मोरङ । आफ्नै खेतमा आफैँले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् ।
प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । आफैँ किसान, आफैँ श्रमिक र आफैँ साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार ।
उनलाई अहिले पैसा समाउन फुर्सद छैन । रहरले कोठेबारीमा ५/६ वटा उखुका बोट लगाएका पौडेलले अहिले सबै धानखेती नगरेर उखुको व्यावसायिक खेती सुरु गरेका छन् । कृषि मजदुर नपाएर उखु खेतीतर्फ लागेका पौडेलको जिन्दगी नै उखुमय बनेको छ ।
सुरुका दुई वर्ष उनले खेतबाट उखु काटेर लाँक्रा–लाँक्रा डोकामा राखेर बेचे । कहिले गाउँमा कराइकराइ बेचे । राम्रै आम्दानी भए पनि उनले घरपरिवारलाई समय दिननसकेपछि उखु ठेक्कामा दिए । ठेक्काबाट पनि आम्दानी राम्रो भयो, तर साथीभाइ इष्टमित्र राख्न नपाइने । आफैँलाई खान मन लाग्दा पनि ठेकदारलाई साउती गर्नुपर्ने ।
झन्डै दुई वर्षयता उहाँ पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरीमा उखु पेलेर जुस बेचिरहेका छन् । उनले दैनिक झन्डै तीन हजारको जुस बेच्छन् । ‘अहिले एक बिघामा उखु लगाएको छु । आफ्नो उत्पादनले वर्षभरि जुस बेच्न नपुग्ने भएपछि अन्यत्रबाट उखु ल्याउनुपर्ने भएको छ’–पौडेलले भने ।
बजारमा उखुको माग उच्च भए पनि आपुर्ति गर्न नसकेपछि अहिले उनीमात्र होइन, उनका छिमेकीहरू पनि धान बाली मास्दै उखु लगाउन थालेका छन् । रासस
प्रतिक्रिया