हिमालयखवर संवाददाता
सानहोजे, कोस्टारिका- मध्य अमेरिकी देश कोस्टारिकाको चर्चित राजनीतिक दलको एउटा उच्च पदमा नेपाली मूलका चिकित्सक पुगेका छन्। सन् १९९८ देखि कोस्टारिका बस्दै आएका झापा, चन्द्रगढीका डा.खगेन्द्रराज चापागाँई त्यहाँको नेसनल लिबरेसन पार्टीको हिजो अप्रिल दुईमा सम्पन्न भएको महाअधिवेसनमा वर्कफोर्स नेसनल कमिसनको महासचिवमा अत्यधिक मतले विजयी बनेका छन् । यो कमिसनले श्रमिकहरूको हकहित र सेवा सुविधाको सुरक्षा सम्बन्धी काम गर्छ ।
हाल डा.चापागाँई कोस्टारिकामा स्वास्थ्य सेवाको उच्च पदमा कार्यरत छन् । यहाँको सरकारले तीन वर्ष अघि उनलाई स्वाथ्य शिक्षा एवम् सामाजिक सुरक्षा सम्बन्धी राष्ट्रिय आयोगको सदस्य नियुक्त गरेको थियो । उनलाई कोस्टारिकामा डा.राज चापागाँईको नामले चिनिन्छ । उनी कोस्टारिका अस्पताल सेवामा बहिरङ्ग विभागका संयोजक पनि हुन् ।
कोस्टारिकामा कति नेपाली छन् भन्ने तथ्याङ्क नभए पनि सयको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ ।
गणतन्त्रात्मक राष्ट्रपतीय शासन व्यवस्था भएको यो मुलुक मध्य अमेरिकामा निक्कै खुशहाल मानिन्छ । यहाँको प्रतिव्यक्ति आय ९ हजार २ सय ३७ अमेरिकी डलर (२०१५) छ । कोस्टारिकामा आफ्नो सेना छैन । सेना राख्ने खर्च यहाँको स्वास्थ्य सेवामा लगाइएको छ ।
डा.खगेन्द्रका मित्र एण्टोनियो अल्भारेज, नेसनल लिबेरेसन पार्टीको तर्फबाट उनलाई हिजोको अधिवेशनले अत्यधिक मतले राष्ट्रप्रति उम्मेद्वारकोलागि चयन गरेको छ । अल्भारेज आप्रवाशीहरुप्रति उदार मानिन्छन ।






प्रतिक्रिया