नयाँदिल्ली । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुगेका प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका छन् ।
शुक्रबारै दुईपक्षबीच आपसी सम्बन्ध विस्तार र दुई पक्षीय हितका बारेमा वार्ता र सहमतिपत्रमा हस्ताक्षर तथा संयुक्त पत्रकार सम्मेलन हुने बताइएको छ । प्रधानमन्त्री दाहाल शुक्रबार भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्रीसँग विदेशमन्त्री स्वराजको भेट
यसैबीच, भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय राष्ट्रपति भवनमा शुक्रबार भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसमेत सहभागी थिए । तस्बिर : हरि लामिछाने
प्रतिक्रिया