मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

पद्मोदय भलिबलको उपाधि भारतको बीएमडब्लुलाई

पद्मोदय भलिबलको उपाधि भारतको बीएमडब्लुलाई


चितवन । पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब (एनपीसी) लाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । 
 
उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ पाएको छ । 
 
बेस्ट अफ फाइभका आधारमा खेलाइएको फाइनल खेलमा बीएमडब्लुले पहिलो, तेस्रो र चौथो सेटमा जित हात पा¥यो । प्रतिस्पर्धात्मक पहिलो सेटमा बीएमडब्लुले २५–२२ को जित निकाल्यो । तर, दोस्रो सेटमा एनपीसीले २५–१७ को सहज जित निकाल्यो । हजारौं नेपाली दर्शकको साथ पाएपनि आपसी तालमेल मिलाउन नसक्दा एनपीसीले त्यसपछिका दुवै सेट गुमायो । बीएमडब्लुले तेस्रो र चौथो सेट २५–१६ र २५–२१ ले जित्यो ।  
 
यसअघि बुधबारै सम्पन्न अर्को खेलमा बंगलादेशको वाटर डेभलेपमेन्ट बोर्ड (डब्लुडीबी) लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान प्राप्त गरेको छ ।
 
लगातार दुई सेट जितेको एपीएफले तेस्रो सेट गुमाए पनि चौथो सेटमा पुनः उत्कृष्ट पुनःआगमन गर्दै जित हात पारेको हो । एपीएफले २५–११, २५–१६, १८–२५ र २५–१९ को सेटमा जित हात पारेको हो ।
 
गतवर्षको विजेता एपीएफ सेमीफाइनलमा मंगलबार अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । तेस्रो स्थानसँगै एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पाएको आयोजक पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । 
 
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बीएमडब्लु भारतका स्पीकर शुभम उत्कृष्ट खेलाडी बने । उनले २५ हजार पुरस्कार पाए । त्यस्तै एपीएफका पुष्पजङ्ग मल्लले उत्कृष्ट लिब्रो घोषित हुँदै ५ हजार पुरस्कार पाए । त्यस्तै उत्कृष्ट ब्लकर नेपाल पुलिस क्लबका सञ्जय अर्याल र उत्कृष्ट लिफ्टर नेपाल पुलिसकै इम राना र उत्कृष्ट सर्भर बीएमडब्लुका सन्नीले पनि जनही ५ हजार पुरस्कार पाए । 
 
महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलमा कूल ६ टिम सहभागी थिए । त्यसमध्ये भुटानको साम्ची स्पोर्टस् क्लब र नेपाल आर्मी क्लब समूह चरणबाटै बाहिरिएका थिए ।  । 
 
प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका छन् ।