मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यी हुन् बेलायतको म्यानचेष्टरमा २२ जनाको ज्यान लिने २२ वर्षीय युवक

यी हुन् बेलायतको म्यानचेष्टरमा २२ जनाको ज्यान लिने २२ वर्षीय युवक


म्यानचेष्टरका वरिष्ठ प्रहरी अधिकारी इयान हपकिन्सले कम्तीमा २२ जनाको ज्यान जानेगरी सोमबार राती म्यानचेष्टर एरिनामा बम विष्फोट गराउन जिम्मेवार रहेको ठानिएको सन्दिग्ध सलमान अबेदी भएको बताएका छन्।
 
२२ वर्षीय अबेदी म्यान्चेष्टरमै जन्मिएको तर उनका बाबुआमा लिबियाबाट आएको ठानिएको छ। यसअघि हमलाकारीले आफ्नै शरीरमा विष्फोट गराएको हुनसक्ने प्रहरीले जनाएका थिए। विष्फोटक पदार्थ घरमै बनाइएको बम हुनसक्ने प्रहरीले आशंका गरेका छन्।
 
खानतलास
सोमबार राती गरिएको हमलाको सिलसिलामा प्रहरीले मंगलबार दक्षिणी म्यानचेष्टरका विभिन्न ठेगानाहरुमा खानतलास गरेका थिए। सो क्रममा एकजना २३ वर्षीय सन्दिग्धलाई पनि पक्राउ गरिएको समाचारहरुमा बताइएको छ।
 
यसअघि म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले बताएका थिए।
 
विष्फोटन
यसअघि हपकिन्सले हमलाकारी स्वयंले बम विष्फोटन गराएको र आफूपनि घटनास्थलमै मारिएको हुनसक्ने बताएका थिए। प्रहरीले हमलाकारी एक्लै रहेको वा उसलाई अरु कसैले साथ दिए नदिएको भन्ने पत्ता लगाउने कोशिश गरिरहेको बताएको छ।
 
सार्वजनिक
प्रहरीले सोमबारको हमलामा ज्यान गुमाउनेहरुमध्ये तीनजनाको नाम सार्वजनिक गरेका छन्। ती मध्ये आठ वर्षीय सफी रुसोस, जर्जीना क्यालेण्डर तथा २८ वर्षीय जोन एटकिन्स छन्। जर्जीना क्यालेण्डरको उमेर १८ वर्ष भएको ठानिएको छ। मंगलबार बेलुका मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्न म्यानचेष्टरमा सैयौं मानिसहरु भेला भएका छन्।
 
निशाना
ब्रिटेनकी गृहमन्त्री एम्बर रडले उक्त बर्बरतापूर्ण आक्रमणमा जानाजानी युवाहरुलाई निशाना बनाइएको बताइन्। म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो। उक्त हमलापछि उनले आफ्नो साङ्गीतिक विश्व यात्रा स्थगित गरेकी छन् र घटनाप्रति दु:ख व्यक्त गरेकी छन्। म्यानचेष्टर विस्फोटनपश्चात दुई हप्ता भन्दा केहि पछि हुन लागेको आम चुनावका लागि भइरहेका अभियानहरुलाई ब्रिटेनका सबै दलहरुले स्थगित गरेका छन्। यसअघि सन् २००५ मा लन्डनमा गरिएको आक्रमणमा ५० जना भन्दा बढीको ज्यान गएको थियो। साभार: बिबिसी नेपाली