ड्यालस (अमेरिका)– प्रवासमा रहने नेपालीले सबैभन्दा ज्यादा याद गर्ने नेपाली चाडपर्ब हुन् । त्यही पर्वको समयमा प्रवासमा रहेका नेपालीहरु थोरै समय छुट्टाएर भएपनि एक आपसमा भेटघाट अनि रमाइलो गर्दै संस्कारलाई समेत निरन्तरता दिइरहेका हुन्छन् । यही सेरोफेरोमा बिहीबार नेपाली परम्पराको एक अभिन्न अंग जनैपूर्णिमालाई नेपालीहरुले ड्यालसस्थित नेपाली मन्दिरमा मनाएका छन् ।
नेपालमा नदी किनार, पोखरी, ताल छेउमा पुगेर नुहाउँदै जनै फेर्ने परम्परालाई यहाँ अमेरिकामा भने नेपालीहरुले मन्दिरमा रक्षावन्धन बाँध्दै र जनै फेरेर मनाएका छन् । ड्यालसको अर्विङस्थित नेपाली मन्दिरमा यो सेरोफेरोमा रहेका सयौं नेपालीहरुले भेटेर रक्षावन्धन मनाएका हुन् ।
‘गत वर्ष जस्तै यस पटक पनि बिहानदेखि साँझ ८ बजेसम्म रक्षावन्धनको कार्यक्रमलाई खुल्ला राखेका छौं,’ मन्दिरका मुल पुरोहित डा. शेखर पण्डितले भन्नुभयो । बिहीबार बिहान ८ बजेदेखिनै भक्तजनहरु मन्दिरमा रक्षावन्धन र जनैका लागि आएका थिए । मन्दिरले हरेक भक्तजनलाई जनै समेत प्रदान गरेको थियो ।
‘अहिलेसम्म पाँचसय भक्तजनहरु आइसक्नुभयो, साँझसम्म ८/९ सय पुग्छन् होला,’ उहाँले भन्नुभयो ।
‘नेपाली मन्दिरमा आउँदा एकातिर नेपालमै भएको अनुभूति हुन्छ भने अर्कातिर आफ्ना छोराछोरीलाई समेत नेपालको धर्मसंस्कृति सिकाउन सजिलो भएको छ,’ टेक्ससको कोपेलमा बसोबास गर्दै आउनुभएका मनोहरबाबु उप्रेतीले भन्नुभयो । आफ्ना दुई छोराछोरीलाई साथमा लिएर उहाँ रक्षावन्धनका लागि मन्दिरमा आउनुभएको थियो ।
अर्का नेपाली बिमल बरालले पनि संसारमा जहाँ पुगेपनि आफ्नो धर्मसंस्कारलाई भुल्न नहुने भएकाले हरेक पर्व, पूजामा अनुकुलता मिलाएर नेपाली मन्दिरमा आउने गरेको बताउनुभयो ।
एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एक्लै मन्दिरमा पुग्नुभएको थियो । ‘परिवारको अनुकुल भएन, तरपनि परिवारका लागि रक्षावन्धन गुरुसँग लिएको छु,’ पोखरेलले हिमालयन खबरसँग भन्नुभयो ।
नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने पनि रक्षावन्धन कार्यक्रममा सकृय हुनुहुन्थ्यो । रक्षावन्धनसँगै गत सातादेखि नेपाली समाजले सञ्चालन गरेको बालबालिकाहरुको योगकक्षाका लागि उहाँ खटिइरहनुभएको थियो ।
मन्दिरमा सञ्चालन भएको रक्षावन्धन कार्यक्रममा नेपालबाट छोराछोरी भेट्न अमेरिका आइपुगेका वृद्ध बा–आमाहरु निकै रमाइरहनुभएको थियो । रक्षावन्धन कार्यक्रममा ड्यालस र वरिपरिका बिभिन्न काउन्टीहरुमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता थियो ।
नेपाली मन्दिरले स्थापनाकालदेखिनै नेपाली पर्व बिभिन्न रुपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया