मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सार्कलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री डा महतको जोड

सार्कलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री डा महतको जोड


न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । 
 
संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठकलाई बुधबार यहाँ सम्बोधन गर्दै उनले पोखरामा केही समय पहिले सम्पन्न सार्कको परराष्ट्र मन्त्रिस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
 
सार्क क्षेत्रमा रहेको गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन तथा आपसी हित र चासोका सम्बन्धमा समान धारणा बनाएर जानुपर्नेमा उनको जोड थियो । यस्तै, अनौपचारिक बैठकमा सार्कको आगामी १९औँ शिखर सम्मेलनको बारेमा समेत छलफल भएको थियो । 
 
प्रतिनिधि परराष्ट्रमन्त्रीहरूको अनौपचारिक छलफलको अध्यक्षता नेपालका परराष्ट्रमन्त्रीले गर्नुभयो । पाकिस्तानमा हुने सार्क सम्मेलनको तयारीका बारेमा समेत अनौपचारिक छलफल भएको थियो । बैठकबारे जानकारी दिँदै मन्त्री डा महतले सार्कमा रहेका समस्या के हुन्, के के गर्न बाँकी छ भन्ने बारेमा गहन छलफल भएको जानकारी दिए । 
 
यस्तै, बैठकमा सार्क क्षेत्रमा हालसम्म भएका प्रगति तथा अन्य विषयमा समेत बहुपक्षीय विचार–विमर्श तथा समस्या समाधानको विषयमा विचार आदानप्रदान भएको उनले बताए । साथै, आगामी सार्क सम्मेलनको तयारीका बारेमा सार्कका महासचिव अर्जुनबहादुर थापाले  हालसम्मका प्रगति र सार्क सम्मेलनमा उठाउने विषयमा बैठकलाई जानकारी गराएका थिए । 
 
सार्कमार्फत यो क्षेत्रभित्रका जनताको उन्नति र प्रगतिलाई कसरी अगाडि बढाउन सकिन्छ र व्यापार, सेवा, सडक, रेल, विद्युत्प्रसारण सञ्जाल तथा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयलाई प्रमुख प्रथमिकतामा राखिएको उनको कथन थियो । 
 
बैठकपछि कुरा गर्दै सार्कका महासचिव थापाले सार्कको मञ्चमार्फत् आपसी हित र चासोलाई  सम्बोधन गर्दै जाने विषयमा महत्वपूर्ण छलफल भएको बताए । बैठकमा पाकिस्तानका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले सार्कको आगामी शिखर सम्मेलनको बारेमा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । रासस