न्यूयोर्क, संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यही अप्रिल १ देखि लागु हुने गरी दुई वर्षका लागि कम्युनिटी बोर्ड ५ मा नियुक्त गरेको पत्र प्रदान गरेका छन् ।
समस्यामा परेका धेरै नेपालीहरूलाई सहयोग गर्दै आएका ज्ञवालीको समाजसेवी भावनाको कदर गर्दै कम्युनिटी बोर्डमा नियुक्त गरिएको क्वीन्स बोरो प्रेसिडेन्ट मेलिण्डा कट्जद्धारा दिइएको नियुक्त पत्रमा जनाइएको छ ।
सन् १९९६ देखि न्यूयोर्कमा बसोबास गर्दै आएका ज्ञवाली रिजउड नेपाली समाज न्यूयोर्कको संस्थापक अध्यक्ष, अमेरिका नेपाल चेम्बर अफ कर्मशको संस्थापक अध्यक्षका साथै प्रस्तावित एभरेष्ट फेडेरल क्रेडिट युनियनका समेत अध्यक्ष हुन् । न्यूयोर्क सिटी कम्पोट्रलरबाट साउथ एशिएन हेरिटेज अवार्ड लगायतका दर्जनौ अवार्ड पाएका समाजसेवी ज्ञवाली एनआरएन अमेरिकाका वर्तमान बोर्ड अफ डाईरेक्टर समेत हुन् ।
स्थानीय सरकार मानिने यस बोर्डको कार्यक्षेत्र न्यूयोर्क शहरको क्वीन्स बोरो अन्र्तगत रिजउड, मास्पेथ, मिडल भिलेज, गेलेण्डल र उडसाईड क्षेत्रको केही भाग समेत पर्दछ । बोर्डले शिक्षा, वातावारण, स्वास्थ्य तथा मानव सेवा, घर व्यवसाय, जन सुरक्षा सार्वजानिक यातायत, सरसफाई, बजेट, प्रहरी लगायतका विषयमा स्थानीय सरकारसँग कार्य गर्दछ ।
नेपालको अर्घाखांची जिल्लामा जन्मेर हाल न्यूयोर्कमा ब्यवासय गर्दै आएका ज्ञवालीले आफ्नो नियुक्ति पश्चात् आफूलाई समाजसेवामा थप ऊर्जा प्राप्त भएको बताएका छन् । हजारौँ नेपालीहरूको बसाइरहेको यस क्षेत्रमा आफूले सक्दो रूपमा सबैलाई हित हुने कार्यमा आफूलाई तल्लीन बताउने योजना रहेको ज्ञवालीको भनाई छ ।
न्यूयोर्कमा धेरै नेपालीहरूको लामो समय देखि बसोबास रहे पनि स्थानीय राजनीतिमा पंहुच पुग्न नसकेको बेला आफ्नो नियुक्तिले सबैलाई टेवा पुग्ने ज्ञवालीको भनाई छ। न्यूयोर्कमा धेरै नेपाली रहेपनि नेपाली राजनीतिमा मात्र व्यस्त भएको तर अमेरिकन राजनीतिमा पंहुच राख्न नसकेको आरोप खेपिरहेको बेला भएको ज्ञवालीको नियुक्तिलाई समाजका सबै क्षेत्रका व्यक्तिहरूले प्रशंसा गरेका छन् । न्यूयोर्क सहरमा राजनीतिक नियुक्ति पाउने ज्ञवाली सम्भवत पहिलो नेपाली हुन् ।






प्रतिक्रिया