मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु


पाँचथर । जङ्गली च्याउ खाएका यस जिल्लाका तीन व्यक्तिको आज मृत्यु भएको छ । 
 
थर्पु–६ दारिम्बामा आज जङ्गली च्याउ खाएकी एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्द्रमाया माबोकी ११ वर्षीया छोरी एलिजा रहेकी छिन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
 
यस्तै, सिकिस्त बिरामी उनका १६ वर्षीय छोरा पुष्पा, नौ वर्षीया छोरी सुलोचना र छ वर्षीय छोरा प्रशान्तको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । आज बिहान आमाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु अकस्मात् बिरामी परेको स्थानीय जीवनकला माबोले बताउनुभयो । 
 
त्यसैगरीे जङ्गली च्याउ खाएर उपचारका लागि धरान घोपा लगिएकी जिल्ला पाँचथर आङ्ना–१ बस्ने वीरेन्द्र माङ्लाककी १३ वर्षीया छोरी कविता माङ्लाक र उनकी आमा ४५ वर्षीय पद्ममाया माङ्लाकको पनि आज बिहान अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उनकी छोरी सोनीको भने जेठ १३ गते लाइफलाइन हस्पिटल, दमकमा उपचारका क्रममा मृत्यु भएको थियो ।
 
यसैगरी पाँचथर कुरुम्बा–४ बस्ने देवीकुमार लावतीले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनी र उनकी ४४ वर्षीया श्रीमती कल्पना लावती, छोराहरु राजेन्द्र लावती, दिपेश लावती बिरामी भएका छन् । उनीहरुको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
 
पाँचथरमा पाँच दिनको अवधिमा च्याउ खाएर चारजनाको मृत्यु भएको छ । रासस