मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पागलको जय होस ! पराजित नहोस निष्ठा

पागलको जय होस ! पराजित नहोस निष्ठा


निष्ठा  , नैतिकता  विरामी परेको छ देशमा  । केहि झुन्ड बाहेक यतिखेर करोडौं नेपालीको ह्रदयले प्रार्थना गरिरहेको छ , डा केसी नमरून् !  हो बाँच्नु पर्छ डा गोविन्द केसी । उनी बाँच्नु भनेको सत्य बाँच्नु हो , निष्ठा बाँच्नु हो  । उनी मरेर लोकमान जस्ता मानिस बाँचीरहे भने ठूलो दुर्भाग्य देशले खेप्नु पर्नेछ । 
 
एघारौं दिनको न्यायको लडाईमा शिथिल हुदैछ उनको शरिर । उनको माग पूरा गर्ने सरकार राजनीतिक खिचातानी मै व्यस्त छ । यस्तो जटिल पतिस्थिमा के पूरा होला भ्रष्टाचार बिरुद्दको उनको माग ? कतै भित्र शंका उब्जन्छ । किनकि ईमानदारको आवाज सुन्ने सरकार आफै बेईमानको घेरा भित्र रुमलिएको छ । कानूनलाई आफ्नो हित अनुकूल व्याख्या गर्न खोज्ने एकोहोरो जिद्दी सरकारले जवाफ दिन अबेर नगरोस  – सरकार नेताको मात्रै हो कि  , जनताको पनि हो  ?
 
असल , ईमानदार , नैतिकवान , निष्ठावानको उसै नै खडेरी पर्दे गएको मुलुकमा खराब , बेईमान , अनैतिक र भ्रष्टहरु झन शक्तिशाली हुदैछन् । यिनीहरु शसक्त हुनु भनेको भ्राष्टाचार मौलाउनु हो । कालो बाजार फैलिनु हो । अन्याय र अत्याचार मौलाउनु हो। एकातिर तथाकथित सद्दे भनाउदाहरुबाट बिग्रेको देश र अर्कोतिर देश बनाउन भनी ज्यानको बाजी थाप्ने पागल डा केसी । म  दूर देशबाट देशको र डा केसीको सुस्वास्थ्यको कामना गरिरहेकी छु , जित यही पागलको होस् ! 
 
पागल मात्रै होइन अझ यिनी त जोगी पनि हुन् । घर परिवार भुटीभाङ्ग केही नभएको डा केसी जो देश र जनताकोलागि आफ्नो ज्यान दाउमा राख्छन् पटक पटक । स्वास्थ्य क्षेत्रको विसंगति प्रति प्रहार गरेका छन् । नेपालका राजनीतिक दलहरुले गर्न नसकेको काम उनले गरेर देखाएका छन् ।  उनको  विरोधमा  कथित बुद्धिजीविहरु , डाक्टरी पेशाको आडमा कमाउने धन्दामा लागेका वरिष्ठ भनिने चिकित्सकहरु , भ्रष्ट नेताहरु डा केसीको विरोधमा छन् । तर सत्य र निष्ठाको अगाडि कसको के लाग्ला र !
 
यसै नै दैवी प्रकोपको मारमा थिलथिलिएको छ मुलुक । भूकम्प र बाढी पैरोले जीर्ण हुँदैछ ।  पन्पिएको घूसखोरी , भ्राष्टाचार , कालोबजारीले गर्दा झन जर्जर भैसक्यो । नाजुक आर्थिक अवस्था ,  युवा जमात बिदेश पलायन , दिनहु जस्तो गिन्तीमा बन्द बाकश भित्र लाशको कोसेली ! खै त सुशासन ?   चित्त बुझाउने बाटो खै ?  
 
बोल्यो,  लेख्यो भने पनि  विदेशमा बस्नेलाई के मतलब भनेर सत्तोसराप गरिहाल्छन् कोहि । एउटा नेपालीको नाताले नम्र निवेदन गर्दैछु , कृपया मातृभूमिको सुख दुःखमा रुन हाँस्नलाई अर्घेलो नबनिदिनुहोस ।  परेको बेलामा हामी पनि काम लागेकै छौं , लागिरहने छौं ।
 
केसीको शान्तिपूर्ण  सत्याग्रह आन्दोलनलाई हामी देश विदेशका सबै नेपालीले बलियो समर्थन जनाउन अबेर नगरौं  ।  कतै निष्ठाको लडाईमा हामि चुकौला , पछि ज्या ! भन्न नपरोस् । नेपाल बन्नकोलागि अझै पनि हजारौं डा केसी जस्ता पागलहरुको खाँचो छ । पागलको जय होस !