मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शून्य सिकार अवधिमा कालगतिबाट १६ गैँडा मरे

शून्य सिकार अवधिमा कालगतिबाट १६ गैँडा मरे


चितवन, ९ फागुन । दुर्लभ एकसिङ्गे गैँडाको चोरी सिकारी पूर्णरूपमा नियन्त्रण भए पनि विभिन्न कारणबाट गैँडा मर्ने क्रम भने रोकिएको छैन । प्राकृतिक कारणलाई संरक्षणका दृष्टिले नराम्रो नमानिए पनि यसरी धेरै गैँडा मर्दा सङ्ख्या वृद्धिमा भने चुनौती देखिएको छ । 
 
विसं २०७१ मा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणबाट १० वटा गैँडा मरेका छन् । जब कि ०७२ वैशाख २० गतेपछि हालसम्म चोरी सिकारीबाट भने गैँडा मारिएका छैनन् । यसै अवधिमा यस वर्ष छवटा सहित १६ वटा गैँडा विभिन्न कारणबाट मरेका छन् । जसलाई प्राकृतिक कारण भनिन्छ । 
 
निकुञ्जको तथ्याङ्कअनुसार गत वर्षको वैशाखमा दुई, भदौमा दुई, असोजमा एक, मङ्सिरमा दुई, पुसमा दुई र फागुनमा एकवटा गैँडा मरेका छन् । विसं ०७२ लागेपछि वैशाखमा एक, भदौमा एक, असोजमा एक, कात्तिकमा एक, पुसमा एक र माघमा एकवटा गैँडा मरेका छन् । 
 
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार ती गैँडा, बाघ तथा गोहीको आक्रमणबाट, एकापसमा जुधेर, खोलाले बगाएर, करेन्ट लागेर, घोलमा डुबेर र कालगतिले मरेका हुन् । 
 
यसरी मरेका गैँडा डेढ वर्षदेखि ३५ वर्षसम्म उमेरका रहेको उहाँले बताउनुभयो । गैँडाको आयु ५० वर्षको हाराहारी हुने गर्दछ । गैँडा चोरी सिकारीले मारिँदा र रोग लाग्दा यसको नियन्त्रणका लागि विशेष चनाखो हुने गरिएको भए पनि प्राकृतिक कारणबाट मर्दा भने नियन्त्रणका लागि कम चासो देखाइँदै आएको छ । निकुञ्जभित्र रहेका जनावरले एकले अर्काेलाई आक्रमण गर्नु, मांसहारीले अर्काे जनावर खानुजस्ता कार्य जैविक हिसाबले उपयुक्त नै मानिँदै आएको छ । 
 
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार, ६०५ वटा गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ६४५ रहेको छ । सशस्त्र द्वन्द्वताका गैँडाको चोरी सिकारी अत्यधिक बढेपछि यो सङ्ख्या निकै घटेको थियो । पछिल्लो समय शून्य सिकार हुन सफल भएसँगै गैँडाको सङ्ख्यामा अरू वृद्धि भएको अनुमान गरिएको छ । रासस