ड्यालस (टेक्सस)– अमेरिकामा रहेका नेपाली उद्यमी गौरी जोशीले अमेरिकामा कार्यरत नेपाली पत्रकारलाई बार्षिक एकहजार डलरको पुरस्कार दिने घोषणा गरेका छन्।
जोशीले आफ्नो संस्था ‘आमा फाउण्डेसन’ बाट नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत हरेक वर्ष उक्त पुरस्कार दिने घोषणा गरेका हुन्। आइतबार टेक्ससको नेपाली मन्दिरमा नेजाद्वारा आयोजित कार्यक्रममा जोशीले अमेरिकामा नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्न यस्तो पुरस्कार स्थापनामा आफूले सहयोग गर्ने घोषणा गरे।
जोशी अमेरिकामा स्थापित नेपाली सूचना प्रविधि व्यबसायी हुन्। उनले सयौं नेपाली युवाहरुलाई तालिम दिएर रोजगारीमा लागि सहयोग गरेका छन्।
कार्यक्रममा नेजाका अध्यक्ष भोला आचार्यले कार्यसमितिको बैठक मार्फत जोशीद्वारा प्रस्तावित पुरस्कारको बारेमा छलफल गर्ने निर्णयमा पुग्ने बताए। उनले अमेरिकाको मुलधारको पत्रकारितामा नेपालीहरुको प्रवेशको विषयमा समेत चर्चा गरेका थिए।
कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, पूर्ब अध्यक्ष भुवन आचार्य, यति चेम्बर अफ कमर्सका अध्यक्ष बासु भण्डारी, समाजसेवी तथा एएनएका उपाध्यक्ष विजयराज भट्टराई, डालस एभरेष्ट लायन्स क्बलका राधाकृष्ण काफ्ले, एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछाने, समाजसेवी प्रकाश गाैतम, नेजाका पूर्ब कार्यसमिति सदस्य सुरेशचन्द्र पोखरेल, नेजा कार्यसमिति सदस्य लेखनाथ गौतम लगायतले नेपाली पत्रकारहरुबाट समुदायले राखेको अपेक्षा, भावी दिनमा खेल्नुपर्ने भूमिकाका विषयमा सुझाव दिएका थिए।
प्रतिक्रिया