मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सर अस्पतालमा कर्मचारीको मनोमानी

क्यान्सर अस्पतालमा कर्मचारीको मनोमानी


चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारीको लापरबाहीका कारण बिरामीले दुःख पाउने गरेका छन् । आकस्मिक सेवा लिन टाढादेखि आएका बिरामीलाई उपचार गर्ने ठीक समय नबताउने, काम गर्दै गरेको मेशिन बिग्रियो भनिदिने, आज सम्बन्धित प्राविधिक वा डाक्टर छैनन् भन्ने र विविध कारण देखाइ अर्कोपटक आउनूस्भन्ने जस्ता कर्मचारीका कुराले उपचारमा आएका बिरामी र आफन्त दिक्क बनेका छन् । 
 
‘मंगलबार उपचारका लागि आउनूहोस् भनी हामीलाई भनियो, मकवानपुरदेखि आएका शम्भु श्रेष्ठले भने, ‘भिडियो एक्सरेको टिकट बल्लतल्ल काटियो तर एक्सरे गर्ने बेलामा मेशिन बिग्रियो भनियो म भन्दापछि आउनेले एक्सरे गरेर गए । मेरो अझै पालो आएको छैन ।’ श्रेष्ठ ७२ वर्षकी आमाको उपचारका लागि यहाँ आएका रहेछन् । 
 
‘अन्य बिरामीको भटाभट एक्सरे भएको छ, तर आफ्नो आमाको लागि भने कर्मचारीले अनेक बहाना बनाएर आलटाल गरे अर्को दिन आउन भनेपछि उनी सरासर डेपुटी निर्देशक डा. देज गौतम भएको ठाउँमा पुगे । डाक्टरले काम हुन्छ जानूस् भने, तर फेरि पनि काम भएन’ श्रेष्ठले भने । 
 
श्रेष्ठजस्ता बुढी आमा लिएर यस अस्पतालमा उपचार गर्न आउने धेरै थिए । सबै सम्बन्धित फाँटका कर्मचारीसँग झगडा गरिरहेका देखिन्थ्यो । कर्मचारी पोशाक र परिचयपत्र बिना बसिरहेको भेटियो । बिरामी र आफन्तलाई गैरजिम्मेवार तरिकाले जवाफ फर्काइरहेका थिए । 
 
सरस्वती ढुङ्गाना झापा चन्द्रगढीदेखि भरतपुरसम्म स्तनको उपचार गराउन आएकी हुन् । उनको पनि गुनासो निकै पीडादायी छ । उनले जम्मा १६ वटा सेकाइ गर्नुपर्ने थियो । तर १५ दिनमा हुने काम ३ महिना बित्न लाग्दा पनि सकिएको छैन । सेकाइ गर्ने मेशिन बिग्रियो भन्दै गत बिहीबारदेखि कुनै पनि सेकाइको काम नभएको उनले बताइन् । 
 
‘हामीले घरैबाट ग्यास, भाँडाकुडा र अन्य सामान लिएर आएका छौं, आफ्नो बहिनीको साथमा आएकी ५० वर्षीया ढुङ्गानाले भनिन्, ‘कहिले सेकाइ गर्ने मेशिन बिग्रियो भन्छन्, कहिले आजलाई धेरै बिरामीको उपचार गर्न सकिँदैन भन्छन्, कहिले डाक्टर छैन भन्छन्, बिरामीको रोग निको होलाभन्दा झन् शिथिल भएको छ ।’ 
 
पछिल्लो समय अस्पतालमा बेथिति बढेको छ । तर, प्रशासकहरु यो कुरा मान्न तयार छैनन् । क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. प्रकाश न्यौपानेले भने, ‘हामी अस्पतालको बिग्रदो स्थितिप्रति चिन्तत छौं ।’ 
 
उनले यसो भनिरहँदा उनको अनुहारमा चिन्ताको भाव भने कत्ति पनि देखिएन । उनले अस्पताल सुधार्ने अधिकारी आफूमा केही भएको तर अधिक कार्यकारीमा रहेको भन्दै आफ्नो लाचारीपन देखाए । 
 
क्यान्सर अस्पताल बचाउ संघर्ष समितिसँगको अन्तत्र्रिmयामा अध्यक्ष डा. न्यौपानेले बिग्रिएको मेशिनबारे आफू जानकार भएको बताए । तर केही गर्न नसक्ने स्थितिमा रहेको स्वीकार गरे । 
 
समितिका संयोजक बाबुराम अधिकारीले क्यान्सर अस्पतालको चिन्ताजनक अवस्था सुधार गर्नका लागि स्थानीयले ७ दिनको समय दिएको बताए । ‘पुराना मेशिन बिग्रन थाले, नयाँ जडान हुन सकेको छैन, यसमा अस्पताल प्रशासनको लापरबाही छ’ संयोजक अधिकारीले भने । 
 
कामचोर कर्मचारीलाई तत्काल कारबाहीको मागसमेत स्थानीयले गरेका छन् । पुराना उपकरण मर्मत र नयाँ उपकरण जडान गर्नुपर्ने माग आफूहरुको रहेको संयोजक अधिकारीले बताए । 
 
नागरिक वडापत्र र सूचना पार्टीको समेत स्थानीयले माग गरेका छन् । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. सीवी पुनले भने, ‘धेरै गुनासाहरु छन्, तर हामीले विभिन्न कारणले सुधार गर्न सकिरहेका छैनौं ।’ अस्पतालका डाक्टरहरु निजी अस्पतालमा धाउने काम उस्तै रहेको भन्दै पुनले यस विषयमा गम्भीर भए पनि केही गर्न नसकिएको बताए ।
 
 
 

शेयर गर्नुहोस:

0
Shares