बिश्व घटना

अमेरिका नेपाल कुटनीतिक सम्बन्धको ७० वर्ष, अमेरिकाले कहाँ के गर्‍यो

अमेरिका नेपाल कुटनीतिक सम्बन्धको ७० वर्ष, अमेरिकाले कहाँ के गर्‍यो


हिमालयखवर संवाददाता- 
नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापित भएको अप्रिल २५ मा सत्तरी वर्ष पुगेको छ । यस अवसरमा काठमाडौँमा अमेरिकी दूतावासले विशेष कार्यक्रमको आयोजना गरेको थियो । उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सरकारका वरिष्ठ अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्ति उपस्थित दूतावास द्धारा आयोजित उक्त कार्यक्रममा राजदूत अलैना बी टेप्लिट्जले नेपालसंगको सम्बन्धले अमेरिकालाई पनि लाभ पुगेको बताइन् । 
 
 दुई देशको सहकार्य अघि वढिरहेको बताउँदै राजदूत टप्लिट्जले नेपाल अमेरिकाको कूटनीतिक, राजनीतिक लगायत जनस्तरमा पनि सम्बन्ध मबजुत रहेको धारणा व्यक्त गरिन् ।
 
नेपाल र अमेरिका बिच सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापित भएको हो । छिमेकी देश भारत र चीन भन्दा अघि नेपालले अमेरिकासंग कुटनीतिक सम्बन्ध स्थापित गरेको थियो । बेलायत पछि अमेरिकासंग नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको थियो । 
 
काठमाडौँ स्थित दूतावासले आफ्नो फेसबुकमा नेपाल अमेरिका द्धीपक्षीय सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा भएको उल्लेख गर्दै लेखेको छ हाम्रा दुई देश बिचको कूटनीतिक सम्बन्ध अप्रिल २५ १९४७ मा नेपालमा लोकतन्त्रको सुदृढिकरण, समृद्धिको सवलीकरण र स्थायित्वको सुनिश्चितताको साझा लक्षका साथ स्थापना भएको थियो । 
 
सन् १९४८ मा हेनरीएफ ग्रधा, भारतका लागि तत्कालीन राजदूतल प्रमाणपत्र पेश गरेका थिए । सन् १९५९ पछि मात्र नेपालमा अमेरिकाले छुट्टै राजदूत राख्न थालेको हो । 
 
कुटनीतिक सम्बन्ध स्थापित भए यता अमेरिकाले नेपालको थुप्रै क्षेत्रमा सहयोग गरेको छ ।
 
औलो उन्मुलन अमेरिकी सहयोगको सफल उदाहरण हो । औलो सन् १९५० मा नेपालको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या मध्ये एक थियो । यसबाट झण्डै २५ प्रतिशत जनसङ्ख्या प्रभावित थिए । चितवन लगायत तराई र समथर क्षेत्रमा मानिसहरू औलोका कारण बस्न डराउंथे । 
 
जसले गर्दा तराईको समथर र उव्जाउ भूमिको उपयोग भएको थिएन । सन् १९५४ मा अमेरिकी सरकारको सहयोगमा औलो नियन्त्रणको प्रयास शुरु भयो । त्यस बेला ७० हजार घरमा औषधी छरिएको थियो । दूतावासले औलो उन्मुलन नेपालमा अमेरिकी सरकारको सबैभन्दा सफल अभियानहरु मध्ये एक भएको बताएको छ ।
 
 सन् १९६० र १९७० को दशकमा अमेरिकी सरकारले काठमाडौँ लगायत देशका ६ वटा विमानस्थलमा सञ्चार तथा वायुयान सञ्चालन उपकरण सहयोग गरेको थियो । 
 
तत्कालीन शाही नेपाल वायु सेवा निगमलाई २ वटा जहाज पनि दिएको थियो । ती जहाज उडाएर ल्याउनेलाई तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले सन् १९६१ मा काठमाडौमा स्वागत गरेका थिए । सन् १९५० को दशकमा अमेरिकाले काठ्माडौंको भौगोलिक सर्भे गरेको थियो ।
 
यस बाहेक आधा शताब्दी अघि देखि अमेरिकाले नेपालमा पिसकोर भोलियन्टर्स पठाउंदै आएको छ । पिसकोर भोलिटियर्सले  नेपालको विकासमा योगदान मात्र दिएनन अमेरिकामा नेपाल चिनाउन पनि महत्त्वपूर्ण योगदान दिइरहेका छन् । अमेरिकामा नेपालमा पिसकोर भएर जानेहरुले नेपाल चिनाईरहेका छन् । थुप्रै सहरमा यसरी जानेले नेपालको हितका पक्षमा विभिन्न कार्यहरू गरिरहेका छन् । माओवादी द्धन्द्ध ताका कहीँ समय यो कार्यक्रम रोकिएपनि पुन शुरु भएको छ । अहिले पनि पिसकोर नेपालमा कार्यरत छन् । 
 
अमेरिकाले नेपालमा प्रजातन्त्रका लागि विगतमा विभिन्न प्रकाशनहरुपनि गरेको थियो । अमेरिकी सरकारको सौजन्यमा प्रकाशित हुने स्वतन्त्र भूमि पत्रिका पंचायतकालमा पनि गाउँ गाउँमा पुग्थ्यो ।
 
 यस्तै प्रजातन्त्र, सञ्चार क्षेत्रमा सहयोग पुग्ने थुप्रै प्रकाशनहरु पनि अमेरिकाले नेपाली भाषामा ल्याएको थियो । अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापित भए यता हज्जारौं नेपालीलाई विभिन्न छात्रवृत्ति र अध्ययन भ्रमण कार्यक्रममा सहभागी गराएको छ ।
 
नेपाल अमेरिकाको प्रथामिकताको सूचीमा परेको छ । यस पटक नेपाल अमेरिकाको सहयोगको सुचीको प्रथामिकतामा परेको हो । दुई वर्ष अघि गएको महाभुकम्पमा पनि अमेरिकाले उद्धार र राहतमा सहयोग पठाएको थियो । भूकम्प पीडितको पुर्नस्थापनामा पनि अमेरिका संलग्न छ ।
 
वासिङ्टन डिसी स्थित नेपाली दूतावासले भने यस अवसरमा कुनै कार्यक्रम राखेको सार्वजनिक गरेको छैन । अमेरिकामा नेपाली दूतावास यो अवसरको उपयोग गर्न सकेन ।