मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

घागी भित्र के छ ?

घागी भित्र के छ ?


शिव प्रकाशजीका आलेखहरु चोटिला अनि स्वादिला हुन्छन् । निर्धक्क कलम चलाउन सक्नु उहाँको अर्को विशेषता हो । स्पष्ट लेखाइकालागि शिव प्रकाशजीको प्रसंसा नगरिरहन सकिन्न । 
 
नेपाल अमेरिका पत्रकार संघको अधिवेशनमा  २००७  तिर हो सायद उहाँलाई भर्जिनियामा भेटेको  । त्यसपछि ऑनलाइन मिडिया र फेसबुकबाट उहाँका रचनाहरु समय समयमा पढ्ने मौका मिल्थ्यो ।
घागी विमोचन भएको उहाँकै फेसबुकबाट थाहा भयो । 
 
एउटा राम्रो लेखकको कृति पढ्ने मन सबैलाई हुन्छ , म अछुतो रहन कहाँ सक्थे र ! घागी मगाई हांले र हात पर्ने बित्तिक्कै पढ्न थाले ।  पढिसकेपछि  घागीबारे दुई चार शब्द नखर्ची बस्न मेरो मनले मानेन ।
अरुलाई जस्तै घागी शब्द नौलो थियो मेरोलागि पनि । घागी शिर्षकको कथा पढे पछि थाहा भयो , यसको शाब्दिक अर्थ ।  
 
माया , प्रेम , दया , करुणा , हाँसो , खुशी , रोदन सबै छ घागीमा । लेखक शिव प्रकाशजीका सबै संवेदनाहरु कथा भित्र बगेको छ । सबै रसहरुलाई कथाको माध्यमद्बारा तरलीकृत गरेर आफ्नो लेखन शिल्पलाई खोलाको कंचन पानी जसरी बगाउन सफल छन् लेखक । 
 
पाताल बसाइको अनुभवलाई यति रोमांचक र चाखलाग्दो तवरले कथामा ढाल्नु सहज काम कहाँ हो र !  पढिरहदा प्रत्येक कथाहरुले कुनै न कुनै तवरमा अमेरिकी जीवन भोगाइको मार्मिक अनुभवहरुको प्रतिनिधित्व गरेको छ । पेद्रो लुजा , शोक धुन,  बेबीसिटर , घागी , आल्मा र अन्य कथाहरु पढिरहदा लेखकको लेखनिको प्रसंसा स्वत स्फूर्त मनमा तरंगित हुन्छ ।
 
घागी कथा संग्रह मध्ये  " पेद्रो लुजा " शिर्षकको कथाले मन र मस्तिष्कलाईनै हल्लाइदियो। मेरो मानसपटलमा कथाको पात्र  पेद्रो लुजा घरि घरि आइरहन्छ ।  हिउँ परेको एक बिहान  , मैलो लुगा लगाएको अनि ङीच्च , ङीच्च हासिरहने त्यो झुस्स दारी पलाएको , लुरे पेद्रो लुजा मेरो संस्मरणमा जीवन्त भएको छ । 
 
कथाहरु मध्ये " कल्की " कथाकि पात्र सान्ड्रिया ऊर्फ शारदादेवीले त्यत्रो केटाहरुको झुण्डमा म पात्र लेखकलाई नै किन मन पराएर गफ हाँक्न आइछ भन्ने प्रश्न म जस्ता पाठकहरुलाई  उठेको हुन सक्छ । कथाले  यसको जवाफ दिन सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने लागिरह्यो  ।  
 
" जीवनपट " कथा पढ्दै गर्दा लेखकसँगै देशको  माया उर्लिएर आउँछ पाठक भित्र पनि ।
समग्रमा सबै कथाहरु बेजोड़ शिल्प शैलीले माझिएका , घत लाग्दा छन् । किताब हातमा परेपछि छोड्न मन नै नलाग्नु घागीको सफल पाटो हो  । अझ यो पुस्तकबाट उठेको रोयल्टी बापतको रकमलाई दोब्बर पारी भूकम्प पीडित बालबालिकाहरुको हितकोलागि खर्च गरिने कुराले लेखकप्रति झन सम्मान बढेर आऊँछ । आफ्ना कृति मार्फत अझै पाठकहरुवीच सधै प्रिय बनिरहुन् शुभकामना ।