परेका छन् । दुईवटा नोट उनको खल्तीमा फेला परेको र अर्को एउटा नोट डायरीमा भेटिएको मृतकका माइला भाइ भगीरथ अधिकारीले हिमालय खबरलाई बताए । अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएका तीनवटै नोटमा एकै खालका वाक्य र विवरणहरू उल्लेख गरिएको छ ।  
 
तीनवटै नोटमा पारिवारिक कारणले नभई आफू कार्यरत ठाउँमा बेहोर्नुपरेको ‘टर्चर’का कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।  
 
स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मृतकको शव अहिले पोष्टमार्टमका लागी हस्पिटलमा राखिएकोछ ।  
 
४३ वर्षीय अधिकारी २२ वर्षिय लामो नेपालको शरणार्थी बसाइपछि सन २००९ मा शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका आएका थिए ।
 
मृतक अधिकारीका पत्नी, १६ वर्षीय एक छोरा र ९ वर्षीया एक छोरी छन् ।
 
करिब पाँच वर्ष अघि घर किनेर आफना परिवारसँगै खुसी साथ बसिरहेका अधिकारीले अात्महत्या गर्नुपर्ने कुनै पारिवारिक कारण नभएको मृतकका भाइ भगीरथले हिमालय खबरलाई बताए । उनकै शब्दमा –“ अत्यन्त मिलनसार र काममा अत्यन्तै ध्यान दिने मान्छेले यसै यस्तो गरे होलान् भन्ने म कल्पना पनि गर्न सक्दिन ।”
 
घटना थाहा पाउने बित्तिकै नेपाली समाज टेक्ससले आवश्यक सहयोगका लागि सक्रियता बढाएको छ । समाजका अध्यक्ष कृष्ण लामिछानेले समाजले दाहसँस्कारका लागी आवश्यक सम्पूर्ण सहयोग गर्ने बताएका छन् ।