मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासका लागि शान्ति र स्थिरता आवश्यक : प्रधानमन्त्री दाहाल

विकासका लागि शान्ति र स्थिरता आवश्यक : प्रधानमन्त्री दाहाल


नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुवै मुलुकले लाभ लिनुपर्ने बताएका छन् । 
 
भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री दाहालले भने– ‘विकासका लागि शान्ति र राजनीतिक स्थिरता आवश्यक छ ।’
 
प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रतिनिधिमण्डलबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुलाकी सडक, विद्युत् प्रसारण लाइन सम्झौता रेलवे सेवा, जलविद्युत् परियोजना सम्बन्धमा भएका सम्झौता कार्यान्वयनमा मह¤वपूर्ण छलफल भएको बताए ।
 
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुवै मुलुकबीच हुने उच्चस्तरमा हुने राजनीतिक भ्रमणले सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै भारतका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने अपेक्षा पनि गरे । 
 
भारतको आर्थिक विकासबाट नेपालले प्रेरणा लिने बताउँदै उनले आर्थिक समृद्धिका लागि व्यापार र पारवहन सम्पर्क सञ्जाल आवश्यक रहेकामा जोड दिए । 
 
भारतसँग तीनबुँदे समझदारी
भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने राजकीय भ्रमणको क्रममा भएको तीन बुँदे समझदारीपत्रमा उक्त परामर्श सेवा उपलब्ध गराउने सहमति भएको हो । 
 
यस्तै, भूकम्पपछिको पुनर्निर्माणका लागि पहिलो संशोधनीय डलर ऋण सुविधा उपलब्ध गराउने विषयमा अर्को समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि ७५ करोड अमेरिकी डलरको ऋण सुविधा उपलब्ध गराउने नयाँ सम्झौता पनि भएको छ । रासस