संयुक्त राष्ट्रसङ्घ । इराकको मोसुलबाट हालसम्म एक लाख एकसठ्ठी हजारभन्दा धेरै व्यक्ति आन्तरिक रुपमा विस्थापित भएका छन् । मोसुलमा भइरहेको लडाइँका कारण उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिएका छन् ।
विस्थापितहरुलाई मानवतावादी संस्थाहरुले राहतस्वरुप खाना, पानी र शरीरको सफाइसम्बन्धी सामग्रीहरु वितरण गरेका छन् । विस्थापित भएका झण्डै चार हजार पाँच सय जनालाई आइतबार ती राहत सामग्रीहरु वितरण गरिएको स्टेफनले बताए ।
पछिल्लो हप्तामात्रै पूर्वीमोसुलमा बस्दै आएका झन्डै ५६ हजार एक सय जनालाई राष्ट्रसङ्घका साझेदारहरुले सहयोग सामग्रीहरु बाँडेका थिए ।
इराकको सुरक्षा बलले मोसुलबाट ईस्लामिक स्टेट (आईएस)लाई हटाउनका लागि कडा प्रयास गरिरहेका छन् । मोसुलको पूर्वी क्षेत्र सन् २०१४ को जुनदेखि आईएसको नियन्त्रणमा रहेको छ । मोसुल इराकको राजधानी बगदाददेखि चार सय किलोमिटर टाढा पर्दछ । रासस / सिन्ह्वा






प्रतिक्रिया