हिमालय खबर संबाददाता-
ड्यालस (टेक्सस) । नेपाली नयाँ वर्ष २०७४ लाई अमेरिकाको ड्यालसको सेरोफेरोमा बस्ने नेपालीहरुले भव्य रुपमा मनाउने तयारी गरेका छन् । आउँदो शनिबार ड्यालसको युलेस नगरमा हुन लागेको भव्य नयाँ वर्ष कार्यक्रमको तयारी पुरा भएको छ ।
नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका अनुसार युलेसको बियर क्रिक पार्कमा आयोजना हुने मिनी महोत्सव सहितको नेपाली नयाँ वर्षको कार्यक्रमको तयारी लगभग पुरा भइसकेको छ । शनिबार बिहानैदेखि सुरु हुने कार्यक्रममा युवाहरुको लागि भलिबल प्रतियोगिता समेत राखिएको छ । त्यस्तै बालबालिकाका लागि आधा दर्जन मनोरञ्जनात्मक खेलहरु समावेश गरिएको छ ।
भलिबल प्रतियोगिता सम्पन्न गर्न नेपाली समाजका कार्यसमिति सदस्य प्रेम पाठकलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै बालबालिकाका कार्यक्रम गर्नका लागि सभ्य थापा र निलिमा श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
बिहानको कार्यक्रममा सहभागी हुने बालबालिकाका लागि निशुल्क ब्रेकफास्टको व्यबस्था रहेको लामिछानेले जानकारी दिए । कार्यक्रम नेपाल र नेपाली संस्कृति देखाउने अवसर पनि भएकोले नेपाली पोशाकमा उपस्थित हुनेमध्यका एक उत्कृष्ठ जोडीलाई पुरस्कारको व्यबस्था समेत आयोजकले गरेका छन् ।
कार्यक्रममा आफ्नो घरमा नेपाली झण्डा हुनेहरु सबैलाई उक्त झण्डा सहित सहभागी भइदिनुहुनु नेपाली समाजका अध्यक्ष लामिछानेले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली खानाका तीनवटा स्टलहरु बुुक भैसकेका छन् । अर्बिंग, युलेस लगायतका सिटीहरुमा सञ्चालित नेपाली रेस्टुरेन्टहरुले सहुलियत दरमा नेपाली परिकारहरु उपलव्ध गराउने भएका छन् ।
जहाँ नेपाली परिकारहरु सेकुवा, मम, भटमास, चिउरा, चाउमिन लगायतका परिकारहरु रहनेछन् । नेपाली समाजले अर्बिंगको नर्थलेक कलेजमा कार्यक्रम आयोजना गर्ने तयारी गरेपनि स्थान साँघुरो हुने भएपछि युलेसको पार्कमा गर्न लागेको हो । कार्यक्रमलाई थप रमाइलोपन दिनका लागि नेपालबाट कलाकारहरु समेत आउने कार्यक्रम रहेको छ ।
पार्कमा सवारी साधन पार्किंगको लागि प्रयाप्त स्थान भएपनि नेपालीहरुको ठूलो उपस्थिती हुने भएकाले सबैले आफनो सवारी साधन पार्किंग सभ्य र व्यबस्थित रुपमा गरिदिनुहुन नेपाली समाजले विशेष अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया