मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मेरो उम्मेदवारी पद ओगट्नमात्र होइनः जोशी

मेरो उम्मेदवारी पद ओगट्नमात्र होइनः जोशी


हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्वका प्रवल दावेदार गौरी जोशीले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि अमेरिकामा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ जोशीले भनेका छन् ।
 
आइतबार ड्यालसमा आयोजित आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम सहितको पत्रकार सम्मेलनमा जोशीले तीनवटा एजेण्डा लिएर आफु अध्यक्षको उम्मेदवार भएको बताए । उनले सेवा, सहयोग र सामाजीक एकताका लागि एनआरएनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे ।
 
टेक्ससका प्रतिष्ठित, समाजसेवीहरुलाई अगाडी राखेर जोशीले आफ्नो उम्मेदवारी घोषणा सहित नीति तथा कार्यक्रम सार्वजनिक गरे । उनले अमेरिकामा रहेको नेपाली समुदाय बिभिन्न कारणले फुटेकोमा आपूmले एकजुट बनाउने घोषणा गरे । 
 
स्थानीय नेपाली सङ्घ संस्थासँग समन्वय गर्दै सेवा र सहयोगको भावाना लाई अगाडी बढाउदै समाजमा रहेका हरेक विचारको सम्मान गर्दै एक साझा उद्देश्य प्राप्तिका मैले यो उम्मेदवारी दिने निर्णय गरेको छु, उनले भने । जोशीले एनआरएनलाई विशुद्ध सामाजीक संस्था बनाउने उद्घोष समेत गरे । 
 
एनआरएनका अन्य उम्मेदवारहरुले नेपाल र नेपालीको हितका लागि आफ्नो उम्मेदवारी हुने दावी गरिरहेको समयमा जोशीले भने आफुले अमेरिकामा रहेका नेपालीको हितका लागि मात्र आफु उम्मेदवार भएको स्पष्ट पारे । ‘मेरो उम्मेदवारी यहाँ रहेका नेपालीहरुको क्षमता विकास, सहयोगका लागि हो, नेपाललाई हित हामीले गरेर संभव हुँदैन । व्यक्तिगत रुपमा मैले नेपालको कुनै ठाउँमा सहयोग गर्न सकुँला, गरिरहेको पनि छु । तर संस्थागत रुपमा हामीले हेर्ने भनेको यही रहेका नेपालीलाई हो,’ उनले भने ।
 
उनले यहाँ सिकेको शीप नेपाललाई दिने भन्ने कुरा असंभव रहेको बताए । ‘यहाँ हामीले के शीप सिकेका छौ अहिलेसम्म र नेपालमा लैजाने ?’ उनले प्रश्न गरे । ‘बरु नेपालबाटै अवसरको अभावमा दक्ष जनशक्ति धमाधम पलायन भैरहेका छन्,’ उनले उल्लेख गरे । 
 
अमेरिकामा रहेका नेपाली युवाहरुलाई एकीकृत गर्नु अहिले जरुरी रहेको उनले बताए । उनले उच्चशिक्षा अध्ययन गर्न अमेरिका आएका नेपाली विद्यार्थीहरुलाई सहयोगका लागि हेल्पडेस्क स्थापना गर्न जरुरी रहेको र त्यसका लागि आपूm तत्पर रहेको पनि उल्लेख गरे । 
 
टेक्ससबाटै अध्यक्षका लागि दुई उम्मेदवार भएको विषयमा उनले सहमतिमा जुनसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारे । ‘यदी रामजी बलियो उम्मेदवार हुनुभयो भने म सहमतिमा आउन जतिखेर पनि तयार छु,’ उनले भने । सबै उम्मेदवारहरु सक्षम र योग्य भएपनि आपूmसँग एनआरएनलाई अघि बढाउने अलग्गै भिजन र योजना रहेको पनि बताए । 
 
कार्यक्रममा समाजसेबी डा. मुरली अधिकारीले भताभुंग र लथालिंग भएको एनआरएन मुभमेन्टलाई अघि बढाउन जोशीले सार्वजनिक गरेका भिजनहरु उल्लेखनीय भएकोले सहयोग गर्न आग्रह गरे । ‘समाजसेवाको नाममा यतिखेर अमेरिकामा पानसमा बत्ति बालेर हिँडिरहनेलाई परास्त गर्न जरुरी छ,’ अधिकारीले भने । 
 
असाध्यै भावुक मुद्रामा प्रस्तुत भएका अधिकारीले जोशीलाई आफुले सन् २००४ देखि आत्मिय रुपमा चिनेको र २००७ मा मन्दिर स्थापनापछि नजिक भएर काम गरेको जानकारी दिए । ‘ड्यालसबाट उम्मेदवार हुनेले कसरी सामाजीक काम गर्ने भनेर अमेरिकालाई चिनाउन सक्छ, हाम्रा उम्मेदवारसँग स्पष्ट योजना छ,’ उनले भने ।
 
एनआरएन टेक्ससका अध्यक्ष उत्तम लामिछानेले टेक्ससबाट एकजनामात्र साझा उम्मेदवार हुनुपर्नेमा जोड दिँदै बलियो उम्मेदवारलाई अर्कोले छाडेर सहयोग गर्नुपर्नेमा जोड दिए । ‘यो पार्टी र उ पार्टी होइन, शुद्ध समाजसेवामा लागेकालाई सहयोग गर्नुपर्छ,’ उनले भने ।
 
यती चेम्बर अफ कमर्सका अध्यक्ष तथा समाजसेवी बासु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले उम्मेदवारहरुलाई शूभकामना दिएका थिए । त्यस अवसरमा ड्यालस/फोर्टवोर्थमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधिहरु , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका पदाधिकारीहरु, प्रवासी नेपाली मञ्चसँग आवद्ध व्यक्तिहरु लगायत व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो । 
 
 

शेयर गर्नुहोस:

0
Shares