चितवन । चितवनको कविलासमा बिहेको भोज खाएर ३२ जना बिरामी भएका छन् । कविलास गाविस–९ कुशुमटारमा गएको सोमबार दिउँसो पुष्पा तामाङ र सुरज तामाङको विहेको भोज खाएपछि गाँउलेहरु बिरामी परेका थिए । उनीहरुमा झाडापखाला लाग्ने, ज्वरो आउने, बान्ता हुने भएको थियो । बिरामी गाँउलेहरुलाई मंगलबार साँझ ५ बजे भरतपुर अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
बिरामी भएकामध्ये २९ जना महिला र तीन पुरूष रहेका छन् । जसमा १२ जना बालबालिका रहेका छन् । ‘भोज खाएर गएदेखि नै बान्ता हुन र झाडापखला लाग्न सुरू भयो’, बिरामीमध्येकी एक शारदा तामाङले भनिन्,‘सुरूमा त अरु केही कारणले मलाई मात्रै भएको होला भनेको थिएँ पछि अरु गाउँलेहरुले समेत यस्तै समस्या भएको थाहा पाएपछि भोजकै कैफियत हो भन्ने लाग्यो ।
बिरामीलाई स्थानीय प्राथमिक विद्यालयका शिक्षकहरु दीपक सापकोटा, कविलास स्वास्थ्य चौकीका इन्चार्ज भविश्वर अधिकारी, कविलास गाविसका सचिव प्रद्युन्नकुमार खड्का, कार्यालय सहायक अजय पौडेलसहितको टोलीले एम्बुलेन्समा हालेर भरतपुर अस्पताल ल्याएका थिए ।
भरतपुर अस्पतालमा औषधि परीक्षणदेखि सबै उपचार निःशुल्क गरिएको अस्पतालको सामाजिक शाखा प्रमुख नारायण सापकोटाले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षका इन्र्चाज विष्णु सापकोटाले उनीहरुमा फुड पोइजन भएको प्रारम्भिक परीक्षणबाट देखिएको बताए ।
‘थप रिर्पोट आउन बाँकी छ, तर प्रारम्भिक परीक्षणमा फुड पोइजन देखिन्छ’ सापकोटाले भने, ‘अहिले बिरामीहरुमा बान्ता, झाडापखला र ज्वरो कम हुँदै गएको छ ।’
प्रतिक्रिया