मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा स्वथानी व्रत लिनेहरु बढ्दो

अमेरिकामा स्वथानी व्रत लिनेहरु बढ्दो


ड्यालास (टेक्सस)- युलेस निवासी रवि दाहालको दैनिकी हिजोआज परिवर्तन भएको छ । हरेक दिन बिहानै नुहाउनु, बिहान सात बजे काममा पुग्नु, शाकाहारी भोजन गर्नु, बेलुकी सुत्नुअघि स्वस्थानीको कथा सुन्नु अहिले उनको दैनिकी हो । 
 
युलेसकै अर्जुन दाहाल र उनकी पत्नी सुजाताले पनि हिजोआज माछामासु खान छाडेका छन् । उनीहरु मात्र होइन, स्वस्थानी व्रत शुरु भएपछि अहिले यहाँ माछामासु खान छाड्ने नेपालीको संख्या ह्वात्तै बढेको छ ।
 
माछामासु नियमित खानेहरु स्वस्थानी व्रत लिएका कारण वा नलिएकाहरुले पनि स्वस्थानी व्रत शुरु भएको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (यस वर्ष १२ जनवरी–१० फेब्रुअरी) एक महिना माछामासु छाड्ने गरेका छन् ।
 
अर्बिङ निवासी प्रतिभा पौडेल प्रत्येक बेलुका सुत्नुअघि स्वस्थानीको कथा सुन्ने गरेको बताउँछिन् । ‘हामी दम्पती स्वस्थानी व्रतकथा नसुनी सुत्दैनौं । छोराछोरीलाई पनि सुनाउने गरेका छौं,’ उनले भनिन् । दुई वर्षअघि सपरिवार अमेरिका आएकी उनले नेपालबाट स्वस्थानी व्रतकथा पुस्तक मगाएर सुन्ने गरेको बताइन् ।
 
आफू प्रत्येक दिन माछामासु खाने गरे पनि स्वस्थानी व्रत शुरु भएपछि एक महिनाका लागि खान छाडेको रवि दाहालले बताए । ‘महिना दिनभर नेपालमा जस्तो यहाँ व्रत लिन सकिन्न, त्यसैले अरू नसके पनि हरेक बिहान नुहाउने, शाकाहारी भोजन गर्ने र बेलुका एक अध्याय कथा सुन्ने गरेको छु,’ उनले भने । 
 
ड्यालासस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र र शक्ति केन्द्र ड्यालासले पनि स्वस्थानी व्रतकथा वाचन, भजन कीर्तनलगायका कार्यक्रम आयोजना गरेका छन् । 
 
नेपाली मन्दिरका मुख्य पण्डित डा. शेखर पण्डित हरेक दिन बेलुकी स्वस्थानी परमेश्वरीको व्रतकथा वाचन हुने गरेको बताउँछन् । उनका अनुसार मन्दिरमा नियमित कथावाचन र श्रवणका अतिरिक्त मन्दिरका गुरुहरुद्वारा ड्यालास वरपरका क्षेत्रमा यस अवधिमा स्वस्थानी परमेश्वरीको कथा वाचन पनि हुने गरेको छ । उनले फेब्रुअरी १० मा भजन कीर्तनसहित विशेष धार्मिक कार्यक्रम गरी स्वस्थानी व्रत समापन गरिने जानकारी दिए । 
 
शक्ति केन्द्र ड्यालासका पण्डित तुलसी शर्मा कँडेलले केन्द्रले स्वस्थानी व्रत शुरु भएको पौष शुक्ल पूर्णिमादेखि समापन हुने माघ शुक्ल पूणिमासम्म हरेक बेलुकी कथावाचन र हरेक शनिबार तथा आइतबार बेलुकी तीन घण्टा कथावाचनका साथै भजन कीर्तन तथा नृत्य आयोजना गर्ने गरेको बताए । उनी स्वस्थानी कथा सुन्न युवायुवतीरू पनि आउने गरेका र उनीहरुमा धार्मिक भावना बढ्दै गएको बताउँछन् । ‘नेपालमा भन्दा यहाँ (अमेरिका) आएका युवायुवतीहरुमा बढी धार्मिक भावना देखेको छु । शक्ति केन्द्रमा हरेक धार्मिक पर्वमा ठूलो संख्यामा युवायुवती आउने गरेका छन्’, उनले भने ।
 
वाल्मीकी विद्यापीठ काठमाडौंका सहप्राध्यापक नवराज घिमिरे संसारका जुनसुकै स्थानमा पुगे पनि नेपालीमा रहेको धार्मिक भावना नमरेको बताउँछन् । इतिहास पुराण विषयका ज्ञाता उनले भने, ‘नेपाली बाहेक संसारका अन्य हिन्दुले स्वस्थानी व्रत लिएको पाइन्न । स्वस्थानीको अधिकांश कथामा नेपालकै भूभागको वर्णन छ । त्यसैले पनि नेपाली जहाँ पुगेका छन्, त्यहाँका नेपालीहरूले सके व्रत बस्ने, नसके महिना दिन शाकाहारी भोजन गर्ने वा माछामासु खाए पनि बेलुकी कथा सुन्ने .गरेको मैले पाएको छु ।’ उनी स्वस्थानी नेपालीहरूको मौलिक धार्मिक पर्व भएको दाबी गर्छन् ।  
 
पछिल्लो समयमा सूचना प्रविधिको विकासले गर्दा मोबाइल एप्सबाट स्वस्थानी व्रतकथा सुनेर पूजा गर्ने चलन पनि बढ्दो छ । साँझपख मोबाइलबाटै कथा सुनेर व्रत बस्ने नेपालीहरु बढ्दो छ । 
 
माघ (जनवरी–फेब्रुअरी) महिनामा स्वस्थानीको व्रत बस्ने प्रचलन नेपाली समुदायमा प्रचलित छ । मौलिक नेपाली धार्मिक पर्वको रूपमा रहेको स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमामा शुरु भएर माघ शुक्ल पूर्णिमामा समापन हुने गर्दछ । यो एक महिना घरघरमा व्रत बस्ने र बिहान बेलुका अनुकूल समयमा परिवारका सबै सदस्य बसेर कथा सुन्ने चलन छ । 
 

शेयर गर्नुहोस:

0
Shares