मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दुबै आँखामा क्यान्सर भएकी सुभारम्भीलाई सहयोगको अनुरोध

दुबै आँखामा क्यान्सर भएकी सुभारम्भीलाई सहयोगको अनुरोध


हिमालयखवर संवाददाता- 
ह्युस्टन (अमेरिका) । दुबै आँखामा क्यान्सर भएका कारण नेपालदेखि उपचारको लागि अमेरिका आएको परिवारले सहयोगका लागि अनुरोध गरेको छ ।
 
राम्जा देउराली-२ पर्वतका प्रकाश गौतम यतिखेर दुई बर्षिया छोरी सुभारम्भी गौतमको उपचारका लागि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ह्युस्टनमा छन् । घर घडेरी समेत बेचविखन गरेर आएका गौतमले उपचारमा हजारौँ डलर लाग्ने अवस्था आएपछि सहयोगका लागि नेपाली समुदायसँग आग्रह गरेका छन् ।
 
घरको आर्थिक अवस्था समेत कमजोर रहेको उनले बताए । ३० बर्षिय गौतम पोखराको एक किताब पसलमा काम गर्थे । 
 
दुई बर्षिया सुभारम्भीको दुबै आँखामा क्यान्सर लागेको छ । एउटा आँखालाई नेपालको तीललंगा आँखा केन्द्रलेनै निकालेको भएपनि अर्को आँखामा समेत क्यान्सर देखिएपछि उपचारमा लामो समय र खर्च लाग्ने अवस्था छ ।
 
आँखा नदेखेको शंका लागेर पोखराको हिमालय आँखा अस्पतालमा लगेर जाँच गराइएको थियो । हिमालयले काठमाडौँको तीलगंगालाई रिफर गरेको थियो । तीलगंगामा उपचार गराउँदा दुबै आँखामा क्यान्सर भएको पत्ता लागेको थियो । तीलगंगाले समेत पुरै निको पार्न नसक्ने जनाएपछि छोरीलाई लिएर गौतम अमेरिका आएका हुन् । 
 
परराष्ट मन्त्रालय, नेपाल मेडिकल बोर्डको सिफारिस साथ उनी उपचारका लागि अमेरिका आइपुगेका हुन् । 
 
छोरीको उपचारका लागि पोखरामा जोडेको घडेरी बेचेर २२ हजार ९ सय डलर नेपालबाटै यहाँको अस्पतालका लागि जम्मा गरेर आएको थिएँ, गौतमले हिमालयखाबर संग बताए । ह्युस्टनको एडरसन क्यान्सर सेन्टरमा सुभारम्भीको उपचार भैरहेको छ । अहिलेसम्म अस्पतालले ८० हजार डलरको बील उनलाई दिइसकेको छ भने थप रकम जम्मा नगरे उपचारमा समस्या हुने जानकारी दिएपछि गौतम चिन्तित भएका छन् ।
 
हरेक साता रगत जाँच, आँखाको केमोथेरापी गरिरहनु पर्दा उपचार अति महंगो छ । उनीहरुको बसोबासको लागि डोनाल्ड हाउसमा व्यबस्था भएपनि छोरीको उपचारमा लामो समय र खर्च लाग्ने अवस्था आएपछि गौतमले सहयोगको लागि स्थानीय संघसंस्था, नेपाली समुदायसँग आग्रह गरेका छन् ।
 
नेपाली समाज ह्युस्टन लगायतका संघसंस्थाले उनलाई सहयोग गरिरहेका छन् । मेरो पहिलो र एउटैमात्र छोरी हुन् सुभारम्भी, आँखा निको बनाएर नेपाल फर्कन पाए आनन्द हुन्थ्यो, उनले भने । 
 
अस्पतालले कति लाख डलरको बील थमाउने हो र कसरी तिर्ने भन्ने चिन्तामा उनी दिनहुँ पिरोलिइरहेका छन् । एउटा आँखा त कहिल्यै पनि काममा नआउने भएकोले नेपालमै डाक्टरहरुले निकालेका छन् । दोस्रो आँखाको उपचारका लागि गौतम अमेरिका आएका हुन् ।
 
सुभारम्भीको उपचारमा सहयोगका लागि गोफण्डमा खाता खोलेर संकलन सुरु भइरहेको छ । नेपाली समाज ह्युस्टनले समेत गोफण्ड मार्फत सहयोग गर्नका लागि अमेरिकामा रहेका नेपाली समुदायसँग अपिल गरेको छ ।
 

शेयर गर्नुहोस:

0
Shares