लुइभेल, केन्टकी (अमेरिका) । अमेरिकाको लुइभेल शहरमा बसोवास गर्दै आएका नेपाली समुदायले सामाजिक सेवा गर्ने उदेश्यले लुइभेल हिमालयन लायन्स क्लव गठन गरेका छन् ।
हेमन्त भेटवालको अध्यक्षतामा गठित सो लायन्स क्लवको हालै पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवका अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतानको उपस्थिति रहेको पदस्थापना कार्यक्रममा लुइभेल इष्ट लायन्स क्लवका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर इलेक्ट डेभिड मुसले क्लवका पदाधिकारीहरुलाई पदस्थापना गराएका थिए ।
केन्टकी राज्यको लुइभेल तथा लेक्जिनटन शहरमा रहेका अन्य लायन्स क्लवमा आवद्ध अमेरिकी नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको पदस्थापना कार्यक्रममा लायन्स क्लवका पूर्व अन्तराष्ट्रिय निर्देशक टम म्याट्नी समेत उपस्थित थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै अन्तराष्ट्रिय निर्देशक खेतानले विदेशमा रहेका नेपालीहरुले सेवाको लागि लायन्स क्लव गठन गरेकोमा खुसी व्यक्त गरे । उनले नेपालमा लायन्स क्लव मार्फत सेवाका कार्यहरु अत्यन्त प्रभावकारी रुपमा अगाडि वढेको जानकारी दिँदै काठमाडौ उपत्यकामा मात्रै ३ सय ५० भन्दा वढी लायन्स क्लव गठन भइसकेको बताए ।
लायन्स क्लव सेवाको क्षेत्रमा सवैभन्दा ठुलो अन्तराष्ट्रिय संस्था भएको उल्लेख गर्दै खेतानले अहिलेसम्ममा क्लव दुईसय मुलुकमा रहेको र ४६ हजार क्लव मार्फत १४ लाख भन्दा वढी सदस्यहरु आवद्ध भएको जानकारी दिए ।
कार्यक्रममा लुइभेल हिमालयन लायन्स क्लवका अध्यक्ष भेटवालले नेपालको स्वास्थ, शिक्षा र अन्य क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले क्लव गठन गरिएको जानकारी दिए ।
अमेरिकी र नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको पदस्थापना कार्यक्रममा नेपाली लोकनृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।






प्रतिक्रिया