हिमालय खबर संवाददाता-
चितवन । नयाँ घरको जग बसालेको केही दिनमात्र भयो । घर निर्माणको सामग्री (इँटा, ढुंगा, बालुवा) आँगनभरि छन् । परिवार सबैमा खुसी र उमंग छ । नयाँ घरमा सर्ने दिनहरु गनिन थालिएको छ । यही खुसीमा अचानक सोमबार बिहान हावासरी एउटा खबर आयो । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आत्मघाती बम विस्फोटमा मारिने १२ जना नेपालीमा एकजना कृष्णबहादुर ढुंगाना पनि परे ।
खैरहनी १ चैनपुर स्थित घर जग हालेर बन्दै गरेको थियो । ठीक यसैबेला उनको देहलीला समाप्तीसँगै उनको नयाँ घरमा परिवारलाई खुसीसाथ राख्ने इच्छा अधुरै रह्यो । परिवारको सारा खुसी लुटियो ।
नेपाली सेनाको जागिरले परिवार पाल्न नसक्ने देखेपछि कृष्णबहादुर वैदेशिक रोजगारीको बाटो रोजे । २०५९ सालमा नेपाली सेनामा भर्ती भएका ढुंगाना २६ महिना काम गरेर जागिर छाडे । सेनाको जागिर छाडपछि उनी २०६४ सालमा दुबई गए । चार वर्ष दुबईमा काम गरेर घर आए । २०६८ सालमा विवाह गरेर उनी २०६९ सालमा भारत हुँदै अफगानिस्तान पुगे । दैवको लीला, उनको प्राणपखेरु आतंकवादी हमलाले उडायो ।
आर्थिक रुपमा आफूलाई सबल बनाएर परिवारलाई सुख दिने उनको घोको पुरा हुन सकेन । २६ दिनको बिदा मनाएर जेठ १५ गते ‘म घर बनाउने पैसा कमाएर चाँडै आउँछु’ भन्दै विदा भएका कृष्णबहादुर कहिल्यै नफर्किने भए । फूल भएर होला, आतंकवादीले उनलाई नै टिप्यो ।
काबुलस्थित क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत कृष्णबहादुर तालिवानको आक्रमणमा परेर मारिएका हुन् । उनीसहित १२ नेपालीको खुसी खोसिएको छ । कोठाबाट दुतावास जाने क्रममा तालिवानले आत्मधाती बम विस्फोट गरेको थियो ।
कृष्णबहादुरको बहेरी गाउँ यतिबेला शोकमा डुबेको छ । सन्नाटा छाएको छ । सबैका आँखा रसाएका छन् । ‘मनकारी थियो, ज्याँदै मिल्थ्यो । साथीभाइ भनेपछि हुरुक्कै हुन्थ्यो । के गरेको थियो र उसले ? आतंकवादीले उसलाई नै निशाना बनायो’ बहेरीका स्थानीयहरु यही भनिरेहका छन् ।
परिवारका सबै सदस्य अचेत अवस्थामा छन् । कृष्णबहादुरकी श्रीमति भगवती ढुंगाना अचेत अवस्थामा छिन् । कहिले होस् त कहिले बेहोस् । ८१ वर्षीय हजुरबुबा होमनाथ ढुंगानाको हालत पनि उस्तै छ ।
‘नजा भन्दा काल आए जहाँ पनि मरिन्छ भन्दै गयो, फर्केर नआउने भयो’ कृष्णका हजुरबुबा होमनाथले गहभरि आँसु बनाउँदै भने, नयाँ घर बनाएर तपाइँहरुलाई सुखका साथ पाल्छु भन्थ्यो । उमेर नपुग्दै नातिलाई लगे । आफू जानेबेलामा यस्तो पनि सहनु प¥यो ।’
कृष्णका बुबा उत्तरकुमार ढुंगाना घर पूरा भए पनि छोरा फर्केला र नयाँ घरमा सरौंला भनेर पर्खाइमा बसेका थिए । छोरा कृष्णबहादुरको मृत्युसँगै उनको सपना पनि तुहियो । जाने बेलामा घर बनाउने पैसा पठाउँछु, फोन गरिरहन्छु । मेरो पिर लिन पर्दैन भनेर गएका कृष्णबहादुर अब फर्केर नआउने भएपछि परिवार शोकमा डुबेको छ ।
‘८३ वर्षीय हजुरआमा जानुका, बुबा उत्तरकुमार र आमा बिन्दादेवी सम्पूर्ण परिवारको खुसीमात्र लुटिएको छैन । गाउँ र खैरहनीकै एक सहयोगी युवक गुमेको छ’ कृष्णका मामा हिमनाथ न्योपानेले भने, ‘सबैको हालत नाजुक छ ।’
पछिल्लो पटक घर आउँदा कृष्णलाई परिवारले अफगानिस्तानमा खतरा छ नजान बिन्ती गरेका थिए । तर उनले मानेनन् । ‘काल आए जहाँ पनि मरिन्छ भनेर गयो कृष्णका बुबा उत्तर कुमारले भने, ‘दैवले हामी सबैको खुसी लट्यो । आपूm मर्ने बेलामा छोराको लास देख्नु प¥यो । यो कस्तो नियति !’
बुबा उत्तरकुमारको मन बिछिप्त छ । परिवार आँसुमा डुबेको छ । ‘यस्तो नियति कसैलाई नपरोस् । आतंकवादी हमलाले हाम्रो खुसी लुट्यो । अरु नेपालीको खुसी नलुटोस्’ घुक्कघुक्क गर्दै उत्तरकुमारले भने ।
कृष्णका ३ वर्षीय एक छोरा, ४ वर्षीया एक छोरी छन् । उनीहरुलाई लालनपालन गर्ने जिम्मा लिएका पिता कृष्णबहादुर नै यो संसारमा नरहेपछि परिवार अक्र्रो संकटमा परेका छन् । ‘कृष्णका छोराछोरीको लालनपालन र पढ्ने व्यवस्था राज्यले गर्नुपर्छ’ कृष्णका छिमेकीले भने ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले कृष्णको शब आज मंगलवार बिहानसम्म काठमाडौं आइपुग्ने र बेलुकासम्म चितवन ल्याउने तयारी भइरहेको बताए । (होमनाथ सापकोटाको सहयोगमा)
तस्बिर : नातिको मृत्युपछि शोकमा डुबेका हजुरबुबा र आफन्तजन ।
प्रतिक्रिया