हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस)— अमेरिकाको ड्यालसमा सुरु भएको एक महिने लामो श्रीस्वस्थानीको ब्रतकथा शुक्रबारदेखि समापन भएको छ । नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (नेपाली मन्दिर) मा सुरु भएको स्वस्थानी ब्रतकथाको समापन समारोहमा विगतका वर्षहरुको जस्तो उपस्थिती भने नभएकोमा बताएका छन् ।
शुक्रबार आयोजित भव्य समापन समारोहमा ड्यालस र वरिपरिका महिला भक्तजनहरुको बाक्लो उपस्थिती थियो । नेपाली मन्दिरले नेपाली पर्व र संस्कृति अनुसारका कार्यहरु सञ्चालन गर्दै आएको छ । दशैं, तिहार लगायतका नेपाली पर्वहरुमा मन्दिरले विशेष कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
विगतका वर्षहरुमा भन्दा मन्दिरले आयोजना गर्ने कार्यक्रमहरुमा भक्तजनको उपस्थिती भने पातलो हुँदै गएको महसुस समुदायले गरेको छ । ‘गत वर्षभन्दा यस पटक स्वस्थानी ब्रतकथाको समापन कार्यक्रममा सहभागिता निकै कम भयो,’ केन्द्रका अध्यक्ष रमेश पोखरेलले भन्नुभयो—‘काम गर्नुपर्ने दिन भएर पनि सहभागिता कम भएको हो कि ?’
गत वर्षको स्वस्थानी ब्रतकथा समापन कार्यक्रममा मन्दिरको पार्किङलट पुरै भरिएको थियो । तर यसपटक भने लगभग खाली भएकोले पनि सहभागिता कम भएको अनुमान गरिएको छ । ‘गत वर्षको स्वस्थानी ब्रतकथा समापनमा आउँदा गाडी पार्किङ गर्ने ठाउँ नपाएर नजिकैको क्रोगर स्टोरमा राखेको थिएँ, तर यसपटक त मन्दिरको मुल गेट अघिनै पो पाएँ,’ ड्यालस/फोर्टफोर्थ निवासी सुशील संग्रौलाले भन्नुभयो ।
‘यसपटक अलि प्रचारप्रसार त्यति नपुगेको हो कि जस्तो लाग्दैछ, त्यही भएर सहभागिता कम भएको हुनुपर्छ,’ समाजसेबी टीका पौडेलको भनाई छ । नेपाली समुदायलाई कुन दिन के कार्यक्रम छ भनेर उचित सूचना नभएकोले पनि सहभागिता कम भएको पौडेलले बताउनुभयो ।
ड्यालस र वरिपरिको क्षेत्रमा झण्डै १५ हजार नेपालीको बसोबास रहेको अनुमान छ । विगतमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु हुँदा कम्तिमा एकहजार पाँचसयदेखि लिएर तीनहजारसम्मको उपस्थितीले पनि नेपालीको बाक्लो बसोबास रहेको पुष्टी हुन्छ । तर मन्दिरले शुक्रबार गरेको कार्यक्रममा मुस्किलले सात/आठ दर्जनको उपस्थितीले आगामी दिनमा कार्यक्रम गर्दा व्यापक प्रचार गर्नुपर्ने आवश्यकता खड्किएको छ।
‘गत वर्षको स्वस्थानी ब्रतकथा हुँदा एक महिनासम्म हरेक दिन सबैलाई जिम्मेवारी दिइएकोले पनि प्रभावकारी थियो,’ मन्दिरका मुख्य पुरोहित शेखर पण्डितले भन्नुभयो। यस पटक भने स्वेच्छाले सहभागी हुने नियम राखिएकोले भक्तजनको प्रभावकारी उपस्थिती नदेखिएको उहाँको अनुमान छ ।
‘यस पटक पनि डेढसय जनाको उपस्थिती त थियो जस्तो लाग्छ मलाई,’ पण्डितले हिमालय खबर संगको कुराकानीमा भन्नुभयो । आगामी वर्षको कार्यक्रम भने व्यापक तयारीसाथ भव्य बनाउने सोच राखिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया