काठमाडौँ । नेपालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल २८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले सर्वाधिक २१ स्वर्णमाथि कब्जा जमाउदै ‘टिम च्याम्पियन’ बन्यो ।
नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित तीनदिनसम्म भई बुधबार सम्पन्न प्रतियोगितामा भारत पाँच स्वर्णसाथ दोस्रो भयो भने श्रीलङ्का र बङ्गलादेशले एक–एक स्वर्ण जिते ।
पुरुषमा जोगमेहर लामा र महिलामा गरिमा गिरी उत्कृष्ट खेलाडी चुनिए । नेपालका दुवैले समान एक–एक स्वर्ण र रजत प्राप्त गरे ।
बसुन्धारास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगितामा नेपालबाट पुरुष २० केजीमा गौरव राई, २५ केजीमा निरज योञ्जन, ३० केजीमा क्युसाङ लामा, ४० केजीमा दिनेश छन्त्याल, ४५ केजीमा विकबहादुर थामी, ५५ केजीमा सरोज पाख्रिन, ६० केजीमा जोगमेहर तथा खुलामा राजु बुढाथोकीले स्वर्ण जिते ।
महिलाको ३० केजीमा डोल्मा लामा, ४५ केजीमा आस्था श्रेष्ठ, ५५ केजीमा बेली घिसिङ तथा खुलामा अस्मिता छन्त्यालले नेपाललाई स्वर्ण दिलाए ।
भारतका लागि पुरुष ५० केजीमा साइ गिरिश, ब्वाइज ६–८ वर्ष उमेरसमूहमा डी गणेश, गल्र्स ९–११ वर्ष ज्योति बेस्रा, १४–१६ वर्षमा सिरिया मेल्गारिडी तथा महिला ४० केजीमा सिल्पी सुन्दीले पहिलो स्थान हात पारे । जुनियर महिला कातामा श्रीलङ्काकी रन्जिता रत्ना तथा महिला ३५ केजीमा बङ्गलादेशकी चाँदनी सुन्दीले स्वर्णपदक जितिन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ, आयोजक सङ्घका प्रमुख प्रशिक्षक तथा कराते महासङ्घका महासचिव हरिशरण केसीलगायतले पुरस्कार वितरण गरे । रासस
प्रतिक्रिया