मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नेपालको चुनावी रन्को

अमेरिकामा नेपालको चुनावी रन्को


हिमालयखवर संवाददाता
वासिंगटन डिसी (अमेरिका)– नेपालमा आइतबार हुन लागेको स्थानीय निकायको निर्वाचनको जति चासो र चर्चा छ, अमेरिकामा पनि त्यो भन्दा कम्ति छैन । 
 
नेपालमा भौतिक रुपमा मतदाताहरु विभाजित भएर आफ्नो पक्षका उम्मेदवारहरुलाई जिताउन लागिरहेका छन् भने अमेरिकामा रहेका नेपालका दलका कार्यकर्ता तथा शूभचिन्तकहरुमध्य केही नेपालमै पुगेर मतदात गर्दैछन् र केहीले भने सामाजीक सञ्जालको भरपूर प्रयोग गरेर मत मागिरहेका छन् । 
 
राप्रपालाई मत दिएर राजतन्त्र फर्काउनेदेखि लिएर ‘सूर्य ध्वजावाहकहरु हाम्रा पनि राम्रा पनि’ सम्मका प्रोफाइल पिक्चर बनाएर अप्रत्यक्ष चुनावी दौडमा अमेरिकाका नेपालीहरु पनि लागेका छन् । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले ‘भोट रुखमा’ भन्दै प्रोफाइल पिक्चर बनाएका छन् । त्यस्तै प्रवासी नेपाली मञ्चका पूर्ब अध्यक्ष सञ्जय थापाकी पत्नी पुनम थापाले पति सहितको एमालेको चुनाव चिन्ह सूर्यको झण्डा बोकेको फोटो फेसबुकमा राखेका छन् । 
 
सबैभन्दा आश्चर्यजनक तथ्य अमेरिकामा के देखिएको छ भने राप्रपाका एक कार्यकर्ताले ‘भोट गाइमा हालिन्छ, राजतन्त्र चाहिन्छ’ भन्दै फोटो फेसबुकमा राखेका छन् । नेपाल औपचारिक रुपमा गणतन्त्रमा गइसकेको र राप्रपाले समेत राजतन्त्रको एजेण्डालाई बिसर्जन गरिसकेको भएपनि राप्रपा निकट पानस अमेरिकाका महामन्त्री दीपु भुषालले राजतन्त्र चाहियो भन्दै राप्रपाको चुनाव प्रचार गरिरहेका छन् । 
 
प्रवासी मञ्चका महासचिव राधाकृष्ण देउजाले पनि सूर्य चिन्ह अंकित झण्डा बोकेर आफ्नो फोटो फेसबुकमा राखेका छन् । 
विवेकशील पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शनाको पक्षमा समेत केही प्रवासी नेपालीहरु देखिएका छन् । टेक्ससका विनय अर्यालले उनको गतिलै प्रचार गरिरहेका छन् । यद्यपी उनी वास्तविक उम्मेदवारीमा निकै कमजोर छिन् । 
 
अमेरिकामा माओवादी निकटहरु पनि नभएका होइनन् । तर खुलेर कोहीकसैले पनि माओवादीका उम्मेदवारको प्रचारप्रसार गर्ने आँट गरेका छैनन् । माओवादीलाई विगतमा अमेरिकी सरकारले आतंककारीको सूचिमा राखेको थियो । 
 
अमेरिकामा सबैभन्दा धेरै प्रचार र समर्थन नेपाली कांग्रेसलाई भएको देखिन्छ । अधिकांशले रुख सहितको आफ्नो फोटोलाई प्रोफाइल पिक्चरमा बदलेका छन् । यद्यपी धेरै नेपालीले अमेरिकाकै नागरिकता लिएर मताधिकार समेत प्रयोग गर्दै आएका छन् । तर उनीहरुलाई २० वर्षपछि मातृभूमिमा हुन लागेको चुनावले सबैभन्दा बढी असर गरेको छ । 
 
फेसबुकमा चुनाव लागेका अधिकांश नेपालीहरुले २०५४ सालमा नेपालमा भएको स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । आफ्नो गाउँठाउँको उम्मेदवार हुने, कतिपयका परिवारका सदस्य आफन्त नातागोतानै उम्मेदवार भएका कारण अघिल्ला दुई संबिधान सभाको भन्दा पनि यसपटक उनीहरुलाई चुनाव ज्यादा लागेको छ । 
 
नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले दुई दिन अघि फेसबुकबाट आफ्ना पिता रामप्रसाद लामिछानेलाई भोट मागे । उनका पिता रामप्रसाद गोरखाको नामजुङ–९ मा वडाध्यक्षको उम्मेदवार छन् । अमेरिकामा रहेका कतिपय नेपालीहरु चुनावकै लागि भनेर नेपाल पुगिसकेका छन् । उनीहरु उम्मेदवारसँगै प्रचारप्रसारमा समेत खटिएका छन् । जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारी डेढ महिनादेखि काठमाडौंमा बसेर कांग्रेसको चुनावी सभाहरुमा सकृय छन् ।
 
उता प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष यमुना भट्टराई पनि चुनावका लागि भनेर नेपाल पुगेकी छन् । त्यस्तै विवेकशील पार्टीका कार्यकर्ताका रूपमा अमेरिकामा चिनिएका सन्तोष गिरी पनि नेपालमा चुनावी प्रचारका लागि खटिएका छन् ।