मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

स्व.गणेश राज शर्मा मेरो स्मृतीमा

स्व.गणेश राज शर्मा मेरो स्मृतीमा


गणेश राज शर्मा नेपालका प्रशिद्ध वकिल हुनुहुन्छ भन्ने कुरा मलाई ०३५/३६ सालमा राजबिराजबाट काठमाडांै आएर ल क्याम्पसमा स्नातक तहमा पढ्दादेखि नै थाहा थियो । मैले ०३८ सालदेखि नै न्यायप्रतीक नामक त्रैमासिक कानुनी लेख तथा विचार प्रधान पत्रिकाको सम्पादन एवं प्रकाशनको काम पनि सम्हालेको थिएँ । यस्मा विशेष सल्लाहकार वरिष्ठ अधिवक्ता हरिहर दाहाल दाइ हुनुहुन्थ्यो । अनि मुकुन्द रेग्मी, दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की लगायतका अन्य प्रजातान्त्रीक खेमा अर्थात कांग्रेस समर्थक वरिष्ठ वकिलहरु सल्लाहकार एवं सहयोगी हुनुहुन्थ्यो । तर त्यस्मा गणेशराज शर्माको नाम परेजस्तो मलाई लाग्दैन । ऊहाको नाम नपर्नुमा कांग्रेसको क्रान्तिकारी धारका व्यक्तिहरुबाट गणेशराज शर्मालाई राजा समर्थक भन्ने आरोप लाग्ने गरेको मैले सुनेको थिएँ । ऊहाँ विपीको मेलमिलापको अवधारणाअनुसार राजा र कांग्रेसको घाँटी राष्ट्रियताको सवालमा एउटै अचानोमा छ भन्ने मान्यता राख्दथे जस्तो मलाई लाग्दथ्यो ।
 
पंचायती व्यवस्था अन्र्तगत राजाको शासनकाल रहेको हुँदा प्रगतिशील अर्थात् कम्युनिष्ट र कांग्रेसहरुको राजनीति गर्ने थलो भनेको कलेज र स्कुलहरु नै थिए । यो न्यायप्रतीक पत्रिका पनि प्रगतिशीलहरुले पैरवी नामक कानुन पत्रिका निकाल्न थालेको कारणले निस्कन थालेको जस्तो मैले महसुस गरेको थिएँ । पैरवीको सल्लाहकारमा सुवास नेम्वाङ, भरतराज उप्रेती, सिन्धुनाथ प्याकुरेल लगायतका कानुन व्यवसायीहरु हुनुहुन्थ्यो । त्यसैले स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, मानवाधिकारका विषयमा सरकारका तर्फबाट कुनै गलत कार्य भएमा त्यस्को न्यायिक लेख वा सम्पादकीयबाट आलोचना गर्ने माध्यम यी पत्रिकाहरु भएका थिए भन्नु अतिसयोक्ती हँुदैन ।
 
म सम्पादक भएको नाताले लेख रचना माग्न न्यायाधिश, अदालतमा कार्यरत सहयोगी, वकिल, प्राध्यापक, र अन्य लेखकहरु समक्ष जाने अनि प्रेसको काम समेत गर्ने काम मेरो जिम्मामा रहन्थ्यो । म कलेजमा पढ्दादेखी नै हरिहर दाहाल दाइ समेतको अभिनव ल च्याम्बरमा काम गर्ने हँुदा सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा मैले गणेशराज दाइलाई बारमा भेटेर लेख माग्ने गर्दथें । सन १९८३ सालमा मैले अधिवक्ताको लाईसेन्स लिएपछि सर्वोच्च अदालत बारमा सदस्यता लिएँ । ऋनि बारमा जाने गर्दथें । दिउसो १२ देखि १ बजेको चियाको समयमा प्राय वकिलहरु बारको कार्यकक्षमा उपस्थित हुन्थें । गणेशराज दाइ बारमा उपस्थित हुँदाको अवस्था ज्यादै गहकिलो रहन्थ्यो । किनकि ऊहाँको पहिरनमा सेतो सर्ट, कालो कोट अनि पाइन्ट हुन्थ्यो । एउटा वकिलको जस्तो औपचारिक पोशाकमा । गणेशराज दाइको नजिक वा वरिपरी बस्ने चाहना रहन्थ्यो । किनकि ऊहाँले बोल्ने विषयवस्तु देशको राजनीति, न्यायीक, वा अन्य गम्भीर बिषयमा केन्द्रीन्त रहन्थे । ऊहाँले बोल्न थालेको विषयवस्तुमा अरुले तर्कद्वारा त्यसो होइन भन्ने ठाऊँ पाउदैनथे । किनकि गणेशराज दाइसँग आफनो तर्कलाई पुष्टि गर्ने आधार र प्रमाण हुन्थे । मेरो अनुभवमा गणेशराज दाइ, वाशुदेव ढुंगाना, शम्भुप्रसाद ज्ञवाली, मोतीकाजी स्थापित लगायतका वकिलहरुका विचारले युवा वकिलहरु रमाऊँदथे ।
 
