हिमालयखवर संवाददाता-
ड्यालस (अमेरिका) I हाइस्कूलमा पढ्ने दुई नेपालीमुलका छात्राहरुले नेपालको विकट बस्तीहरुमा विद्यालय निर्माणका लागि अमेरिकामा ‘नाइट फर नेपाल’ गर्ने भएका छन् ।
ड्यालसका दुई दिदीबहिनी कृतिमा र इच्छा लामिछानेले नेपालमा स्कुल बनाउनका लागि सांस्कृतिक सहितको डिनर कार्यक्रम गर्न लागेका हुन् । नेपाली गीतसंगीत, नृत्य सहितको डिजे साँझमा संकलन भएको रकम नेपालको दुर्गम वस्तीमा विद्यालय निर्माणमा खर्च गरिनेछ ।
आउँदो शनिबार साँझ हुन लागेको यो कार्यक्रम स्थानीय रमाइलो रेष्टुरेन्टमा आयोजना हुनेछ । कार्यक्रममा आकर्षक ‘डोर प्राइज’ समेत राखिएको छ ।
१७ बर्षिया कृतिमा र १५ वर्षिया इच्छा लामिछाने दुई दिदीबहिनी नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका छोरीहरु हुन् । प्रतिव्यक्ति डिनर सहित २० डलर प्रवेश शुल्क तोकिएको छ । ‘नानीहरुको अभियानलाई सहयोग गर्न चाहने महानुभावहरुले जतिपनि सहयोग गर्न सक्नुहुनेछ,’ कृतिमा र इच्छाका पिता कृष्ण लामिछानेले भने । यो अभियानमा उपस्थित भएर सहयोग गरिदिनुहुन लामिछानेले नेपाली समुदायसँग अपिल गरेका छन् ।
सानैदेखि सामाजीक कार्यहरुम सकृय उनीहरुले यसअघि गोरखाको जनशक्ति उच्च माबिको सात रोपनी जग्गा खरिदका लागि साढे दुईलाख रुपैयाँ सहयोग गरेका थिए ।
त्यसका साथै गोरखाका बिभिन्न स्कूलहरुमा छात्रवृत्ति समेत प्रदान गर्दै आएका छन् । स्कूल टिफिनका लागि अभिभावकले दिएको रकम जोगाएर, स्कूलमै साथीहरुसँग सहयोग लिएर उनीहरुले नेपालमा सहयोग गर्दै आएका छन् ।
शनिबार आयोजना हुने नाइट फर नेपाल कार्यक्रमबाट संकलन भएको रकम नेपालमा स्कूल बनाउन पठाइनेछ । दोलखा र गोरखाका विद्यालयहरुले सहयोगको अपेक्षा राखेकाले कहाँ पठाउने भन्ने बारेमा पछि निर्णय गरिने उनीहरुले बताए ।
दुबै दिदीबहिनी टेक्ससको कोपेल हाइस्कूलमा अध्ययनरत छन् ।






प्रतिक्रिया