मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकी सपना- ज्यान र धनकै जोखिम

अमेरिकी सपना- ज्यान र धनकै जोखिम


मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने विषय हाल अमेरिकामा सर्वाधिक चर्चामा छ । रिपव्लिकन पार्टीवाट राष्ट्रपति उम्मेदवार हुने लगभग पक्का भएका धनाढ्य व्यवसायी डोनाल्ड ट्रम्पले यसरी गैरकानुनी रुपमा मेक्सिकोवाट आउने आप्रावासीलाई रोक्न १० फिट अग्लो पर्खाल लगाउने आफ्नो चुनावी अभियानमा प्रमुख रुपमा उठाएका थिए । ट्रम्प आप्रावसी प्रति अनुदार छन् । तर, सत्तारुढ डेमोक्रयाटिक पार्टी पनि यसरी आउने प्रति उदार भने छैन । विदेशवाट यसरी गैरकानुनी रुपमा प्रवेश गर्ने प्रति अमेरिकी प्रशासन अनुदार हुदैं आएको प्रमाण राष्ट्रपति बाराक ओबामाको कार्यकालमा रकर्ड नम्वरमा यसरी छिर्नेलाई फिर्ता पठाउनु हो  । होमल्याण्ड सेकुरिटीको तथ्यांक अनुसार पनि सन् २०१४ मा मात्र चारलाख भन्दा वढी गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रावासीलाई अमेरिकावाट सम्वद्ध मुलुक फिर्ता पठाईएको छ । 
 
तर, नेपालवाट जोखिम रुपमा बाटो भई बिना भिसा अमेरिका आउने क्रम भने रोकिएको छैन । यसै सातामात्र नेपाल दुतावास मलेसियाले फिलिपिन्स नजिकको एउटा टापुवाट गैरकानुनी वाटोवाट अमेरिका हिडेंका केही नेपालीलाई उद्धार गरेको छ । त्यहां पक्राउ परेपछि ती नेपालीलाई उद्धार गरिएको हो । यहांमात्र होइन कयौं मध्ये अमेरिकी देशमा नेपाली पक्राउ पर्दै आएका छन् । केही अहिलेपनि जेलमै छन् । नेपालमा दलालले अमेरिका सजिलै छिराउने आश्वासन पछि काठमाडौंवाट जोखिम पुर्ण यात्रा शुरु हुन्छ । काठमाडौमै दलाललाई यसरी आउनेले केही लाख रुपैंया वुझाईसकेका हुन्छन् । यहाँबाट नै नेपाली युवाहरु मानव तस्करको जालोमा परिसकेका हुन्छन् । सुरुमा तय भएको भन्दा दोब्बर झण्डै ३० लाख रुपियाँ अमेरिका छिर्दासम्म खर्च भईसकेको हुन्छ । 
 
यदी भाग्य बलियो छ, भने मात्र यति रकम खर्च भएपछि अन्तिम गन्तव्य अमेरिका छिर्न सक्छन् । होइन भने पक्राउ परेर बीचबाटै फर्किनुपर्ने पनि हुन्छ । छिर्ने क्रममा ज्यान जाने जोखिम त छदैं छ । अमेरिका छिर्दैमा समस्या सकिंदैन । यसरी छिर्दा अमेरिकामा कानुनी रुपमा बस्न पाउन २/३ बर्ष समय र १० हजार अमेरिकी डलरसम्म खर्च गर्नु पर्ने हुन्छ । काम गर्ने अधिकार नभएकालाई थोरै पैसामा लगाई श्रम शोसन गरिन्छ । सवै कुरा भने जस्तो हुदांपनि यो खर्च भएको पैसा चुक्ता गर्न पनि करिव ४ बर्ष लाग्छ । परिवारवाट टाढा कडा श्रम गर्नु पर्दा यसरी गैरकानुनी रुपमा आउनेको एउटै जवाफ हुन्छ-'बेकार आईएछ ।' 
 
केही बर्ष अघि यसरी नै अमेरिका छिरेका दागंका एक युवाले आत्महत्या गरे । जुन सपना देखेर अमेरिका छिरेका थिए त्यो नपाउंदा उनी डिप्रेशनका रोगी भएका थिए । अझै केही अमेरिकाको विभिन्न जेलमा यसरी छिर्ने नेपालहरु भएको यहां कानुन व्यवसाय गर्ने उनीहरुलाई परामर्श गरिरहेका नेपाली वकिलहरु वताउंछन् । टेक्सास, क्यालिफोर्निया लगायत कयौं शहरमा यसरी आउने नेपाली भेटिन्छन् । अधिकांशका लगभग एउटै खालका पिडाहरु हुन्छन् । यसरी ज्यानको समेत जोखिम लिएर आउनेका पिडा सुन्दा लाग्छ, यस्तो जोखिम पुर्ण बाटोबाट अमेरिका नआउनुनै बेस ।
 
 
गैरकानुनी वाटो समाति नेपालदेखि विभिन्न देश हुदैं जोखिम पुर्ण यात्रा गरी अन्तत मेक्सिकोवाट अमेरिका छिरेका श्याम (इमिग्रेसन अदालतमा मुद्दाका कारण नाम परिवर्तन) अहिले यहांको इमिग्रेशन अदालत धाईरहेका छन् । भरखरका युवा श्याम एक बर्ष भन्दा अघि दलाल मार्फत विभिन्न देश हुदैं निकै कष्ट सहेर मेक्सिकोको वाटो भई गैरकानुनी रुपमा अमेरिका छिरेका थिए । हण्डर खाएपनि अमेरिका पुग्ने लक्ष्य त पुरा भयो तर, अहिले उनी पश्चातम गरिहेका छन् ।  'यहां घण्टा हानेर आउंदा लागेको ऋण कहिले तिर्ने, परिवार भेट्ने कहिले, बेक्कार आइएछ,' उनले भने । मेक्सिकोवाट आउने कति भेटिन्छन् ? यो प्रश्नमा उनी भन्छन्- हाम्रो जिल्ला ( मध्यपश्चिमको एक जिल्ला) मा पहिला केटाहरु माओवादीले सिध्याईदियो अहिले डीवी दलालले । डीवी अर्थात धनवहादुर श्यामलाई अमेरिका सम्म ल्याईदिने नेपाली मानवतस्करको नाम हो । पोखरा वाग्लुगं तिर अर्को आरके दलाल छ, अनी काठमाडौमा पनि एउटा छ,उनले भने- 'यी दलालले हुलका हुल ल्याएका छन, कति आउदै होलान ।'  
 
 उनी पौडिन जान्दैनन् । तर, मेक्सिकोको दलालले सानो मोटरको टियुव दिएर पारी जान भन्यो । नदि त्यत्ति फराकिलो थिएन हातले खिआउंदै पारी अमेरिका स्थित टेक्सास राज्यको भुमिमा पुगें उनले भने लुगा निथु्रक्क भिजेको थियो। नदि पार गरेर अमेरिकी भुमिमा पांच मिनेट उभिएपछि सिमा सुरक्षा प्रहरी आए र हिरासतमा लिए । निथु्रक्क भिजेको लुगा सहित उनलाई तीनदिनसम्म टेक्सास स्थित जेलमा हिरासतमा वस्नु पर्यो । एसीले फुल लगाईदिएकाले कोठा चिसो न चिसो थियो त्यहां माथि भिजेका लुगा अति गाहे भयो, उनले भने तीन दिनपछि भने जेलमा लगाउने लुगा र खाना दिए । 
 
हाईस्कुलको पढाई विचमै छाडेर वसेका श्याम अमेरिका जाने रहरले डीवीको सम्पर्कमा पुगे । २१ वर्ष पनि पुरा नभएका उनलाई डीवीले २३ लाख रुपैंयामा अमेरिका पुर्याउने वताए । समय लाग्छ तर, अमेरिका पुर्याईदिन्छु डीवीले भनेका थिए ।  अमेरिका जाने भनेपछि ऋण गरेर भएपनि पैसा जुट्यो । अमेरिका जाने भनेपछि ऋण पाउन पनि खासै गाहे भएन सवैले पत्याए उनले भने । नेपालवाट भारतको नयां दिल्ली पुगे । त्यहांवाट पेरु उडे । पेरु देखि अमेरिकाको टेक्सासमा पुगेर उभिदां उनले आधा दर्जन भन्दा वढी दक्षिण र मध्ये अमेरिकी देश पार गरे । मध्ये अमेरिका देखि उत्तर अमेरिका छिर्न ६ महिना लाग्यो यस विचमा पाएको दुख्ख र हण्डर जिऊ सिरिगं हुने खालको छ । डीवीले २३ लाख भनेपनि अमेरिका छिर्दा ३० लाख रुपैंया भन्दा वढी लाग्यो । 
 
पेरु पुगेपछि कोलम्विया छिरे । लागु औषध, मानव तस्करीका लागि वद्नाम देश कोलम्बियामा भेटिएका मानव तस्करले पासपोर्ट फाल्न लगाए । हामीलाई टिफिन वट्टामा  खाना दिए त्यस अघि राम्रो संग खानसम्म पाएका थिएनौ टिफिनमा मासु लगायतको खाना थियो, मज्जासंग खाईयो अनि दलालले भने त्यही टिफिन वट्टामा पासपोर्ट अरु कागज पत्र च्यातेर फालिदेउ हामीले पनि त्यही गर्यौं । कोलम्वियामा प्रहरीले समाते । पैसा छ कि भनेर शरिर खानतलासी गरे जे भएको लगिदिए । पैसा लुकाएको छ कि भनेर व्लेडले जुत्ताको तलुवापनि काटेर हेर्थे उनले भने म संगैका एकजना साथिले टुथपेष्ट निष्कालेर त्यसभित्र केही पैसा राखेका थिए त्योपनि थाहा पाए र लिईदिए , त्यहांका पुलिसले जहां राख्दा पनि थाहा पाउंथे । विचमा पानामा लगायत केही मध्ये अमेरिकी देश पुगेपछि ग्वाटेमाला पुगे । यो क्रममा कयौं दिन पुरा पेट पनि खान पाईएन उनले भने । एउटा दलालले अर्कोलाई जिम्मा लगाउंथ्यो ।
 
नयांले पैसा दिए अघि वढाउंथ्यो नदिदां त्यही वस्नु पथ्र्यो, उनले भने, घरवाट पैसा आए अघि वढ्न पाइन्थ्यो नआए त्यही वस्ने हो  ग्वाटेमालावाट कन्टेनरमा मेक्सिको छिर्नु थियो । मेक्सिको छिर्दा असाध्यै गाहे भयो उनले भने सानो ठाउंमा कोचिएको थियो, उठेपछि वस्ने ठाउं थिएन वस्दापनि खुट्टा चलाउन समेत मिल्थेन धण्टौ लामो यात्रा थियो, वंगलादेश र भारतवाट आएकाले त त्यही दिसा पिसाव गर्थे त्यो गन्हाएर वसिनसक्नु हुन्थ्यो । 
 
मेक्सिको पनि मानव तस्करका लागि वदनाम छ । मेक्सिको छिर्दा हामी नेपाली चार जना सहित अरु कयौं देशका थियौ भाषा नमिलेपछि इसाराले कुरा हुन्थ्यो श्याम भन्छन् मेक्सिको पुगेपछि हामीलाई लिन आएको एउटा समुह र अर्को विच फाइट (हानाहान) भयो । नयां दलालले अपहरण गरेर लग्यो हामी धेरैलाई एउटै कोठामा लगेर थुन्यो । अपहरण गर्ने नयां मानव तस्करलाई जनही एक हजार डलर वुझाएपछि उनले टेक्सासको सिमासम्म लगेर नदि पार गर्न लगायो ।
 