मैले सर्वोच्च अदालत बारको सदस्यता लिएको केही समयपछि सर्वोच्च अदालत बार कार्य समितिको चुनाव आयो । म पनि सदस्यमा ऊठें । दमनदाइ अध्यक्ष र वैद्यनाथ उपाध्याय सचिव रहनु भएको कार्यसमितिमा म पनि सदस्य पदमा निर्वाचित भएँ । सबभन्दा सानो सदस्य भएको हुँदा मेरो काम बारले ग्राहक बनेका नेपाली र अंग्रेजी पत्रिकाहरु पसलबाट साँझ घरमा लगि भोलीपल्ट बिहानै बारमा गएर राख्नु पर्ने भयो । बारमा मेरो सकृयता बढेकाले मैले गणेशराज दाइसँग बोलचाल गर्ने अवसर पाएँ । ऊहाँले सधैं भन्नुहुन्थ्यो तपाईहरुले अध्ययन गर्ने बानी बसाल्नु पर्दछ । अरुले भनेको आधारमा होईन अध्ययन र औचित्यपुर्ण तर्कको आधारमा आफना भनाई राख्नु पर्दछ । तपाईहरुले जेण्टल ईडियट जस्तो भएर बोल्न र काम गर्न हँुदैन आदि ।
 
जेन्टल ईडियट भन्ने शब्द धेरैपटक म लगायतका कांग्रेस, कम्युनिष्ट, र अन्य पार्टीका समर्थकहरुलाई भनेको मैले सुनेको छु । बिपी कोइरालाको साडुभाइ, विपीले समेत ऊहाँको विद्धतामा विस्वास गरेका, अनि विपीको चिन्तनलाई गहिराईमा पुगेर बुझ्ने व्यक्ति भएता पनि चर्कोधारका प्राय ने.वि.संघका पृष्ठभूमिबाट आएका कांग्रेसले गणेश राज दाइलाई दरबारको मान्छे भन्ने संज्ञा दिन्थे । त्यसैले धेरै कांग्रेस समर्थकहरु ऊहाँको गैरीधारा स्थित निवाशमा जादैनथे उहाँका विचार सुन्नका लागि । म पनि त्यही समूहमा हिँड्ने व्यक्ति भएकोले ऊहाँको नजरमा जेन्टल ईडियट कै खेमामा पर्दथे जस्तो लाग्छ । म सर्वोच्च अदालत बारको चुनावमा प्राय उठ्ने गर्दथे । चुनावमा प्राय प्रजातान्त्रिक र प्रगतिशील पक्षका उम्मेदवार रहन्थे । ती चुनावहरुमा मैले ऊहाँसंग भोट माग्दथें । र विश्वास पनि लाग्थ्यो म सचिव पदमा विजय हुँदा भोट मलाई नै दिनुभो होला भन्ने । तर ऊहाँले तपार्इंलाई भोट दिएँ है भनेर कहिले भन्नु भएन । न्यायप्रतिक पत्रिकामा ऊहाँले न्यायको अखण्ड दियो बलीरहोस् बाली रहौं भन्ने लेख दिनु भएको थियो प्रकाशनका लागि । यहि लेख पछाडी केही परिमार्जीत रुपमा अन्य प्रकाशनलाई पनि ऊहाँले दिए जस्तो लाग्छ । मेरो स्मरणमा यो लेखमा ऊहाँले सर्वोच्च अदालतमा मुद्दाको बहस गर्दाखेरी एकजना विदेशी वकिललाई पनि लानु भएको रहेछ । विदेशी वकिलले भाषा नबुझे पनि बाहिर आएर उसले वकिलले के भने, न्यायाधीशले के प्रश्न गरे र निर्णय के भयो ? भनि गणेशराज दाइलाई भनेछन । त्यसैले लेखमा बहसमा प्रयोग गरिएको भाषा नबुझे पनि न्यायको भाषा सबै देशमा एउटै हुन्छ संगीतको भाषा झै भन्ने निचोड थियो जस्तो लाग्छ ।
 
अर्को नर्बिसने क्षण भनेको दशरथ रंगशालमा १२ मार्च १९८८ मा नेपाल र बंगलादेशका बीचमा भएको फुटबल खेलमा आँधिको कारणले भाग्दा खेरी ९३ जनाको मृत्यु र १०० जनाभन्दा बढी घाईते भएको त्रासदिको विषयलाई लिएर नेपाल बारको केन्द्रीय कार्य समितिले जाहेरी दर्खास्त दिने प्रसंग हो । यसबेला केशरबहादुर विष्ट शिक्षा तथा खेलकुद मन्त्री थिए । नेपाल बारको अध्यक्ष लक्ष्मण अर्याल, उपाध्यक्ष मोकहकृष्ण खरेल, सचिव सुवास नेम्वाङ, अनि सदस्यहरुमा कृष्णप्रसाद पन्त, कृष्णप्रसाद भण्डारी, म, रेवन्त कुवँर आदि थियौं । बारले संस्थागत रुपबाट जाहेरी दर्खास्त दिएमा सबै बारमा सदस्यहरु ऊजुरकर्ता अर्थात् जाहेरवाला मानिन्छन् । त्यसैले आरोपित शिक्षा मन्त्री, रंगशालामा कार्यरत कर्मचारी लगायतका अन्य प्रतिवादीले ऊनीहरुको प्रतिरक्षा गर्ने वकिल पाऊदैनन । किनकि जाहेरवाला वकिल बारको सदस्य भएका वकिलहरुले प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्न मिल्दैन । बरु यस्को ठाऊँमा वकिलले एक्लै वा समूह बनाएर जाहेरी दिनु पर्दछ भन्ने धारणा गणेश राजदाइको थियो । ऊहाँको एक्लो धारणा नै चर्चाको विषय बनेको थियो । यद्यपि ऊहाँ बारको कार्य समितिमा हुनुहुन्थ्यो ।
 
बारको कार्य समितिको वैठकमा यही एजेण्डामा निर्णय गर्ने बैठक बोलाईयो । बैठक बस्नु भन्दा अगाडी नै क कस्ले समर्थन र क कस्ले बिरोध गर्छन भन्ने स्पष्ट जस्तै थियो । किनकि काग्रेश समर्थक र कम्युनिष्ठ सर्मथकले जाहेरी दिने पक्षमा र त्यो देखी बाहेककाले विपक्षमा आफनो मत जाहेर गर्नेछन । तर मेरो सोचाईमा गणेश राज दाइले सार्नु भएको तर्क न्यायोचित रहयो । किनकि ऊहाँले मन्ने गरेको वाक्य तपाईहरु जेन्टल ईडियट हो । विद्धान वकिल भएर पनि पार्टीले जे धारणा बनायो त्यसैलाई समर्थन गर्नुहुन्छ, भन्ने भनाईले मलाई सोच्न विवस गरायोे ।
बैठकको एजेज्डा नेपाल बारले जोहेरी दिने कि नदिने ? भन्ने मात्रै रहेको हुँदा सुवास दाइले प्रस्ताव पढेर सुनाऊनु भो । अनि ककस्को जाहेरी दिनेमा समर्थन छ भनि सोध्ने क्रममा वरिष्ठ अधिवक्ता स्व. कृष्णप्रसाद पन्तले आफनो विमतको राय दिनु भो । अनि मैले पनि विमती मै राय व्यक्त गरें । सुवास दाइले फेरी दोहो¥याएर मलाई सोध्नुभो होइन विनोद भाइको साच्चै विमती कै राय हो र ? मैले हो दाइ भन्दै आफनो विमतीको राय बारको माईन्युटमा लेखें उहाँहरुले सोचे विपरित । अनि मैले गणेशराज दाइलाई भने म जेन्टल ईडियट होईन है गणेश राज दाइ । ऊहाँले भन्नु भो यो कानुनी प्रश्न हो राजनितीक प्रश्न होइन । तपाईले बुमmेर विमती जनाऊनु भएको भए चाहिँ जेटल ईडियट होइन भन्नु पर्ला ।
 
म अप्रिल ५, १९९८ आईपुगे अमेरीको न्युर्योकमा । यो दिन संयोगले आफैं जन्मिएको दिन परेको थियो । रहँदा बस्दा मैले यही देशलाई कर्मभूमि बनाऊन पुगें । अक्टोबर २००३ मा गणेशराज दाइ न्युर्योक आऊनु हुँदा खगेन्द्र जिसीजीले ऊहाँलाई दिवाभोजमा निम्ता दिनुभएको थियो । खगेन्द्रजीकोले त्यो दिवाभोजमा म र देवेन्द्र प्रधानजी समेतका वकिलहरुलाई पनि सहभागी बनाऊनु भो किनकि हामीहरु पनि क्षेत्री एण्ड एसोसियटसमा नै काम गर्दथ्यौ । हामीहरु न्युर्योकको सेन्टरल पार्कमा रहेको एउटा राम्रो भोजनालयमा खाना खान गएका थियौ ।त्यसबेला ऊहाले आफनो स्वास्थको कारणले साहाकारी भोजन बारेको किताव पढीरहेको र त्यही अनुकुल आफनो दिनचर्या बित्ने गरेको कुरा बताऊदै उक्त किताव पढने सल्लाह दिनु भो । त्यस्का अतिरिक्त ऊहाले केही अन्य समसामायिक बिषयमा कुरा गर्दै अमेरीका प्रमुख विश्वविद्यालय कोलम्बिया, यल, हारर्डभर, लगायतमा घुमेको स्मरण पनि गराऊनु भो । हामीले खगेन्द्रजीको ल अफिसबाट त्यो ठाऊमा जादा लिएको टयाक्सीको चालक, जो भारतीय वा वंगाली थियो, ले खगेन्द्रजीलाई चिनेर नमस्कार गरयो । अनि भोजनालयमा पुगेपछि अर्डर लिन आऊने वेटर पनि उतैतिरको व्यक्ति परेछ । ऊस्ले पनि खगेन्द्रजीलाई नमस्कार गर्दै अर्डर लियो । गणेशराजदाइले खुसी हुदै भन्नु भो टयाक्सी चालक देखि वेटरसम्मले तपाई बाटोमा हिँड्दादेखि भोजनालयसम्म नै न्युर्योकमा वकिलको रुपमा चिनेर आदर गरेको देख्दा ज्यादै खुसी लाग्यो भन्नु भो । यो बसाईमा मैले ऊहालाई बढी नजिकबाट चिन्ने मौका पाए कुराकानीको क्रममा ।
 
२००७ को दशैताका म नेपाल गए ।योे भ्रमणको बेला मैले आफनो गिति एल्वम ‘मेरी प्रिय’ को बिमोचन गर्ने समेत निधो गरेको थिएँ । यो भ्रमणको बेलामा म गणेशराज दाइको निवासमा गएँ । किनकि ऊहाँले नेपाल आऊदा निस्कनु है भन्नु भएको थियो । म दिऊसो ३ बजेको समयतिर त्यहा पुगे । त्यसबेलासम्म निकै जना भेला भैसक्नु भएको थियो । गणेशराजदाइले मलाई अपरिचितहरु संग परिचय गराईदिनु भो । र ऊहाले न्युर्योकमा रहदा भेटन पाएको मौका र आथित्यताको मिठो स्मरण पनि सबैलाई सुनाऊनु भो । मलाई त्यहा एकजना सम्पादक मित्रलाई पनि ऊहाले चिनाई दिनु भो । र अमेरीकामा रहेका नेपालीहरुले भोग्नु परेको कानुनी समस्याको बारेमा विनोदजीहरुबाट जानकारी लिई पत्रिकामा छाप्नुहोला भन्नुभो । केही क्षेणमा त्यहा सबैलाई पुरी, तरकारी, र चिया आयो । म लगायतका उपस्थित सबैले ऊहाको बिचार सुन्यौ । यो त्यहाको नियमीत प्रकृया नै रहेछ । म पुरा समयसम्म चाहेर पनि अरुसंगको भेटघाटको व्यस्थताले गर्दा बस्न सकिन र विदा मागेर निस्कीए खल्लोमान्दै ।
 
२०१३ सालमा मैले एउटा टेलीफोनकल पाए मेरो ल अफिसमा अमेरीकाको क्यालीफोर्नियाबाट जस्तो लाग्छ । फोनकर्ताले मलाई आफु पत्रिकाको सम्पादक भएको भनेर परिचय गराऊनु भो । तर मैले ऊहालाई ठम्याऊन सकिन । ऊहाले हाम्रो पुर्वपरिचयलाई जोडने क्रममा गणेशराजदाइको घरमा चिनेको प्रसंग ऊल्लेख गर्दै आफु त्यहा नियमित रुपबाट जाने गरेको व्यक्ति भएको जानकारी पनि दिनुभो । मैले ऊहालाई गणेशराज दाइको के छ खवर भनेर सोधे । मेरो प्रतिउत्तरमा ऊहाले आस्चर्य मान्दै भन्नु भो ए तपाईलाई थाहा छैन र । दाइलाई अल्जाईमर भएर ऊहाको स्मरण शक्ति नै गयो । आदि । अनि ऊहाले मलाई भन्नु भो दाइले कहिलेकाही अमेरीका लगायत विश्वका अन्य देशमा रहेको नेपाली र ऊनीहरुको सन्तानहरुको नेपालमा के कस्तो कानुनी सम्वन्ध रहन्छ । त्यो एउटा सोचिनुपर्ने बिषय छ । त्यसैले विनोदजीहरुसंग यस बारेमा लेख मागेर तपाईले छाप्नुहोल भन्नु हुन्थ्यो । यसो समय मिलाएर एउटा लेख लेख्नु होला नि भन्नुभो । मैले ऊहालाई हुन्छ नि भनेर फोन राखिदिए । तर गणेशराज दाइको स्मरण शक्ति गयो भन्ने कुरामा विश्वास लागेन । 
 
किनकि राष्ट्र्यि एवं अन्तराष्ट्रिय कानुन र राजनितिको बारेमा गहिरो अध्ययन र स्मरण भएका अनि यी बिषयमा आधिकारीक धारणा दिन सक्ने व्यक्तिको स्मरण शक्ति हराऊने भन्ने कुरा मेरो लागि अकल्पनीय थिायो । त्यसैले नेपालमा रहेका वकिल साथीहरु रामकृमार श्रेष्ठ र रामकृष्ण निरालालाई फोनमा सोधे । ऊनीहरुले पनि हो भन्ने प्रसंग दोहोरयाए । तर मन मान्न राजी थिएन । २०१४ सालमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीजी न्युर्योक आऊदा मैले आफनो निवाशमा रात्रीभोजको निम्ता दिएको थिए । भण्डारीजीले अन्य सहभागी वकिल मित्रहरु दुर्गा भुर्तेल, बावुराम देवकोटा र मसंग अरु कुराका अतिरिक्त गणेशराजदाइको बारेमा पनि चर्चा गनुभो र सर्वोच्च अदालत बारले निकालेको अनुभव र अनुभुती विशेषांक उपहार स्वरुप दिनु भो । त्यो किताव पढी सकेपछि भने गणेशराजदाइको बारेमा सुनेको कुरा यर्थाथ रहेछ भन्ने लाग्यो । अनि अक्टोबर २०१५ मा ऊहाको देहवसान भएको कुरा जानकारीमा आयो ।
 
गणेशराज शर्मालाई गुमाऊनु पर्दा नेपालका कानुन व्यवसायीहरुले एऊटा छाहारी दिने रुख गुमाएका छन । तर पनि वहा समेतले वहश गरेका र नेपाल कानुन पत्रिकामा प्रकाशीत हिरापासीको मुद्दादेखि संसद विघठन लगायतमा मुद्दाहरुमा प्रतिपादित भएका शिद्धान्त, कानुनी लेख र बिचार अनि विश्वेश्वरप्रसाद कोइरालको आत्मवृतान्तमा समेटिएका ऊहाका बिचारहरुले देशको चिन्तन गर्ने विभिन्न तप्का र तहका व्यक्तिहरुलाई जेन्टल ईडियट नबन्नृ होला है भनि खबरदारी गरिरहने छ ।
 
—————————————————————————————————————————————————-
(एर्टनी एट ल, विनोद रोकालाई भेटन सक्ने ठेगाना हो फोन नं. ७१८ ६०६ ९७३३ ईमेल [email protected], र वेबसाईट www.binodlaw.com)