मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमान् बितेपछि चार लालावाला हुर्काउने चिन्ता

श्रीमान् बितेपछि चार लालावाला हुर्काउने चिन्ता


जाजरकोट । पाँचजनाको परिवार, सानो झुप्रो, त्यही पनि पानी चुहिने । न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान । 
 
रुपा विश्वकर्मा निकै समस्यामा छिन् । आफू सक्ने हुँदा ज्याला मजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ । नसक्दा त त्यही पनि भोकै । जाजरकोट ढिमे–२ मालुमेला बस्ने रुपा विश्वकर्मा यस्तै पीडामा छिन् । रुपाको १५ वर्षको उमेरमा डोल्पा लहाका बुद्धिबहादुर नेपालीसँग बिहे भयो । तीन छोरी र एक छोरा जन्मिए । दुःखसुख गरेरै भए पनि परिवार जेनतेन चलिरहेको थियो । विवाह भएको सात वर्षमै श्रीमान्को ज्यान गयो । 
 
श्रीमान्को मृत्युपछि परिवारको आर्थिक अवस्था पनि निकै नाजुक हुँदै गयो । रुपालाई छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालाबाला लिएर माइतीघर जाजरकोट ढिमे आइन् । यहाँ पनि उनलाई गाँस र बासको समस्याले छोडेन । माइतीको अवस्था पनि उस्तै । जग्गाजमिनको नाममा एक टुक्रो पाखोबारीमात्र । दैनिक ज्याला मजदुरी गरेर खाने । तैपनि छोरीलाई बस्ने ओत दिए माइतीले । 
 
‘न त हातमा सीप छ, न काम गरौँ भने खेतबारी नै छ, म कसरी यी केटाकेटी पालौँ,’ रुपाले दुःख प्रकट गरिन्– ‘यी केटाकेटीको पढाइ खर्च कहाँबाट जुटाऊँ ।’
 
रुपाले भनिन्– ‘म त साह्रै समस्यामा परेँ । पढ्ने उमेरमा सानैमा बिहे भयो । बिहे गर्ने उमेरमा विधवा हुनुप¥यो । अब साथमा रहेका चारजना छोराछोरीको लालनपालन र पढाइलेखाइ कसरी गरुँ ?’ उनका जेठी छोरी पार्वती ९ वर्ष, माइली छोरी चन्दा ८ वर्ष, कान्छी छोरी रेखा ४ वर्ष र छोरा अनिल ३ वर्षका भए ।
 
गाँउलेको गहुँ, मकै, धान गोड्ने, रोप्ने, काट्ने काम गर्दै २५ वर्षीया रुपाले केही जोहो गरेकी छन् । श्रीमान् बितेको तीन वर्ष भयो । ‘जिन्दगी अझै धेरै लामो छ कसरी बित्ने हो, केही थाहा छैन’– उनले भनिन् । कसैले सीपमूलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने व्यवस्था मिलाइदिएको भए आफ्ना लागि ठूलो राहत हुने उनले बताइन् । 
 
‘मीठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए, दुई छाक गाँस र एकसरो शरीर ढाक्ने कपडाका लागि सङ्घर्ष गरिरहनु परेको छ’– रुपाले दुःख सुनाउँदै भनिन् । रासस