मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

काबुलमा आत्मघाती आक्रमण : मृतकको सङ्ख्या ९० पुग्यो

काबुलमा आत्मघाती आक्रमण : मृतकको सङ्ख्या ९० पुग्यो


काबुल । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ९० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । 
 
स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन् । 
 
भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको राजदूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको यस ट्रकबम आक्रमणमा परी कम्ती ८० व्यक्तिको मृत्यु हुनको साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन् । 
 
विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र कैयौँ शवको थुप्रो लागेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । बिहानको व्यस्त समयमा भएको आत्मघाती बम आक्रमण राजदूतावास र महत्वपूर्ण सरकारी कार्यालयलगायत कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसमेत रहेको इलाकामा भएको छ । 
 
यस विस्फोटको कुनै पनि समूहले जिम्मेवारी भने लिएका छैनन् र तत्काल विस्फोट के कति कारणले गराइएको हो सो पनि प्रष्ट भएको छैन् । 
 
बसन्त क्रृतु्मा भीषण आक्रमण गर्ने भन्ने घोषणा गरेर बसेका र सो घोषणाको मध्य अवस्थामा रहेका तालिवान आतङ्ककारी समूहले ट्वीटरमार्फत यस आक्रमणमा आफ्नो समूहको सहभागिता नभएको र यस आक्रमणको घोर निन्दासमेत गर्दै पन्छिएका छन् । 
 
भीषण आक्रमणमा परी ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि विरलै मात्र आतङ्ककारी समूहले जिम्मा लिने गरेका छन् । 
 
यस्ता आक्रमण तालिवान र इस्लामिस्ट स्टेट्स (आइएस) समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि उनीहरुका हात रहेको अनुमान भने प्रहरीको रहेको छ । 
 
‘दुर्भाग्यबस यस विस्फोटमा मारिने व्यक्तिको सङ्ख्या ९० पुगेको कैयौँ महिला र बालबालिकासित ३०० सयभन्दा बढी घाइते भएका छन्’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले जानकारी दिएका छन् । 
 
कैयौँ घाइतेको अवस्था चिन्ताजनक भएको र भग्नावशेषमा रहेका शव निकाल्न बाँकी रहेका हुनाले मृतक सङ्ख्या लगातार बढ्नेसमेत सरकारी अधिकारीको अनुमान गरेका छन् । 
 
यस विस्फोटको कारण दर्जनौँको सङ्ख्या सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख गरिएको छ । 
 
आफगान स्वास्थ्य मन्त्रालयले काबूलका बासिन्दालाई घाइतेको उपचारको लागि रक्तदानको लागि आह्वान गरेको छ । एएफपी