मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बुद्धि नलैजानुस डाक्टर साब

बुद्धि नलैजानुस डाक्टर साब


यतिखेर मातृभूमिको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला अमेरिका भ्रमणमा हुनुहुन्छ । निजी भनिएको छ उहाँको यस पटकको यो भ्रमणलाई । तर जतिसुकै निजी र व्यक्तिगत दिन खोजिएपनि चलायनमान राजनीतिक दल र त्यसका महामन्त्रीको कृयाकलाप पूर्ण रुपमा राजनीतिबाट अलग हुनसक्दैन । शायद त्यही भएर होला, उहाँ जहाँजहाँ जानुहुन्छ नेपालकै राजनीतिका कुरा, छलफल भैराखेका छन् ।
 
यसपटकको अमेरिका भ्रमणको क्रममा उहाँसँग नेपाली समुदाय, अझै किटेरै नाम लिनुपर्दा नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको सकृयतामा तीन ठाउँमा छलफल भैसकेका छन् । न्यूयोर्क, भर्जिनिया र ड्यालसमा डा. कोइरालासँग समसामयीक राजनीतिका बारेमा छलफल, अन्तरकृया सम्पन्न भैसकेका छन् ।
 
न्यूयोर्कको छलफलपछि हिमालय खबर अनलाइनमा एउटा समाचार प्रकाशित भयो । महामन्त्रि डा. कोइराला भन्नुभएछ–‘प्रवासी नेपालीहरुले अब नेपाली कांग्रेसलाई पैसा होइन, बुद्धि दिनुस् ।’ विश्वासै लागेन यो समाचारप्रति । किनकी प्रवासमा जे जति पनि नेपालका राजनीतिक दलका संस्थाहरु छन् ती अधिकांश ‘दुहुनो गाई’ हुन् । नेपालमा चुनाव आउँदा होस् या महाधिवेशनका लागि होस् । दलहरुले मुख ताक्ने भनेका युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका तिनका भातृसंस्थानै हुन् ।
 
संसदीय चुनाबका लागि त दलको लागि छुट्टै र उम्मेदवारले छुट्टै रुपमा आफ्ना मान्छे लगाएर यतातिर चन्दा उठाउने गरेको तथ्य कसैबाट पनि छिपेको छैन । यस्तो पृष्ठभूमिमा कांग्रेस महामन्त्रिका कुरा समाचारमा पढ्दा सुरुमा त लाग्यो–‘कतै लेख्ने पत्रकार साथीले उल्टो समाचार त पठाएनन् ?’ 
 
‘कांग्रेसलाई बुद्धि होइन, हामीनै बुद्धि लगाएर दल चलाउँछौं । तपाईहरु यताबाट आर्थिक सहयोग गर्नुस्’ भनेकोमा पत्रकार साथीले उल्टो बुझेर समाचार त्यस्तो बनाएका त होइनन् ? जिज्ञासा उठ्यो । अरु अनलाइनपनि हेरेँ । सबैमा एकैनासको समाचार छ । सबैतिर महामन्त्रिले पैसा होइन बुद्धि मागेको कुरा छ । मलाई लाग्यो–होइन यतातिरबाट पैसा दिनसक्ने त मान्छे छन् । तर बुद्धि दिनसक्ने जमात पनि खडा भैसकेछ र ? 
 
