मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समयानुकूल विधान संशोधन गर्न जिल्ला सभापतिहरूको माग

समयानुकूल विधान संशोधन गर्न जिल्ला सभापतिहरूको माग


काठमाडौंँ, २२ फागुन । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले १३ औँ महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र पार्टीको विधान संशोधन गर्न माग गरेका छन् ।
 
महाधिवेशन बन्दसत्रको दोस्रो दिन आज छलफलमा सहभागी जिल्ला सभापतिले पार्टीको सुदृढीकरण र नयाँ संविधानअनुसार विधान संशोधनको माग गरेका हुन् । 
 
तेह्रथुम काँग्रेस सभापति गोविन्द ढुङ्गानाले केन्द्रले आफू अनुकूल नभइ सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र विधान संशोधन गर्न माग गर्नुभयो ।
सुनसरी काँग्रेस सभापति राजिव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको गुनासो गर्दै सङ्घीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपुर्ण नीति किन भनी नेतृत्वसँग प्रश्न गर्नुभयो ।
 
धादिङ काँग्रेस सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।
 
सबैभन्दा कान्छा सभापतिका रूपमा रहेका चितवन काँग्रेस सभापति जितनारायण श्रेष्ठले १२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनेपनि त्यसको भोलिपल्टदेखि नै  ६०÷४० को भागबण्डा सुरु भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताउनुभयो ।
 
कास्की काँग्रेस सभापति कृष्ण केसीले पार्टीको नीति तथा कार्यक्रममा माओवादीको शसस्त्र द्वन्द्वमा मारिएका तथा पीडित काँगे्रस नेता कार्यकर्तालाई उचित सम्बोधन गर्नुपर्ने धारणा राख्नु भयो । तनहुँ काँग्रेस सभापति वैकुण्ठ न्यौपानेले पार्टीको सुदृढीकरणका लागि विधान संशोधन आवश्यक गरेको उल्लेख गर्दै उच्च शिक्षासम्बन्धी पार्टीको स्पष्ट नीति आउनुपर्ने विचार व्यक्त गर्नु भयो ।
स्याङ्जा सभापति कमल पङ्गेनीले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न जल, जङ्गल, जमिन र जवानी (युवा) को उचित परिचालनमा पार्टीले आवश्यक पहल गर्नुुपर्ने बताउनुभयो ।
गुल्मी सभापति भुवन श्रेष्ठ र मोरङ सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता वितरणमा केन्द्रको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग गर्नुभयो । 
 
बन्दसत्रमा आज भाग लिएका जिल्ला सभापतिहरूले मञ्चमा न्यून सङ्ख्यामा केन्द्रीय पदाधिकारी तथा सदस्य उपस्थिति रहेकोमा आक्रोश पोख्नुभएको थियो । आज बन्दसत्रको पहिलोसत्र सम्पन्न भएको छ भने महाधिवशेनका सहभागीले खाना खाएपछि दोस्रो सत्र सुरु हुने र शुक्रबार पेस भएका तीनवटै प्रतिवेदन पारित हुने बताइएको छ । 
 
भोलि फागुन २३ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने तालिका छ । रासस