मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सावधान ! मनै त हो बहकिन सक्छ

सावधान ! मनै त हो बहकिन सक्छ


बेलाबेलामा म दीप श्रेष्ठको गीत सम्झने गर्छु – मनै त हो बहकिन सक्छ ! कुनैबेला यो गीत निक्कै चर्चित थियो । यो गीतमा  मनको अन्तरवस्तुको बारेमा गितकारले वेजोड पस्केका छन् ।
 
मगजले काम गरेन भने मनले जे भन्छ त्यहि गर भन्थे मेरा एकजना गुरु । गुरुको यस्तो उपदेशलाई ब्रम्हवाक्य ठानेर काम गर्दा धेरैचोटि बुमर्याङ हुनु पर्यो , कहिले भने खुशी पनि हात आयो । 
मन र मगज मिलेर  सोचेको विचार , त्यसले आफ्नो कर्ममा दिने परिणाम स्वभाविकरुपमा राम्रो हुनुपर्छ । मगजले वा मनले मात्र भनेको कुरा मान्दा कुनैबेला धोखा पनि आइलाग्छ । मन त हिजो पनि बहकिन्थ्यो । तर अहिलेको समय नै रफ्तारमा छ अनि त्यो रफ्तारमा मन पनि दौंडदो रहेछ । विज्ञानले आजको संसारलाई खुम्च्याइ दिएको छ , मानिस फराकिलो भएको छ । धर्म , युध्द , शान्ति र मानवतादेखि माया , यौन र वासनाका कुराहरु खुलस्त भएका छन् । यो धेरै हदसम्म सामाजिक संजालले आजको विश्वलाई  दिएको  उपहार हो ।
 
एक दशक अघिसम्म फेसबुक र ट्वीटरको जमाना थिएन । फोन , इमेल र चिट्ठिपत्र मार्फत सूचना आदान प्रदान हुने गर्थ्यो । अझै विकट ठाउँमा त पॢत्यक्ष भेटेर मात्र आआफ्ना कुराहरु साट्न पाइन्थ्यो । 
अब अहिले फेसबुकले मानिसलाई यति नजिक ल्यायो , एकअर्काका सारा सूचना क्षणभरमा साटासाट हुन्छ । भेटेको हुंदैन तर धेरै पहिलेजस्तै  चिनेको साथी बनाइदिन्छ । माया साटासाटदेखि बिहेसम्म जुराइदिएको छ फेसबुकले । ३०सौं वर्षदेखि भेट नभएका साथीहरुलाई मिलाएको छ ।  नयाँ नयाँ अनुहारसंग परिचय गराउँछ । सबैखाले मनोरन्जन र सुविधा पस्केको छ फेसबुकले । सेक्स , अपराधदेखि संगीत र साहित्य पनि त्यहीं छ । तर कुनैबेला त्यहि फेसबुक टाउको दुखाई मात्र हैन कसैको जीवन नै बरवाद पार्ने कारक पनि बन्दो रहेछ  । मन रोमान्चित हुन्छ , मन बहकिन्छ -त्यतिबेला होश नपुर्याउँदा ठूलै भड्खालोमा पर्ने संभावना हुन्छ  । 
 
प्रत्येक दिन पचासौं अपरचितहरुबाट साथी बन्न अनुरोध आउँछ । कतिले स्वभाविकरुपमै मित्रताको अनुरोध गरेका हुन्छन् , कतिले  भने नीहित स्वार्थकोलागि खेलिरहेका हुन्छन् । यो ठम्याउन पनि त्यति सजिलो कहाँ छ र ! 
 
गत हफ्ता मात्र न्यूयोर्कका पत्रकार मित्र सुर्य थापाकि श्रीमतिको नक्कली  फेसबुक एकाउण्ट बनाएर कसैले ठूलै खेल खेल्न लागेको कुरा प्रकाशमा आएको थियो । समयमै सुर्यजीले थाहा नपाएको भए त्यस्ले कति क्षति पुर्याउने थियो , कल्पना मात्रै गर्दा पनि मन झसंग हुन्छ । यी पंक्तिहरु तयार गर्दै गर्दा क्यालिफोर्निया निवासी हाम्री साथी चन्द्रा गुरुङको पनि नक्कली फेसबुक आईडी बनाएर कसैले  फसाउन लागेको सूचना उनको स्टाटसबाट हामीलाई थाहा भयो । यस अघि पनि फेक आइडिको मारमा धेरै फेसबुक प्रयोगकर्ताहरुले मानसिक यातना भोगेका कुराहरु थाहा भएका हुन् । 
 
