ड्यालस (टेक्सस), अमेरिका– नेपाली फुटबल टीम ‘भास्तिका ड्यालस गोर्खा एफसी’ ले आउँदो आइतबार अमेरिकाको आठौँ ठूलो रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
ड्यालसको साविक काउव्वाई तथा हालको एटीएण्डी रंगशालामा आइतबार साँझ नेपाली टीम भास्तिका ड्यालसले मेक्सिकन टीम ‘ड्यालस क्रुज एजुल एफसी’ सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टीमका मेनेजर बिनोद विष्टका अनुसार मैत्रीपूर्ण भएपनि प्रतिस्पर्धात्मक तथा रोमाञ्चक रुपमा हुने उक्त खेलमा विजेतालाई ट्रफी र मेडलहरुको समेत व्यबस्था गरिएको छ ।
एटीएण्डटी रंगशाला अमेरिकाकै आठौँ ठूलो फुटबल रंगशाला हो । ड्यालसको आर्लिङटनमा रहेको यो रंगशालाको क्षमता ८० हजार दर्शकको छ । अमेरिकाको सबैभन्दा ठूलो रंगशाला ओहायो रंगशाला हो । जसको क्षमता एकलाख २ हजार दर्शकको हो ।
ड्यालसको एटीएण्डटी रंगशालामा खेल नभएको समयमा अवलोकनको लागि प्रवेश शुल्कमात्र पनि २० डलर तिर्नुपर्छ । आइतबार साँझ साढे ५ देखि सुरु हुने नेपाली र मेक्सिकन टीमको मैत्रीपूर्ण खेलमा उपस्थित भएर नेपाली खेलाडीको हौसला बढाइदिन मेनेजर विष्टले नेपाली समुदायसँग अपिल गरेका छन् ।
भास्तिका ड्यालस गोर्खालाई नेपाली कम्पनी भास्तिका इन्कले लामो समयदेखि सबै प्रकारका आवश्यकीय सहयोग र प्रायोजन गर्दै आएको छ । ‘अमेरिकामा रहेका नेपाली युवाहरुलाई उनीहरुको जे जस्तो कलाकौशल र शीप छ त्यसलाई प्रवद्र्धन गर्ने क्रममा हामीले फुटबल खेलाडीको मनोबल बढाउन आवश्यकीय सहयोग गर्दै आएका हौँ,’ भास्तिका इन्कका प्रमुख गौरीराज जोशीले भने ।
सन् २००८ देखि भास्तिकाले फुटबलमा लागेका नेपाली युवाहरुलाई सहयोग गर्दै आएको छ । भास्तिकाकै सहयोगमा यो टीमले अमेरिकाका बिभिन्न राज्यहरुमा हुने फुटबल प्रतियोगितादेखि लिएर नेपालमा समेत गएर प्रतिस्पर्धा गर्दै आएको छ ।
गत वर्ष पनि एटीएण्डटी रंगशालामा नेपाली टीमले मेक्सिकन टीमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यस बेला मेक्सिकन टीम ट्राइबेकरमा विजयी भएको थियो । यसपटक नेपाली टिम जित्ने मनोबल लिएर मैत्रीपूर्ण खेलमा सहभागी हुन लागेको छ ।






प्रतिक्रिया