मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जनसम्पर्कभित्र फेरि सुरु भयो बिबाद

जनसम्पर्कभित्र फेरि सुरु भयो बिबाद


न्यूयोर्क (अमेरिका) । विगत डेढ महिनादेखि मत्थर रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र फेरि बिबाद सुरु भएको छ । 
 
संस्थापन पक्षले आउँदो अप्रिल ८ तारिक भर्जिनियामा साधारण सभा बोलाएपछि त्यसप्रति असहमति जनाउँदै जनसम्पर्क समितिका पूर्ब संयोजक तथा महासमिति सदस्य बिष्णु सुवेदीले सोही दिन न्यूयोर्कमा राष्ट्रिय प्रतिनिधि भेलाको घोषणा गरेका छन् । सुवेदीद्वारा जारी विज्ञप्तीमा अधिवेशन आयोजना गर्नुपर्ने समयमा साधारण सभा घोषणा गरेर आफ्नो पदावधि बढाउने षडयन्त्रमा अध्यक्ष आनन्द विष्ट लागेको आरोप लगाइएको छ । 
 
विज्ञप्तीमा संगठनलाई चुस्त, दुरुस्त बनाउनको लागि वृहत छलफल गरी निर्णय गर्न अप्रिल ८, २०१७ का दिन राष्ट्रिय प्रतिनिधि भेला आयोजना गर्ने निर्णय गरिएको उल्लेख छ । सोही दिन सभापति विष्ट पक्षले भर्जिनियामा साधारण सभा आयोजना गरेका छन् I 
 
गत महिना ड्यालसमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको रोहवरमा समितिका दुई पक्षबीच सहमति भएर शीतयुद्धको अन्त्य भएको घोषणा गरिएको थियो । तर डेढ महिना नबित्दै बिवाद सुरु भएको छ । ‘अध्यक्षले सहमतिलाई पुरै उल्लंघन गर्नुभयो, हामी टुलुटुलु हेरेर बस्न सकेनौँ । त्यही भएर प्रतिनिधि भेला आयोजना गर्न वाध्य भएका हौँ,’ संयोजक सुवेदीले भने । 
 
सुवेदीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘संगठनप्रतिको हाम्रो गहिरो चिन्ताका कारण केही समय यता शुरू भएको एकताको वातावरण नेतृत्वको अदूरदर्शिताका कारण फेरि खतरामा पर्ने लक्षण देखिन थालेको छ। आफ्नो कार्यकाल समाप्त हुन केही महिना मात्र बाँकी रहेको अवस्थामा सबैको साथ र सहयोग लिएर च्याप्टर तथा केन्द्रीय अधिवेशनको तयारीमा जुट्नुपर्नेमा विगत दुई वर्षभन्दा बढी समय आपसी मनमुटाव बढाउने र सांगठनिक एकता कमजोर पार्ने मात्र काम गरेको नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउने मनसायले साधारण सभाको आयोजना गरेको छ ।’ 
 
विज्ञप्तीमा उल्लेख छ–‘हाम्रो असहमतिका बाबजूद हुने भनिएको उक्त साधारण सभाले आपसी एकतालाई कमजोर पार्ने ठहर गरी हाम्रो रगत र पसिनाले सिंचित संगठनको यो दुरावस्था टुलुटुलु हेरेर बस्न नसकेर फेब्रुअरी १८, २०१७  मा नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक म विष्णु सुवेदीको संयोजनमा बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाका अग्रज, पदाधिकारी, केन्द्रीय सदस्यहरू, सल्लाहकारहरू, च्याप्टर सभापतिहरू तथा जिम्मेवार साथीहरूको बैठकद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन भित्र देखा परेका समस्याहरू निराकरण गरी संगठनलाई चुस्त, दुरुस्त बनाउनको लागि वृहत छलफल गरी निर्णय गर्न अप्रिल ८, २०१७ का दिन राष्ट्रिय प्रतिनिधि भेला आयोजना गर्ने निर्णय गरिएको छ । 
 
उक्त बैठकले अमेरिकाभर छरिएर रहेका आदिवासी, जनजाति,महिला र मधेशबासीको समुचित प्रतिनिधित्व र सहभागिता रहने गरी संगठन सुदृढ गर्ने निर्णय गर्नुका साथै राष्ट्रिय प्रतिनिधि भेलामा नेपाली काँग्रेसका सभापति, वरिष्ठ नेता, महामन्त्री तथा केन्द्रीय सदस्यहरू र संसारभर विभिन्न राष्ट्रमा रहेका नेपाली जनसम्पर्क समितिका साथीहरूलाई राष्ट्रिय प्रतिनिधि भेलामा सहभागिताको लागि निमन्त्रणा गर्ने निर्णय गरेको छु ।
 
उता जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले भने संस्थाबीच अहिलेको अवस्थामा कुनै विवाद नभएको बताएका छन् । उनले आफु साधारण सभाकै पक्षमा रहेको र राष्ट्रिय भेलाको पक्षमा नरहेको बताए । 
 
हरेक वर्ष हुनुपर्ने साधारण सभा पहिलो वर्ष नेपालमा गएको भुकम्प र दोस्रो बर्ष संस्थाभित्रको विवादले हुन नसकेको अवस्थामा अहिले साधारण सभा गर्न मात्र खोजिएको केसीले बताए । ‘८-९ महिनापछि अधिवेशन गराउँदैमा केही बिग्रनेवाला पनि छैन र हामीले लामो समय बढाएर ठूलो भाग खान खोजेको पनि होइन,’ केसीले भने ।