यो पंक्तिकारले यहाँ उठाउन खोजेको प्रसंग पनि बहकिने मन र फेसबुकसंग सम्वन्धित छ । कुनैबेला म स्वयम पनि नजानिदो पाराले बहकिन खोज्छु , मनले होस नपुर्याउदा । फेरि दिमाग र मनलाई जोडे पछि सम्हालिने बाटो देखापर्छ । यहाँ उल्लेख गर्न खोजेको सन्दर्भ अलिक पेचिलो तर आफ्नै एकजना मित्रको तितो अनुभव हो । 
 
केटा भन्नुस वा लोग्नेमान्छे , स्वभावैले सुन्दरता प्रेमी हुन्छन् । राम्री , चिटिक्क परेकि आइमाई देख्दा आकर्षित हुन्छन् । त्यसो त आइमाईहरु पनि राम्रो लोग्नेमान्छेसंग लोभिदा हुन् । यस्मा अन्यथा मान्नु पर्ने कुरा हैन । तर लोग्ने मान्छे अलिक हतारमा होलान् आइमाई भन्दा । झन आजको यो खुला समाजको हावाले यौवन र यौनसंग नजिकिने चाहना धेरैमा हुन्छ । कसैले लुकाएर राख्छन् कोही खुलस्त देखिन्छन् । यो सन्दर्भमा लोग्ने मानिस अघाडि नै छन् । फेरि सुन्दरता , जवानी  र सेक्सको विषय हाम्रा भगवानहरुकैलागि त आकर्षण हुन्थ्यो भने यो  कलियूगका  लोग्नेमानिस कसरी अछूतो रहलान्  ! 
 
यस्तै फड्को मार्न खोजे मेरा मित्रले फेसबुकमा । तर त्यो हतारले झन्डै उनको जिन्दगी स्वाहा भएन ! उनलाई पनि एउटी फिलिपिनो सुन्दरीबाट मित्रताको अनुरोध आएछ । साथी बने , सम्बन्ध अघाडि बढ्दै गयो । फेसबुकमा हुने नहुने कुराहरु झ्यांगिन थाले ।  मन बहकिदा के के भयो ! त्यसैको बलमा सुन्दरीले धम्क्याउन थाली । ब्ल्याकमेलिङका कुराहरु आउन थालेपछि बल्ल मित्रको होश खुल्यो ।  विचरा मित्रलाई थाहा भएन यो सबै नाटक थियो , सोझो मान्छेलाई फसाउने । आफूले ठूलै गल्ती गरेको उनलाई थाहा भयो , मनलाई वसमा नराख्दाको परिणाम थियो यो । अब भने मन र दिमाग दुवै लगाए , फेसबुकमा उसलाई तुरुन्तै व्लक गरेछन् । केही दिन त निक्कै तनावमा रहे उनि । आजकाल भन्ने गर्छन् -फेसबुक मित्र पनि हो, होश नपुर्याउदा शत्रु हुनेरैछ । 
 
यो त मेरा आफ्नै मित्रलाई परेको एउटा ऊदाहरण हो , सयौं यस्ता घटना जानकारी मै आउदैनन् । फेसबुककै  कारण आत्महत्याका घटनाहरु धेरै सुनिन थालेको छ आजकल । यस्तो फसाउने काम आइमाई भन्दा लोग्ने मान्छे नै बढी गर्छन् भन्ने अरु धेरै घटनाले पुष्टी गरेको छ । 
 
मन कुनैबेला आतूर हुन्छ , बहकिन्छ अनि यस्तैबेला हुने नहुने कुरा हुन्छ । सामाजिक संजाल होस् वा अरु कुनै प्लेटफर्म , यसको प्रयोगमा  सावधानी नअपनाए फस्ने प्रशस्त संभावना हुदोरैछ ।  मेरो लेखको आसय तपाई हामी सबैको सावधानीप्रति लक्षित छ । जुनसुकै कुरामा  पनि सावधानी आवश्यक छ । हतार , आवेग र वेहोसीले मानिसलाई चिन्ता र दुख मात्र दिन्छ । आजको संसार बेलगाम छ , कम्तिमा हामीले आफूलाई भने बेलगाम हुनबाट जोगाउनु पर्ने रहेछ  ।