हिमालयखबर संबाददाता-
अमेरिका। दक्ष विदेशी जनशक्तिलाई अमेरिकी सरकारले उपलव्ध गराउँदै आएको एच वानबी भिसा सर्वाधिक प्राप्त गर्ने १५ देशहरुको सूचिमा नेपाल परेको छ ।
स्नातक वा सो भन्दा माथिको प्राविधिक शिक्षा हाँसिल गरेका दक्ष जनशक्तिलाई अमेरिकाले एच वानबी भिसा उपलव्ध गराउँदै आएको छ । हरेक वर्ष ८५ हजारलाई यो भिसा अमेरिकाले उपलव्ध गराउँदै आएको थियो ।
सन् २०१४ को तथ्यांकका आधारमा यो सुविधा लिने देशहरुमा नेपाल १२ औं नम्बरमा परेको छ । दुईहजारको हाराहारीमा नेपालीले यो सुविधा लिएर अमेरिकाका बिभिन्न कम्पनीहरुमा काम गरिरहेका छन् । एच वानबी भिसा सबैभन्दा बढी भारतीयले प्राप्त गरेका छन् । २०१४ मा मात्र दुईलाख २० हजार भारतीयले यो सुविधा लिएका थिए ।
अधिकांश भारतीयहरु अमेरिकाका सूचना प्रविधिसँग संबन्धित कम्पनीमा कार्यरत छन् । भारतपछि चीन, क्यानडा, फिलिपिन्स, कोरिया, बेलायत, मेक्सिको, ताइवान, फ्रान्स, जापान, पाकिस्तानका नागरिकले यो सुविधा लिएर काम गरिरहेका छन् । यो सुविधा लिने देशहरुमा नेपाल १२ औं नम्बरमा छ । नेपालले जर्मनी, टर्की र ब्राजिललाई जितेको छ ।
यो सुविधा सबैभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा कार्यरतले पाएका छन् । झण्डै ६५ प्रतिशतले सूचना प्रविधिको क्षेत्रबाट यो एच वानबीको सुविधा लिएका छन् ।
झण्डै १० प्रतिशत इन्जिनियरिंग क्षेत्रका छन् । त्यस्तै ६ प्रतिशतले प्रशासनिक क्षेत्रबाट, ६ प्रतिशतले शिक्षा क्षेत्र, ५ प्रतिशतले मेडिसिन तथा स्वास्थ क्षेत्रबाट यो सुविधा लिएका छन् ।
शैक्षिक योग्यताको हिसाबले यो सुविधा लिने मध्य ४५ प्रतिशतले स्नातक अध्ययन पुरा गरेका छन् । स्नातकोत्तर गरेर यो सुविधा पाउने ४३ प्रशिशत छन् । ८ प्रतिशतले पिएचडी पछि यो सुविधामा काम गरिरहेका छन् ।
विशेषगरि अमेरिकामा उच्च शिक्षा हाँसिल गर्ने नेपालीको संख्या बर्षेनी बढ्दो रुपमा छ । शिक्षा हासिल गरिसकेपछि यहीँका कार्यालयहरुमा काम गर्नेहरुले एच वानबीको माध्यमबाट कानुनी रुपमा काम गर्ने र बस्दै आएका छन् ।
प्रतिक्रिया