काठमाडौँ । निर्देशक निश्चल बस्नेत, नृत्यमा पनि सफल मानिन्छन् । उनले केहि, आइटम गीतमा नृत्य गरेका छन् । उनले नै आइटम गरेको चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।
अब, दर्शकले उनै निश्चललाई अर्को एक आइटम गीतमा पनि देख्न सक्नेछन् । एक हप्ता अगाडि छायांकन भएको चलचित्र ‘पर्व’को ‘काले दाइ काले’ बोलको गीतको भिडियो नै सार्वजनिक गरिएको छ ।
यो चलचित्र चैत्र २५ गतेबाट रिलिज हुँदैछ । निर्माण पक्षले गीतलाई प्रचारको मुख्य साधन बनाएर बजारमा ल्याएको हो । टिभी फिल्मको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्रको निर्माण भएको हो । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।
सार्वजनिक गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरिरहेका छन् । निकिता पौडेल र सुवास गिरीले मिलेर यो चलचित्र बनाएका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचेका हुन् । सस्पेन्स–थ्रीलर कथामा यो चलचित्र निर्माण गरिने निर्देशक राउतले बताए ।
प्रतिक्रिया