मिसिगन (अमेरिका) । निर्वाचन अभियानका पछिल्ला दिनमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् ।
उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यका जनताको मत तान्ने वा क्लिन्टनको भोट काट्ने प्रयासस्वरुप मिसिगन र न्यू मेक्सिकोमा तत्कालै यस्तो गर्ने निधो गरेका हुन् ।
निर्वाचनको तिथिमिति नजिकिँदै जाँदा कार्यकर्ताबीच थप ऊर्जा तथा उत्साह सञ्चारित गर्न हाल चर्चामा रहेको, विपक्षी हिलारी क्लिन्टनको ‘इमेल प्रकरण’लाई ट्रम्पले उछालिरहेका जनाइएको छ ।
साथै, मिसिगन, न्यू मेक्सिकोमालगायत डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने ११ राज्यमा निर्वाचनपूर्वको अन्तिम दिनसम्ममा विज्ञापन तथा प्रचारप्रसार कार्य र सामग्रीमा दुई करोड पचास लाख अमेरिकी डलर खर्च गरिने बताएका छन् ।
उनले गत अगस्ट महिनाको अन्त्यतिरदेखि सेप्टेम्बरको सुरु–सुरुमै मिसिगन राज्यमा मात्र करिब पाँचलाख अमेरिकी डलर विज्ञापनमा खर्च गरिसकेका छन् ।
सन् १९८८ देखि नै मिसिगन राज्यले रिपब्लिकन उम्मेदवारलाई बहुमत दिएर जिताएको छैन । त्यस्तै, सन् २००८ र २०१२ को निर्वाचनमा दुवै पटक वर्तमान राष्ट्रपति बाराक ओबामाले न्यू मेक्सिको राज्यबाट अत्यधिक बहुमत प्राप्त गरेका थिए ।
ट्रम्पले निर्वाचनमा विजयी हुनका लागि ‘राष्ट्रपति पदका लागि मात्र दिन पाइने मत’ (इलेक्टोरल भोट)को उल्लेख्य अङ्श डेमोक्र्याटिक पार्टीको परम्परागत गढबाट नहत्याइ हुँदैन । तर, निर्वाचन पूर्वका सर्वेक्षण र प्रारम्भिक अनुमानले देखाएअनुसार यो कार्य अत्यन्तै कठिन छ । रासस-एपी






प्रतिक्रिया