मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाल–भारत र चीनबीच त्रिदेशीय साझेदारीमा सहमति

नेपाल–भारत र चीनबीच त्रिदेशीय साझेदारीमा सहमति


काठमाडौँ । ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता गरी त्रिदेशीय  साझेदारीमा सहमति जनाएका छन् । 
 
ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति तीन देशका कार्यकारी प्रमुखबीच भएको सो भेटमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा सकारात्मक रहेको जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
 
पूर्वनिर्धारित कार्यतालिकाबिना नै तीन देशका कार्यकारी प्रमुखबीच आपसी हित र त्रिपक्षीय चासोबारे अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सिबीच २० मिनेट ‘वान टु वान’ वार्तापछि उनीहरुबीच भेटबार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
 
भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराएको थियो । 
 
“नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ”, प्रधानमन्त्री दाहालले भने, “हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौँ,  हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौँ । मैले भेटमा रणनीतिक साझेदारीबारेको विषय महत्व दिएर राखेँ, भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।”
 
भेटमा प्रधानमन्त्री दाहालले गौतम बुद्ध, पशुपतिनाथ र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए । 
 
प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको छ भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए ।
 
भेटका अवसरमा चिनियाँ राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनाले निर्णायक अर्थ राख्दैन भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताए । सिले चीन र भारतबीचको सम्बन्ध समदूरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गरे । 
 
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सिको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताए । रासस

शेयर गर्नुहोस:

0
Shares