हिमालयखवर संवाददाता-
अमेरिका- अमेरिकाले चौतर्फी दबाब पछि बिहीबार सिरियाको सत्तारुढ बसर अल असद सरकार विरुद्ध बिहीबार सैन्य कारबाही गर्दै सुरु गरेको छ । मध्येपुर्व सागरमा रहेका अमेरिकी युद्धपोतवाट करिब ६० टमहकक्रुज मिसाइल सिरियाका विभिन्न सैनिक ठेगानामा लक्षित गरी छाडिएको संचारमाध्यहरुले जनाएका छन् । विशेष गरी सिरियाको रासायनिक हातहतियार भण्डार भएको स्थानमा यो हमला केन्द्रित गरिएको जनाइएको छ ।
असद सरकारले कयौँ वालकालिका सहित करिब एक सय जनाको ज्यान जाने गरी रासायनिक हमला गरेपछि अमेरिकालाई प्रत्यक्ष सैनिक कारबाहीका लागि व्यापक दबाब परेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक हमलामा मृत्यु हुने बालबालिकाको तस्बिर देखेपछि असद सरकार प्रतिको पुर्ववत धारणा परिवर्तन भएको बताएका थिए । म अमेरिकाको राष्ट्रपति हुँ विश्वको राष्ट्रपति होइन भन्ने अभिव्यक्ति दिएको एक साता पनि नहुदैं राष्ट्रपति ट्रम्पले सिरिया सरकार विरुद्ध सैनिक कारबाहीका लागि आदेश दिएका हुन् ।
अमेरिकी युद्धपोतले मिसाइल हमला सुरु गरेको वेला राष्ट्रपति ट्रम्प फ्लोरिडामा चीनका राष्ट्रपतिसंग रात्रि भोजमा बसेका थिए । त्यही वेला रक्षा मन्त्रीले उनलाई सैनिक कारबाहीका बारेमा जानकारी दिएका थिए । राष्ट्रपतिले सैन्य कारबाही सुरु भएपछि संक्षित सम्बोधन गर्दै रासायनिक हातहतियार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको उलधंन गरेकाले सिरियालाई सैनिक कारबाही गर्नु परेको बताएका छन् ।
१५०० किलोमिटरसम्मको दुरीमा मार गर्न सक्ने टमहक मिसाइल सिरियाको असद सरकारका सैनिक केन्द्रहरुमा लक्षित गरिएको जनाइएको छ । यो मिसाइल हमलावाट कतिजना हातहात भए यो पुष्टि भएको छैन । सिरियाको असद सरकार समर्थक संचारमाध्यमले भने त्यहाँ हमला भएको जनाउंदै अमेरिकन एग्रेसन भनेका छन् । ६ वर्ष देखि गृहयुद्ध चपेटामा परहेको सिरिया माथि यस अघि पनि अमेरिकाले मिसाइल हमला गरेको थियो तर, यो असद सरकार विरुद्ध नभई आईएस विरुद्ध केन्द्रित थियो ।
राष्ट्रपति असद विरुद्ध अमेरिकाले सैनिक कारबाही गरेको यो पहिलो पटक हो । यो सैनिक कारबाही पछिको योजना के हो अमेरिकामा यो प्रश्न उठे पनि आधिकारिक रूपमा ह्वाइट हाउसले कुनै जवाफ दिएको छैन ।
राष्ट्रपति ट्रम्पले पदभार सम्हालेपछिको यो पहिलो सैनिक कारबाही हो । रासायनिक हमलावाट मृत्यु हुनेको तस्बिरहरू आएपछि राष्ट्रपति ट्रम्पलाई आन्तरिक रूपमा सिरिया कारबाही गर्न दबाब परेको थियो । घरेलु मामिलामा आफ्नो नीति केन्द्रित गर्ने बताउँदै आएका राष्ट्रपति ट्रम्पले लामो समय नलिई सैनिक कारबाहीको लागि आदेश दिनुलाई महत्त्वपूर्ण मानिएको छ ।
सिरियामा ६ वर्षको गृहयुद्धमा करिब ४ लाखले ज्यान गुमाएको अनुमान गरिएको छ । यसबाहेक करिब ५० लाख शरणार्थीका रूपमा विभिन्न स्थानमा आश्रय लिएका छन् । असद सरकारलाई रसियाले सहयोग गर्दै आएको छ । अमेरिकाले सैनिक कारबाही गर्नु अघि रसियाका अधिकारीहरुसंग पनि सम्पर्क गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो हमला लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सुरु गरेको छ । अमेरिकी बजारमा यसको प्रभाव भने शुक्रवारमात्र देखिने छ ।








प्रतिक्रिया