बुधबार साँझ ड्यालसमा पनि भएको यस्तै छलफलमा पनि डा. कोइरालाले यही कुरा दोहो¥याउनुभयो । ‘हामीलाई तपाईहरुले पैसा नदिनुस्, अब तपाईहरुले यहाँ आर्जन गर्नुभएको शीप, बुद्धि दिनुस्,’ कोइरालाले भन्नुभयो । 
 
हो, अमेरिका आएर आर्थिक प्रगति गरेका थुप्रै नेपालीहरु छन् । नेपालमा व्यबसायीक पृष्ठभूमि नभएकाहरुले पनि ‘अवसरको भूमि’ भनिने अमेरिकामा आएर ‘मिलियन डलर’ का धनी भएका छन् । ग्याँस स्टेशन, मोटल, स्टोर, रेष्टुरेन्ट आदीमा नेपालीहरुको करोडौं डलरको लगानी छ । यिनै नेपालीले नेपालको चुनावदेखि लिएर दलका महाधिवेशनसम्मका लागि खर्च धानिदिएका छन् । 
 
यहाँ कसैले २० डलर दियो भने नेपालमा त्यसको मूल्य एकसय गुणाले बढ्छ । अर्थात यहाँको २० डलर नेपालमा पुग्दा दुईहजार रुपैयाँभन्दा माथि हुन्छ । सहयोग गर्नेले सानै रकम दिएपनि नेपालमा ठूलै काम बन्छ । 
 
महामन्त्री कोइरालाले अत्यन्तै भावुक हुँदै ‘पैसा नदिनुस् बुद्धि दिनुस्’ भनेपनि यो टिप्पणीकारलाई लाग्यो–‘बुद्धि दिनसक्ने नेपाली कति छन् त यहाँ ?’ अनि झट्ट सम्झिए एक महिना अघिदेखिको जनसम्पर्क समितिको भाँडभैलो । कुनै लाभको पदको रुपमा नलिइने जनसम्पर्क समितिका लागि त मारामार गर्नेहरुले कस्तो बुद्धि देलान् मातृभूमिको सबैभन्दा पुरानो र ठूलो दलका लागि ? 
 
यहाँ पैसा दिनसक्ने हैसियतमा धेरै छन् । यहाँ रगत पसिना बगाएपनि नेपाली कांग्रेसका लागि भनेर ज्यान दिन तयार थुप्रै भेटिन्छन् । तर बुद्धि दिनसक्ने हैसियतमा ज्यादै कम छन् । बुद्धि दिनसक्ने जे जति छन् ती सबै पैसावालबाट थिचिएका छन्, कि नेताका नातावादबाट मिचिएका छन् । अनि बुद्धि दिनसक्नेहरु कांग्रेसको भाँडभैलोबाट टाढै बस्न रुचाउँछन् । 
 
अनि यहाँका नेपाली कांग्रेसका कार्यकर्ता भनेर जस्ले आफूलाई भन्छन् तिनले जस्तो हर्कत देखाइरहेका छन् त्यही बुद्धि नेपालमा गयो भने नेपाली कांग्रेसको भविष्य कहाँ पुग्ला ? जुन संस्थामा कार्यसमितिले सभापतिलाई बर्खास्त गरेको सूचना जारी गर्छ तिनीहरुले माउ पार्टीलाई कस्तो बुद्धि देलान् ? अनि आफ्नै संस्था आवद्ध र नेपालको पहिचान देखाउने कार्यक्रमका विषयमा एक आपसमा हिलो छ्यापाछ्याप गर्छन उनीहरुले कांग्रेसलाई दिने बुद्धि कस्तो होला ? 
 
बुधबार ड्यालसमा महामन्त्री कोइराला भन्दै हुनुहुन्थ्यो–‘पार्टीमा गुट उपगुट हुनुपर्छ, तर नीतिका निम्ति हुनुपर्छ, विचारका लागि हुनुपर्छ ।’ तर अमेरिकामा रहेका नेपाली कांग्रेसका कार्यकर्तामा गुट एउटै भएपनि विचारका लागि होइन पदका लागि खुट्टा तानातान छ । अझ भनौं गाईजात्रा छ । अनि यिनले दिएको बुद्धिले नेपाली कांग्रेस कसरी अघि बढ्ला ?
 
वरिष्ठ आँखा विशेषज्ञको जागिर छाडेर राजनीतिमा होमिएका डा. कोइरालासँग यतिखेर केही अपवादपूर्ण व्यक्ति (खुमबहादुर लगायत) हरुलाई छाड्ने हो भने नेपालमा निकै आशालाग्दो रुपमा हेरिएका युवापङक्ती, भिजन भएकाहरुको केन्द्रिय समिति छ । यता (अमेरिका)बाट बुद्धि उता (नेपाल) पु¥याइरहनै पर्दैन । किनकी माथिनै उल्लेख भइसक्यो यता बुद्धि दिनसक्ने ल्याकतका कोही देखिएका छैनन् । उल्टो झगडा गराउने, उक्साउने अनि पछार्ने, नेपाली समाजमा वेमेल पैदा गराउने, भाँडभैलो निम्त्याउने र किनारामा लुकेर बस्दै मनोरञ्जन लिनेहरुको वाहुल्यता छ । बरु डा. कोइरालाले भन्नुपथ्र्यो–‘यता कमाएको रकममध्य केही नेपालमा पनि लगानी गर्नुस् । ताकी नेपाल बनोस् । आर्थिक रुपमा अमेरिकाजस्तै सम्पन्न होस् । तपाईहरु उतै फर्कने वातावरण हामी बनाउँछौं ।’ 
 
कोइरालाले पार्टीलाई पैसा नदिनुस् भन्नुभएपनि अमेरिकामा रहेका जुनसुकै दलका भातृसंस्था दुहुनो गाई हुन् । नेता आउँदा घुमाउने, किनमेल गराइदिनेदेखि लिएर मोबाइलफोन किनिदिनेसम्मका काम यताका नेताहरुले गरिराख्या छन् । अनि नेपालमा हुने चुनावताका यता फलानो दाईलाई त जसरी पनि जिताउनुप¥यो नि भन्दै चन्दाको लागि लस्कर लागेको तथ्यलाई सबैले बिर्सिसके र ? 
 
महामन्त्री निर्वाचित भएपछि पहिलोपटक अमेरिकी भूमिमा टेक्नुभएका महामन्त्री कोइरालाले जति ठाउँमा बोल्नुभयो ती सबै प्रशंसनीयनै रहेको टिप्पणी भइरहेको छ । अन्तिममा, यो टिप्पणीकारको सुझाव डा. कोइरालालाई–‘डाक्टर सा’ब यताको बुद्धि उता लगेर पार्टी सुधार्ने, देश चलाउने सोच चाँही सिकागोको ओ–हरारे विमानस्थलबाटै मिल्काइदिनुहोला । किनकी तपाई जुन दिन जोन अफ केनेडी विमानस्थलमा उत्रँदानै देख्नुभयो होला, भोग्नुभएकै हुनुपर्छ स्वागतार्थ बसेकाहरु समेत दुईतिर मुख फर्काएका थिए । अब भन्नुस यहाँबाट कस्तो बुद्धि जाला नेपालमा ?’
 
यता बुद्धि हुँदै नभएका त होइनन् । तर ती सधैंभरि पिछड्याइएका छन् । तिनका विचारलाई न त यताकाले सुन्छन्, नत उताकाले । वाक्कदिक्क भएर त्यस्ता व्यक्तित्वहरु नेपाली राजनीतिबाट निकै पर बसेका भेटिन्छन् । 
 
त्यसो हुँदा उतै क्षमतावान धेरै छन् । तपाई जस्तो विरासत बोकेको व्यक्तित्वले युवापङ्क्तीलाई अघि सारेर बढ्नुस् । सरकार गिराउने, गठन गर्ने खेलमा भन्दा नेपाल बनाउनेतिर लाग्नुस् तपाईका निम्ति सबथोक त्यतै छ । यताबाट बुद्धि आयात गर्ने सोचाई चाँही नराख्नुहोस् । बरु बालुवा पेलेर तेल निस्केला, यताबाट बुद्धि निस्कनेवाला छैन ।