सेन्टलुईस, मिजौरी (अमेरिका)- अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले नेपाली राहदानी बनाउन लाग्ने समय कम गर्न दुतावासले मोबाइल उपकरण प्रयोगमा ल्याएको जानकारी दिएका छन् । यो मेशिनको प्रयोगले अब नेपाली राहदानी पहिलेभन्दा छिटो र छरितो रूपमा नेपालीले अमेरिकामा प्राप्त गर्न सक्नेछन् ।
मिजौरीको सेन्टलुईस शहरमा भईरहेको दुइ नेपाली संस्थाहरू एन्मा र नासाको संयुक्त अधिवेशनमा राजदुत कार्कीले यस्तो मोवाइल उपकरण प्रयोगमा ल्याईएको जानकारी दिएका हुन् । 'हामीसँग नेपाली राहदानी वनाउन उपयोग गर्ने चार वटा मोबाइल उपकरण छन्,' राजदुत कार्की भने-'यो सम्मेलन अवधिभर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनका लागि फोटो खिच्ने, फारम भर्ने देखि सम्पुर्ण काम यही हुन्छ र यो विवरण सिधै काठमाडौ पुग्छ ।'
अबदेखि पासपोर्टका लागि भरिएको फारम कुरियरवाट नेपाल पठाउनु नपर्ने भएको प्राप्त गर्न दुई तिहाई समय वचत हुने समेत राजदुतले जानकारी दिए । आन्मा र नासाको अनुरोधमा दुतवासले प्रदान गर्ने सम्पुर्ण सुविधा पनि सम्मेलन स्थलवाटै गर्ने व्यवस्था गरेको थियो ।
'हामीले पहिलो यो सम्मेलन अवधि भरका लागि अधिकृत वारेसनामा, नेपाल भिसा, पासपोर्ट लगायतका काम यहीवाट गर्दैछौं,' कार्कीले भने-'यस्तो भएको यो पहिलो पटक हो ।'
कार्कीले आफु राजदुत भएर आएपछि भएका उपलव्धिको बारेमा पनि उल्लेख गरेका थिए । नेपालमा महाभुकम्प गए लगत्तै राजदुतका रुपमा अमेरिका आएका कार्कीले उक्त विपत्तिका समयमा नेपाली समुदायले गरेको सहयोगको पनि प्रशंसा गरे ।
सहयोग कति प्राप्त भयो र कहाँ गयो भन्ने बारेमा सबै विवरणा दुतावास वेवसाइटमा उल्लेख भएको उनले बताए । अमेरिका वस्ने नेपालीलाई टीपीएस दिनु पर्ने वारेमा राष्ट्रपति बाराक ओबामासँग अनुरोध गरेको र यसलाई औपचारिकता दिन लिखित रुपमा पनि अमेरिकी सरकारसँग आफुले आग्रह गरेको जानकारी समेत उनले दिए ।
यस्तै ६० भन्दा वढी नेपाली उत्पादनले अमेरिकी बजारमा भन्सार मुक्त प्रवेश पाउन सक्नु पनि आफ्नो कार्यकालको उपलव्धि भएको उनले चर्चा गरेका थिए । वासिंटन स्थित नेपाली दुतावासको मुख्य कार्य यहाँ वस्ने नेपाली समुदायसँग सहकार्य भएको वताउँदै राजदुत कार्कीले भने-'हामी देशको उन्नती, विकास चाहने नेपालीसंग सधै हातोमालो गर्न चाहन्छौं । यहाँ बस्ने तपाई नेपालीहरु देशको स्थायी राजदुत हो, म त अस्थायी हुँ,' उनले भने ।
अहिले वासिंटन बृत्तमा रहेका विभिन्न निकाय र पक्षसँग नेपालको सम्वन्ध विस्तार भईरहेको उनले जानकारी दिए । प्रवासमा वस्ने सवै नेपालीलाई मिलेर अघि वढ्न पनि राजदुत कार्कीले सुझाव दिए । 'हामी अरुलाई राम्रो गर्छौ तर, आफुआफुमा राम्रो गर्न सकेका छैनौं,' राजदुत कार्कीले भने-'एउटा नेपालीले अर्कोलाई नकरात्मक दृष्टिले हेर्ने प्रवृत्तिमा सुधार हुनु पर्यो ।'
आफु नेपाली समुदायसंग संस्थासँग मिलेर काम गर्न सधै तयार रहेको उनले बताए । दुई दिनसम्म चलेको संयुक्त सम्मेलनले नयाँ कार्यसमितिपनि चयन गर्ने कार्यक्रम छ ।
उद्घाटन कार्यक्रममा नासाका अध्यक्ष विमल नेपाल लगायतले समेत मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया