अमेरिकाको न्युजर्सीमा आयोजना गरिएको गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को नवौँ क्षेत्रीय सम्मेलनमा एनआरएन भिजन २०२० एण्ड विओण्डमा छलफल केन्द्रित गर्ने मुख्य उद्देश्य थियो । यो आफैँमा निकै महत्त्वपूर्ण विषय थियो तर, यस अनुसार गम्भीर छलफल भने हुन सकेन । थुप्रै व्यवस्थापन कमजोरी देखियो र कयौँ सहभागीले छलफलमा समेत वसेनन् । व्यवस्थापन कमजोरीको प्रभाव छलफलमा पनि परेको थियो ।
सम्मेलनमा अर्थशास्त्री सुदिप शाक्यले भिजन २०२० बारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । अगामी दिनमा उक्त संस्था कार्यकारी निर्देशकले हाक्नु पर्ने र एनआरएनका पदाधिकारीले बोर्ड सदस्य जस्तो भूमिका खोल्न उपयुक्त हुने उक्त अवधारणा पत्रमा उल्लेख छ । सम्मेलन पछि जारी ११ बुदें घोषणामा आर्थिक तथा सामाजिक विकासको साझेदार बनाउन भिजन २०२० अवधारणा प्रस्तुत गरिएको र यसबारेमा भएको छलफलमा उठेका सुझावलाई समेट्दै यो अवधारणालाई अगाडी बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसिसिलाइ जिम्मा दिइएको उल्लेख छ ।
गैर आवासीय नागरिकता, नेपालमा लगानी जस्ता विषयमा सम्मेलनमा छलफल भएको थियो । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा लगानी गर्न पुन सुझाव दिएका थिए । वहुराष्ट्रिय उद्यमी विनोद चौधरीले वाईवाईलाई अमेरिकी स्कट एक्स्चेञ्जमा सुचिकृत गर्ने घोषणा पुन दोहोर्याएका थिए । चौधरीले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकार सहितको नागरिकता समेत दिनु पर्ने विषय मुख्य रूपमा उठाएका थिए ।
सम्मेलन पछि जारी ११ बुदें घोषणमा एनआरएनहरुले देशको समृद्धिका लागि राजनीतिक स्थिरता दिनु पर्ने माग गरेका छन् । घोषणाको बुँदा १ मा भनिएको छ देशको समृद्धि हाम्रो चाहना हो । राजनीतिक स्थिरता त्यसको पहिलो आधार हो । त्यसैले यो सम्मेलन सबै पक्षको सहमतिमा संविधान कार्यान्वयन गर्दै देशलार्य स्थायित्व प्रदान गर्न सम्पूर्ण दलहरुलाई आग्रह गर्दछ । साथै संविधान कार्यान्वयनको क्रममा बन्ने नागरिकता लगायतका ऐनमा गैर आवासीय नेपालीको भावना र मर्म समेट्न पनि यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ भन्ने उल्लेख छ ।
प्रतिक्रिया