 टेक्सासवाट उनलाई अर्को राज्यको डिटेन्सन सेन्टरमा लगियो । त्यहां खानवस्न राम्रै थियो किरणले भने तर, जेल जेलनै हो । अदालतले उनलाई २ हजार ५ सय धरौटीमा वाहिर निष्कन दियो । केही महिना हिरासतमा वसेका श्याम अहिले घण्टाका हिसावले पैसा पाउने ग्यांस स्टेसनमा काम गर्छन । यो श्यामको मात्र कथा होइन सयौं नेपालीको कथा यस्तै छ । मेक्सिकोवाट गैरकानुनी रुपमा छिर्ने नेपालीको संख्या वढीरहेको छ । अमेरिका मेक्सिको सिमा क्षेत्रका  देशमा गैर कानुनी रुपमा आउने आप्रवासीले छन् ।
 
अमेरिकाको जेलमा कति नेपाली छन् यो वासिंटन डीसी स्थित दुतावासलाई पनि कुनै जानकारी छैन । डिपोर्ट गर्न (नेपाल पठाउन) पर्यो भनेमात्र हामीकहां ल्याउंछन्, नेपाली दुतवासका अधिकृतले भने जेलमा कतिछन् त्यो भने हामीलाई थाहा छैन हामी खोज्न तिरपनि लागेका छैनौं ।  थुनिएका नेपालीपनि दुतावासमा सम्पर्कमा आउन चाहांदैनन् । कतिपय सन्दर्भमा त थुनिएका नेपालीलाई नेपाल फर्काउन अमेरिकाका सम्वन्ध निकायले माग गरेअनुसार आवश्यक कागजात प्रदान नगर्ने समेत दुतावासलाई नेपालवाट विभिन्न शक्तिकेन्द्र मार्फत दवाव समेत आउने गरेको छ । पासपोर्ट लिन आउंदा हामीले कयौंलाई कसरी कुन दलाल मार्फत आयौं भनेर कहिले कांही सोध्ने गर्छौ दुतावासका ती अधिकृतले भने तर, दलालको नाम भन्नै मान्दैनन् अंकलको चिनेको हो, मलाई थाहा छैन यस्तै जवाफ दिएर टार्छन । गिरासतमा पर्ने धरौटीमा छुट्ने भएकाले पनि यत्तिनै नेपाली जेलमा छन् भन्न कठिन भएको हो । केहीको १ हजार भन्दा वढी नेपाली जेलमा छन् भन्ने अनुमान पनि छ ।
 
युवा मात्र होइन मेक्सिको वाटो भई ज्याननै जोखिममा पारी केटीहरुपनि अमेरिका छिर्ने गरेका छन् । यो क्रम वढिरहेको सम्वद्धहरु वताउंछन् । एक बर्ष अघिको  महाभुकम्पपछि अमेरिकाले नेपालीलाई दिएको 'टेम्प्रोररी प्रोटेक्डेट स्टाट्स' (टीपीएस)लाई पनि अपव्याख्या गरी अमेरिका छिरेपछि त्यहां वस्न र काम गर्न पाइन्छ भन्ने भ्रम पनि परेको थियो । त्यसवेला काठमाडौ स्थित अमेरिकी दुतावासले नेपालीलाई आफुले अमेरिका प्रवेश गर्न तथा टीपीएस हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरुले दावी गरेको भनी आमसंचारमाध्यममा आएका खवरहरुप्रति अमेरिकी दुतावास चिन्तित भएको जनाएको थियो । गैर कानुनी रुपमा मानव तस्कार मार्फत आउने क्रम वढेकाले अमेरिकाले मानव वेचविखनको स्रोत मुलुकमा नेपाललाई पनि राखेको छ ।
 
यत्रो पैसा र जोखिम लिई अमेरिका छिर्ने  न नेपाल फर्किन सक्छन् न यहांको काम र परिवारवाट टाढा हुदां यहा खुशी हुन्छन् । आउने दिन के हुन्छ यो पनि थाहा हुदैंन । तर, अमेरिका यात्राको कथा वताउनेहरुका मलिन अनुहारमा यस्तो अन्यौल प्रष्टै देख्न सकिन्छ ।