बिश्व घटना

क्यान्सर पीडित नेपालीको सहयोगमा जाग्यो ह्युस्टन अमेरिका

क्यान्सर पीडित नेपालीको सहयोगमा जाग्यो ह्युस्टन अमेरिका


अप्रिल महिनाको २१ तारिख शुक्रवार राती, ह्युस्टनका सहयोगी नेपालीहरू स्वतस्फुर्त रूपमा जागेको समय थियो । नेप्लिज एसोसिएसन अफ ह्युस्टनको छोटो  सूचनाको आह्वानमा  आयोजित त्यो भेला  एउटा नेपाली युवालाई परेको आकस्मिक व्यथामा मल्हम लगाउने उदेश्यले  आयोजित थियो । 
 
विगत १५ वर्ष ह्युस्टनमा बिताएका र हालसालै कोलोराडो सरेका सुभान्जन दुवा अहिले क्यान्सर रोगबाट पीडित भएको समाचारले यहाँको नेपाली समुदाय चिन्तित थियो । आफ्नो समुदायको जल्दो बल्दो ३० वर्षीय युवालाई उपचारमा आर्थिकरुपले सहयोग पुर्‍याउन त्यसैले "फण्ड रेजिङ डिनर" को आयोजना गरिएको थियो 
 
सुभान्जन Synovial Sarcoma cancer  बाट ग्रसित छन् । कोलोराडोस्थित पार्कर एड्भेन्टिस्ट हस्पिटलमा उनको उपचार भइरहेको छ । 
 
सङ्गीत र शारीरिक सुगठनका शौखिन सुभान्जन ह्युस्टनका नेपाली युवाहरूलाई स्वस्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने युवा हुन् । नेप्लिज एसोसिएसनका प्राय कार्यक्रममा उनको साङ्गीतिक प्रस्तुति हुन्थ्यो । 
सुभान्जन दुवा :अहिले Synovial Sarcoma cancer  बाट ग्रसित छन् 
 
शुक्रवार आयोजित फन्ड रेजिङ डिनर त्यसैले साङ्गीतिक एवम् साहित्यिक बनाइएको थियो । खर्च काटेर कार्यक्रमबाट उठेको  सबै रकम १० हजार डलर सुभान्जनको उपचारमा प्रदान गरिएको जानकारी एसोसिएसनका कोषाध्यक्ष रविन श्रेष्टले दिए । 
 
असाध्यै छोटो सूचनामा पनि उल्लेख्य सङ्ख्यामा कार्यक्रममा नेपालीहरू उपस्थित थिए ।  यहाँको नेपाली समुदायमा यसप्रकारको फन्ड रेजिङ डिनर पहिलो मानिएको छ । शुक्रवारको साङ्गीतिक साँझमा एसोसिएसनका अध्यक्ष ज्योति घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । 
 
जनक थापाको संयोजनमा भएको सो कार्यक्रममा साइ लामा, विमल भट्टचन, चेज गुरुङ,  प्रतिमा सेढाई, राजु बुढाथोकी, रचना रौनियारले गीत प्रस्तुत गरेका थिए । त्यसै गरी सन्जीब श्रेष्ठ, लिण्डा श्रेष्ठ, राजीव पराजुली, ज्योत्स्ना पराजुली, श्रीमानश्रीमती विष्णु  नेपाल, अमित गिरी, राजकुमार थापा, श्रियजीत बाँस्कोटा, देव लामा, सन्जिव राई,  सतीश त्रिपाठी, नयना अमात्य अ भिषेक कार्की, समीर बराल, प्रतिभा सापकोटा, रक्षा कर्माचार्य र उमा मंत्रावदीले पनि गीत गाएका थिए । 
 
एसोसिएसनका सल्लाहकार राजेन्द्र श्रेष्ठ, तारा बराल र अध्यक्ष ज्योति घिमिरेले समेत गीत गाएर साङ्गीतिक भेलालाई हौसला प्रदान गरेका थिए । कार्यक्रममा मुना पौडेलले कविता र बिटु केसीले मुक्तक सुनाएका थिए ।