मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ स्थानमा

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ स्थानमा


काठमाडौँ । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा पाचौँ स्थानमा उक्लिएको छ । प्रतियोगिताको तेस्रो चरणमा नामिबियालाई दुबै खेलमा हराएपछि अंकतालिकाको अन्तिममा रहेको नेपाल चार अंकसहित पाँचौ स्थानमा उक्लिएको हो । नेपालले यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्याण्ड र पपुवान्यूगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।
 
घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई शनिबार ५ विकेट र सोमबार ३ विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ भित्र रहने सम्भावना जीवितै राखेको छ । नेपालले चौथो चरणअन्तर्गत आगामी अगष्टमा नेदरल्याण्ड्स भ्रमण गर्नेछ ।
 
सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एण्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकपको छनौट चरणमा स्थान बनाउनेछन् ।
 
प्रतियोगितामा ६ खेलबाट १० अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ । त्यस्तै, समान खेलबाट दोस्रो स्थानमा रहेको हङकङको ९, तेस्रो स्थानमा रहेको स्कटल्याण्डको ७ र चौथो स्थानमा रहेको केन्याको ६ अंक छ ।
 
नेपालसँगै ४ अंक जोडेको पपुवान्युगिनी नेट रनरेटको आधारमा पछि पर्दै छैटौं स्थानमा छ । यद्यपि पपुवान्यूगिनीले दुई खेल कम खेलेको छ । नामिबिया सातौं र युएई प्रतियोगिताको आठौं स्थानमा छन् ।
 
जीवनकै सबैभन्दा उत्कृष्ट इनिङ
‘मलाई त अहिले पो नर्भस फिल भो’ नामिबियाविरुद्धको म्याचमा नेपाललाई जीतसम्म पु¥याएका शरद भेषावाकर पत्रकारबाट घेरिएपछि  भन्दै थिए । उनले आज आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट इनिङ खेलेको प्रतिक्रिया दिए ।
 
‘यस्तो सिचुयसनमा पहिले पनि खेलेको हो, तर होम ग्राउण्डमा घरेलु दर्शकको बीचमा बेग्लै खालको दबाब हुन्छ र जीतको बेग्लै मज्जा हुन्छ,’ शरदले भने । 
 
अन्तिम ओभर सुरु हुँदा तपाईंको मनमा के चलिरहेको थियो ? पत्रकारको प्रश्नमा उनले भने, ‘मैले विश्वकप सम्झिरहेको थिएँ । टी–२० विश्वकपमा हङकङविरुद्धको खेलमा अन्तिम ओभरमा यस्तै सिचुयसन थियो ।’ 
 
अन्तिम दुई बलमा १ रन चाहिएका बेला शरदले मिडविकेटतर्फ चौका हान्दै नेपाललाई जिताएका थिए । उनले यो सट हान्ने आफूले पहिले नै सोचेको बताए  ।
 
‘मैले त्यो बल खेल्नुअघि भगवानको प्रार्थना गरेँ । त्यही सट हान्छु भन्ने पनि पहिल्यै निर्णय गरेँ । भाग्यवस मैले सट खेल्ने ठाउँमा नै बल आयो,’ शरदले भने ।
 
शरदले आफ्ना कप्तान पारसको खुलेर तारिफ गरे । ‘पारसले आज वास्तवमै एक्सेप्सनल इनिङ खेल्यो, ऊ क्रिजमा हुँदासम्म मलाई कुनै दबाब थिएन’ शरदले भने, ‘मैले सोचिरहेको थिएँ, पारस र मैले नै खेल सिध्याउनेछौं । पारस आउट हुँदा हामी राम्रो स्थितिमा पुगिसकेका थियौं । रनरेट नियन्त्रणमा थियो र विकेट पनि प्रशस्त बाँकी थियो । त्यसैले म धेरै नर्भस भइनँ ।’ नेपालले सहजरुपमा जित्न लागेको म्याच अन्तिम ओभरको पाचौं बलसम्म पुग्यो । शरदले भने, ‘क्रिकेटमा यस्तो हुन्छ, म हरेक ओभरमा रन क्याल्कुलेट गर्दै खेलिरहेको थिएँ । हार्छु भन्ने लागेको थिएन ।’